
शुक्रवार , भाद्र २१, २०८१
लायन्स दाजुभाइ दिदीबहिनीहरु नमस्कार
धेरै तीजका कार्यक्रम गर्नुभयो । गराउनु पनि भयो । लायन्सले आयोजना गरेका विभिन्न दर खाने कार्यक्रममा सहभागी हुँदाहुँदै माइती घरमा दर खाने दिनको प्रचलन सामान्य लाग्न थालेको एकजना चेलीले सुनाइन् । उनले भनिन्, ‘क्लबका दाजुभाइहरु दिदीबहिनीहरुले दिनदिनै खुलाएको दरले त माइतको दर पनि भुल्न लागियो ।'
यो सुन्दै गर्दा यो पंक्तिकारले गत हप्ता रुपन्देहीको भैरहवामा एक लायन्स क्लबले दर खाने कार्यक्रम राखेको थियो, त्यसको सम्झना आयो । त्यसबारे चर्चा गर्न सान्दर्भिक लाग्यो । दर खान गएकी एक चेलीले भनेको सुनेपछि त त्यो कार्यक्रमको खबर लायन्सलाई पुग्न नै पर्छ भनेर यो चिट्ठी लेखेको छु । यस्तो कार्यक्रम अरुले पनि अवश्य गर्नुभएको छ । पंक्तिकारले भने यो सान्दर्भिक मानेको मात्र हुन सक्छ ।
लायन्स मित्रहरु, लायन्सका सदस्यहरु समाजका आकर्षक व्यक्तिहरु (क्रिम पर्सनालिटी) हुन् भनेर प्रशिक्षित गरिन्छ । लायन्सले आफू भन्दा कम भाग्यमानीलाई सेवा गर्नुपर्छ भन्ने दर्शन सिकाइन्छ । अर्थात लायन्सहरु समाजका भाग्यमानी हुन् भन्ने हो । त्यसैले लायन्सको सेवा कार्य अभावमा पुग्नु हो । तीजको दर पनि अभाव हुनेका बीचमा अत्याधिक भन्दा अत्याधिक साझा हुन सके ‘हामी सेवा गर्छौं’ नाराको थप सार्थकता हुनेछ ।
यस्तो थियो त्यो दर खाने कार्यक्रम
लायन्स क्लबहरुले खाने कार्यक्रममा पदीय मान मर्यादामा उच्च स्थानमा रहेका दिदीबहिनीहरुलाई सम्झिए । एकाघरका छोरी–बुहारी जस्तै एकै रंगका भेषभुषा तथा श्रृंगारमा सजिए । रेकर्ड गीतमा गीतमा कम्मर भाँचे । कतै भने गरीबको कोही छैन भन्ने गीत जस्तै यथार्थ कथा पनि थियो ।
तर, भैरहवाको एक क्लबले भने तल्लो तहका कर्मचारीहरुलाई मात्र जोडे । कार्यालयका प्रमुख होइन कार्यालय सहयोगीलाई बोलाए । अधिकृतलाई होइन कुचीकार (सरसफाई कर्मचारी) लाई निम्ता गरे । डाक्टरलाई होइन बिहान ३ बजे नै उठेर अस्पताल र सडक सफा गर्ने सेविकालाई आमन्त्रित गरे ।
भैरहवाको एक तारे होटलमा बोलाए । दाजुभाइले बोलाएर दर मात्र खुवाएनन् पोको पारेर सारी पनि उपहार दिए ।
एकजना दिदीले भनिन्, ‘यो दर हामीलाई आफ्नो जन्मघरका दाजुभाइले खुवाए भन्दा कम रहेन । उनले थपिन्, यो उपहारको पोकोमा जे भए पनि सुनको गहना भन्दा कम भएन । यस्तो होटेल पहिलोपटक देखे, मेरो छोरोले ल्याउन गाह्रो हुन्थ्यो तर, यो लायन्स क्लबले ल्यायो ।’ अर्की एकजना दिदीले भनिन, ‘हामीलाई त तीजको प्यास मेटियो । कहिल्यै नबिर्सिने तीज भयो ।’
५० औं जना दिदीबहिनीहरुलाई एकै ठाउँमा जोडेर गरेको कार्यले मलाई छोयो । त्यसैले यो अनलाइन मिडिया खबरपात्रो डटकममार्फत चिट्ठी लेखेको हुँ । पढेर अरुलाई पनि साझा (फरवार्ड) गरिदिनुहोला है ।
यस्तो सम्झिरहने कार्यक्रम लायन्स क्लब अफ भैरहवा लिगेसीले गरेको हो । यो क्लबमा धेरै तराई समुदायका युवाहरु छन् । तराई समुदायका युवाहरुको सक्रियताले आयोजित यो दर कार्यक्रमको सन्देशलाइ गहिरिएर बुझ्न सके समाज सहिष्णु र सुन्दर हुन्छ । म एक लायन्सको विद्यार्थी भएकोले यसबाट धेरै सिकेको छु । पुनः अर्को चिट्ठी लिएर आउनेछु ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij