
शनिवार , भाद्र १५, २०८१
भैरहवा, १५ भदौ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग चल्ने दावी गरेका छन् । उनले विमानस्थल सञ्चालनका लागि सरकारबाट हुने सबै काम हुने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र सिद्धार्थ होटल संघ, नेपालको आयोजनामा शुक्रबार रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘विमानस्थल कसरी बन्यो, कसरी चल्छ, चलाउन सरकारले के गर्नुपर्छ, हामीले के गर्नुपर्छ भन्ने विषयमा बुझ्न जरुरी छ । जस लिने होडमा नलागौं ।’
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेपर्ने बताए । ४० अर्ब सरकारले यत्तिकै लगानी गर्छ भन्दै उनले प्रश्न गरे । ‘पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि पर्यटनमन्त्रीले पहलकदमी लिनुभएको छ । चल्छ कि चल्दैन भनेर दुविधा नराख्नुस् । एअरपोर्ट चलाउन सरकारले गर्नुपर्ने सबै कुरा गर्छ । विमानस्थल प्रभावकारी ढंगले सञ्चालन गर्नेतर्फ सरकारको ध्यान गएको छ । सरकारले एअरलाइन्स कम्पनीलाई विभिन्न सहुलियत दिने निर्णय गरेको छ । व्यवसायीले पाहुनालाई राम्रोसँग स्वागत गर्नुपर्छ, उनले भने ।’
नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले कांग्रेस–एमाले समीकरण २०८४ सम्म जाने दावी गरे । उनले रुपन्देहीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘गुनासोले कही पुगिदैन । हामीले पौरखमा विश्वास गर्नुपर्छ ।’
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान, गुल्जार र गतिशील बनाउन सरकारले जोखिम उठाउने बताए । उनले सरकारले व्यक्त गरेको अठोटमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘हामी नागरिक र देशको दुःखलाई सुखमा बदल्ने बाटो खोज्छौं । यो सरकार जोखिम लिनकै लागि निर्माण भएको हो । कांग्रेस–एमाले मुख्य प्रतिष्पर्धी दल हुन् । यो समीकरणले नीतिगत, राजनीतिक स्थिरता दिन चाहन्छ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले पर्यटक नबसे लुम्बिनीको विकास हुन नसक्ने बताए । उनले लुम्बिनीको विकास भनेकै देशको विकास भएको दावी गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेले सबै मिलेर विमानस्थल चलाउनुपर्ने बताए । उनले पर्यटन प्रवद्र्धन एउटा निकायको मात्र जिम्मेवारी नरहेको बताए । उनले भने, ‘लुम्बिनीमा बुद्ध जन्मनु हाम्रा लागि गौरवको विषय हो । लुम्बिनीको ब्राण्डिङ गर्नुपर्छ ।’
मन्त्रालयकी सह–सचिव इन्दु घिमिरेले विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर सरकारले ठूलो कदम चालेको बताइन् । उनले भनिन्, ‘सरकारको कदम प्रयाप्त छैन । निजी क्षेत्रबाट साथ र सहयोग रहनुपर्छ । ’
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएसम्म व्यवसायीलाई बैंकको किस्ता, ब्याज तिर्न समस्या रहेको बताए । उनले विमानस्थल सञ्चालनमा आए असंख्य पर्यटक आउने दावी गरे । उनले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाकालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर आवाज उठाउने पहिलो संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ भएको दावी गरे । उनले विमानस्थल उद्घाटन भए पनि हालसम्म एउटा पनि नियमित उडान हुन नसकेको बताए ।
उनले भने, ‘यसतर्फ राज्यको ध्यान जानुपर्छ । मुलुकको भविष्य पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको छ । विमानस्थल बनाउन सरकारको ५० अर्ब बढी र निजी क्षेत्रको ८० अर्ब लगानी भएको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij