
मंगलवार , भाद्र १८, २०८१
भैरहवा, १८ भदौ । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलालाई बिदाई गरिएको छ । सरुवा भएर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय जान लागेका निरौलालाई यहाँका संघ–संस्थाहरुले सोमबार बिदाई तथा फेरी भैटौला कार्यक्रम गरेका हुन् ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही), सिद्धार्थ सञ्जाल, रुपन्देही र मदिरा व्यवसायी संघ भैरहवाले उनलाई बिदाई गरेका हुन् ।
सो अवसरमा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले आन्तरिक राजस्व कार्यालय भैरहवासँगको सहकार्यमा कर सम्बन्धि तालिम तथा कार्यक्रम गरिएको बताए ।
सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले आन्तरिक राजस्व कार्यालय भैरहवासँग समन्वय र सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिएको र सो कार्यमा सहयोग गर्ने प्रमुख कर अधिकृत शान्तिराम निरौलालाई धन्यवाद दिए ।
सञ्जालका महासचिव मधु प्रसाद पन्थीले शान्तिराम नाम जस्तै प्रमुख कर अधिकृत शान्त र सरल स्वभावको भएको बताए । उनले भने, ‘यहाँको नाम जस्तै काम छ । हामीले नजानेका कुरा सिकाउनुभयो । राम्रो सल्लाह–सुझाव दिनुभयो । सोधेका कुरा राम्रोसँग जानकारी गराउनुभयो । कार्यालयको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नुभयो ।’
मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले जहाँ गए पनि रुपन्देही र यहाँका व्यवसायीलाई नबिर्सन आग्रह गरे ।
प्रमुख कर अधिकृत निरौलाले भने, ‘दुई वर्ष भैरहवामा रहँदा यहाँहरुबाट प्राप्त साथ, सहयोग, सल्लाह, सुझाव र समर्थनका लागि आभार व्यक्त गर्दछु । जहाँ रहे पनि आगामी दिनमा पनि समन्वय र भेटघाट हुने नै छ । ’ उनले राज्यले दिएको जिम्मेवारी पूरा गर्दै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij