२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढ्यो : मुख्यमन्त्री आचार्य

सोमवार , भाद्र १७, २०८१

बर्दिया, १७ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तिको दायित्व बढेर गएको बताएका छन् । नेकपा (एमाले) बर्दिया जिल्ला कमिटीले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने, जनप्रतिनिधि र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य, समन्वय हुन जरुरी रहेको धारणा राखे । ‘जनतासँग संवाद गरेर सरकारको नीतिहरू र योजनाबारे जानकारी दिने काम पार्टीपंक्तिको हुन जान्छ’एमाले केन्द्रिय सदस्य समेत रहेका आचार्यले भने,‘जनताका समस्याहरू बुझ्न र समाधान गर्ने प्रयासमा सरकारलाई सहयोग समेत गर्नुपर्छ ।’

मुख्यमन्त्री आचार्यले सरकारले गरेका राम्रा अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न निर्देशन दिए । साथै उनले सरकारले बनाएका नीति र योजना सुधारका लागि समेत सुझाव दिन समेत आह्वान गरे । सरकारले निर्माण गरेका नवितम विचार र सोंचलाई नागरिक तहमा पुर्याउन, सरकारी सेवामा नागरिकहरुको पहुँच बढाउन पार्टीपंक्तिबाट समेत भूमिका खेल्न आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहीताका साथै नागरिकको विश्वास जित्ने गरी काम थालेको स्पष्ट पारे । पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिताको दायराभित्र राख्ने, पाँच लाखभन्दा माथिका योजनालाई प्रतिष्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने विषय सुशासनसँग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्ने गरी प्रदेश सरकारले काम अघि बढाएको उनले बताए । 

प्रदेश सरकार गठन भएको छोटो अवधनीमा नै उपलब्धीहरु देखिएको तर, यसको प्रचारप्रसार हुन नसक्दा नागरिकहरुमा निराशा बढेको जस्तो देखिएको उनले टिप्पणी गरे ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा बहुआयामिक गरीबीको दर ३० प्रतिशत रहेकोमा हाल १८ प्रतिशतमा झरेको, बेरोजगारीको दर ११ प्रतिशतबाट घटेर ८ प्रतिशत पुगेको, ५ वर्षमुनीको बाल मृत्युदर प्रतिहजार ४५ रहेकोमा हाल ३३ र नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकोमा हाल २१ मा सीमित भएको उनले जानकारी दिए ।

त्यस्तै माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ७५ प्रतिशतबाट बढेर ८४ प्रतिशत र खुद भर्नादर ४० प्रतिशतबाट ५७ प्रतिशतमा वृद्धि भएको, प्रदेश ऐन बमोजिम लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भई सञ्चालन भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

बाह्रै महिना सिंचित हुने भूमि २४ प्रतिशतबाट ३५ प्रतिशत पुगेको, लुम्बिनी प्रदेश माछामासु र दुध उत्पादनमा आत्मनिर्भर भई अन्य प्रदेशमा समेत आपूर्ति भइरहेको, कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४ प्रतिशत पुगेको समेत उनले जानकारी दिए । २०७५ सालमा सडकको लम्बाई ११ हजार २३३ किलोमिटर रहेकोमा हाल १५ हजार ७६ पुगेको, ३० मिनेटको दुरीमा पक्की सडकमा पहुँच भएको जनसंख्या ५० प्रतिशतबाट ६५ प्रतिशत पुगेको, १०९ मध्ये १०८ पालिकामा बाह्रै महिना पहुँचयोग्य सडक निर्माण भएको उनले जानकारी दिए ।

उनले विद्युतमा पहुँच पुगेको जनसंख्या ८१ प्रतिशतबाट ९८ प्रतिशत पुगेको, इन्टरनेटमा पहुँच भएको घरपरिवार ४९ प्रतिशतबाट ७६ प्रतिशत पुगे समेत प्रशिक्षणको क्रममा जानकारी दिए । योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार हुँदै बताउँदै उनले महिला सहभागीता र सशक्तिकरण, सामाजिक समावेशीकरण, मानव संसाधन विकास लगायतका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको उल्लेख गरे ।