
शनिवार , भाद्र १५, २०८१
बुटवल, १५ भदौ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखहरुसँग शनिबार छलफल गरेका छन् । छलफलमा प्राप्त प्रतिक्रियाहरुपछि बोल्दै अर्थमन्त्री पौडेलले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे ।
अस्पतालमा निर्माणाधिन अत्याधुनिक १२ तलेभवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै उनले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत गरे । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभइ दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको व्यवस्थापन पनि महत्वपूर्ण रहेको उल्लेख गरे । बुटवललाई आर्थिक राजधानी बनाउने विषयसँग अस्पताल जोडिएको बताउँदै उनले सोही अनुसार सबैजना एक भएर लाग्नुपर्नेमा जोड दिए ।
छलफलमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालमा गुनासोरहित सेवा जनताको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरे । शल्यक्रिया सेवा तथा अन्य सेवाका लागि महिनौं कुर्नुुपर्ने विषयमा बजारमा आएका टिप्पणीहरुबारे उल्लेख गर्दै उनले सुधारका लागि प्रदेश सकारले आवश्यक सहयोग गर्न तयार रहेको र अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न निर्देशन दिए ।
कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधिन भवनमा अस्पताल परिवारलाई अपनत्व दिलाउन नसकेको गुनासो गरे । आयोजना जसले सञ्चालन गरेको भए पनि जनताले त्यसमा हुने कमजोरी तथा ढिलासुस्तीका विषयमा सबैभन्दा पहिलो विकास समिति, अस्पताल प्रशानलाई नै प्रश्न उठाउने गरेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गरे । त्यसै गरी अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचनाबारे बोल्दै अध्यक्ष श्रेष्ठले सीमित जनशक्ति र सीमित श्रोतसाधनले ठूलो जनसंख्यालाई सेवा प्रदान गर्नुपरेको गुनासो गरे । अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्दा महिनौसम्म लाइन लाग्नुपर्ने स्थितिको सिर्जना भएको उनले उल्लेख गरे । उक्त समस्यालाई समाधान गर्नका लागि प्रदेश सरकारले प्रयाप्त लगानी र जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनले माग गरे ।
त्यसै गरी अस्पतालमा नेतृत्वका विषयमा हुने राजनीतिक द्वन्दको वेफाइदा सेवाग्राहीले भोग्नुपरेको भन्दै यसको दीर्घकालीन समाधानको माग गरे । विभिन्न कानूनी उल्झनले अस्पताल विकास समिति तथा अस्पताल प्रशासनले आफ्नो क्षमताअनुसारको काम गर्न नपाइरहेको समयमा सरकारले राजनीतिक तवरबाट समाधान खोज्न आग्रह गरे । विकास समिति र अस्पताल प्रशासनलाई सेवा सुधारका लागि पूर्ण अधिकारमा रहेर काम गर्ने अवसर सरकारले सिर्जना गर्नुपर्ने उनको जोड थियो ।
अस्पतालमा हाल उपलब्ध जनशक्ति, उपकरण तथा दैनिक आउने सेवा ग्राहीको चापबारे जानकारी गराउँदै विभागीय प्रमुखहरुको तर्फबाट डा. वर्षा थापाले प्रस्तुती दिएकी थिइन् । हाल उपलब्ध जनशक्तिले थेग्न सक्ने भन्दा पनि ३ गुणा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनुपरेको भन्दै उनले जनताबाट आउने गुनासो र सुधार गर्नुपर्ने भन्दै सरकारका प्रतिनिधिहरुले दिने दबाब आफूले झेल्नु परेको गुनासो गरिन् । सीमित स्रोतसाधन र जनशक्तिबाट पनि सकेसम्म कम भन्दा कम गुनासो आउने गरी आफूहरुले काम गरिरहेको बताउँदे डा. थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गरिन् ।
अन्तरक्रियामा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरी, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालसहित विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो ।
अस्पतालका मेसु ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढिएको जानकारी दिए । त्यसै गरी अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थपको योजना समेत रहेको उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij