
बिहिवार , भाद्र २०, २०८१
अर्घाखाँची, २० भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरुसँग बुधबार गाउँकार्यपालिकाको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सही र गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन् ।
प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै योजना प्रतिष्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने परिपत्र गरेको जानकारी दिदै योजना कार्यान्वयनको प्रक्रिया तत्काल थाल्न आग्रह गरे । ‘योजना माग हुने । बजेट पर्ने तर, कार्यान्वयन राम्रो नहुने समस्या छ । गुणस्तरीय कामका लागि नागरिक तहबाट पनि अनुगमन हुनुपर्छ । उनले भने,‘योजना कार्यान्वयनमा कुनै सम्झौता नगर्नुहोस् । काम राम्रो गरेपछी त्यसले जनतालाई सकारात्मक लाभ पनि दिन्छ ।’
योजना कार्यान्वयनमा हुने भ्रष्टाचार र बदमासी रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने नीति अवलम्बन गरिएको समेत मुख्यमन्त्री आचार्यले स्पष्ट पारे ।
स्थानीय तहमा प्रदेश सरकारले पठाउने योजनाको गुणस्तरीय कार्यान्वयन हुन नसकेका गुनासाहरु सुनिने गरेका छन् । योजना कार्यान्वयनमा कुनै गुनासा आउन नदिनेगरी काम गर्न उनले आग्रह गरे ।
समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्न सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा मानवीय विकासलाई प्राथमिकता राखेर काम अघि बढाएको उनले बताए ।
प्रदेश सभाबाट पास हुने चरणमा स्थानीय सेवा ऐन विधेयक रहेको भन्दै यो विधेयकले कर्मचारी तहमा काम गर्न उत्साह थप्ने विश्वास व्यक्त गरे ।
शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले नगरपालिकासँग जोडिएका मुख्य सडकहरुलाई कालोपत्रे गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने, नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनमा कानूनी जटिलता रहेको भन्दै प्रदेश तहबाट सुल्झाउन आग्रह गरे ।
उपप्रमुख गीता राना भाटले स्थानीय तहले अघि बढाएका प्राथमिकताका योजनाहरुमा प्रदेश सरकारले साथ दिनुपर्ने बताइन् । शिक्षा, स्वास्थ्य तथा भौतिक सुधारका लागी पालिकाको बजेटले मात्रै नपुग्ने भन्दै प्रदेश सरकारको साथ चाहिने उनले उल्लेख गरिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij