२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

व्यवसायीको चिन्ता : व्यवसाय चलायमान हुन सकेन

सोमवार , भाद्र २४, २०८१

भैरहवा, २४ भदौ ।
उद्योगी–व्यवसायीले उद्योग–व्यवसाय चलायमान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाका नवआगन्तुक प्रमुख कर अधिकृत प्रेम राज पोखरेलसँगको भेटघाट तथा छलफल कार्यक्रममा व्यवसायीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले धेरै व्यवसाय गरेर राज्यलाई कर तिर्न चाहे पनि अवस्था त्यस्तो हुन नसकेको बताए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योग–व्यवसाय वर्षेनी कम हुँदै गएको बताए । उनले भने, ‘राजस्व उठेन भनेर माथिल्लो निकायबाट आन्तरिक राजस्व कार्यालयलाई दबाब हुने र कार्यालयले व्यवसायीलाई दबाब दिने कार्य उचित होइन ।’ 

उनले व्यवसायीले दुःख पाउन नहुने बताए । अध्यक्ष श्रेष्ठले व्यवसायीले ऐन कानूनमा रहेर काम गर्नुपर्छ भन्ने संघको मान्यता रहेको स्पष्ट पारे । उनले कुनै व्यवसायीले नियतवश वा अन्जानमा गलत गरेको छ भन्ने कुरा बुझिदिन आग्रह गरे ।

त्यस्तै सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिष कुमार कौशल (दीपक) ले व्यवसायीले पुरानो सुनलाई आम्दानीको रुपमा देखाउन सकिन्छ भन्ने रहे पनि व्यवहारमा लागू हुन नसकेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका परामर्शदाता पशुपति प्रसाद कान्दुले उद्योग चलाउन ग्राहो भएको अवस्थामा सरकारी निकायबाट पनि दुःख पाएको गुनासो गरे ।

संघका सचिव मंगल भण्डारीले बील जारी गर्दा भीसीटीएस अनिवार्य हो वा होइन भन्ने अन्यौलता रहेको बताए ।

संघका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीले बीलमा एचएस कोड राख्नुपर्ने अनिवार्य हो वा होइन भन्दै प्रश्न गरे ।

संघका कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवालले आर्थिक कारोबारको रेसियो (अनुपात) घट्दो अवस्थामा रहेको बताए ।

संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले बजारलाई चलायमान कसरी गराउने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने बताए । उनले बीलमा एचएस कोड राख्नुपर्नेबारे अन्यौलता रहेको बताए । उनले बुटवल–नारायणगढ सडक निर्माणसम्पन्न नहुँदा यस क्षेत्रमा व्यापार सुस्ताएको बताए ।

पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले मुख्य चोकमा सटरहरु खाली रहेको बताए । उनले भने, ‘व्यवसायलाई कसरी हुन्छ चलायमान बनाउनुपर्छ । धेरै कारोबार गरेर राज्यलाई राजस्व तिर्न चाहन्छौं । तर, व्यवसाय घाटामा छ ।’

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सचिव प्रकाश न्यौपानेले करका दायरामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य यमकला न्यौपानेले भन्सार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् ।

संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए । उनले फूल अडिटको नाममा व्यवसायीले दुःख पाएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले हिजो र आजको अवस्थामा धेरै फरक रहेको बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले अनुगमनको काममा केही व्यवसायीले दुःख पाएको बताए । संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘राम्रो काम गर्ने व्यवसायीलाई दुःख दिन्नौं’

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले राम्रो काम गर्ने व्यवसायलाई दुःख दिने र धरपकड नगर्ने स्पष्ट पारे । उनले गलत कार्य गर्नेलाई कारवाही गर्न उद्योगी व्यवसायीहरुको साथ र सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘नक्कली फर्म दर्ता गरेर सामान आयात गर्ने, बेच्ने अनि भाग्ने पनि प्रवृत्ति छ । नक्कली बिल बेच्ने व्यक्तिहरु सक्रिय छन् । कार्यालयलाई सूचना दिनुहोस् । इमान्दारीपूर्वक काम गर्नेले साथ दिनुपर्छ । यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछु ।’ 

IMG_7606.JPG

उनले गलत कार्य गर्नेलाई छोडे राम्रो गर्नेको कसरी संरक्षण हुन्छ भन्दै प्रश्न गरे । उनलाई ग्राहकलाई पनि जिम्मेवारी बनाउनुपर्नेमा जोड दिए ।