
लालपूर्जा बाड्ने राजनीतिक चलखेल
शुक्रवार , फाल्गुण २१, २०७७
परासी, २१ फागुन ।
ऐतिहासिक नन्दन ताललाई केही स्थानीयले कब्जा गरेर खेत बनाएपछि तालको अस्तित्व नै मेटिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ सनई गाउँको उत्तर सिमानामा रहेको ऐतिहासिक नन्दन ताललाई केही स्थानीयले अतिक्रमण गरी खेतीपाती गर्दै आएका छन्, जसकारण तालको इतिहास नै मेटिने खतरामा पुगेको छ । तालको संरक्षण र प्रवद्र्धनमा सम्बन्धित निकायले ध्यान नपुर्याउँदा स्थानीयले ताललाई पुरै अतिक्रमण गरी स्वरुप नै फेरिदिएका छन् ।
९२ विगाहा क्षेत्रफलमा फैलिएको ऐतिहासिक नन्दन ताललाई जोगाउन न त तत्कालिन जिल्ला विकास समितिले पहल गर्याे न त गाविसले नै आफनो दायित्व पुरा गर्यो । यता तालको जग्गा फिर्ता ल्याउन र संरक्षण गर्न स्थानीय तह र जिल्ला समन्वय समितिबाट पनि कुनै ठास पहल हुन सकेको छैन । तालको अस्तित्व मेटिनमा सम्बन्धित निकायको मौनताले उल्टै स्थानियलाई सहयोग नै गरेको देखिन्छ ।
२० वर्ष अगाडी ऐतिहासिक नन्दन ताल जिल्लाको ठुलो तालको रुपमा चिरपरिचित थियो । तालमा विभिन्न देशका चराचुरुङ्गी, फुलविरुवा, विभिन्न प्रजातिका माछा र पानीमा पाउने जनावरहरु पाउने गरिन्थ्यो तर ताललाई जोगाउन नसकेपछि स्थानीयले ताललाई पुर्दै खेती गर्न थाले जुन ताल तालकै स्वरुपमा नरही खेतको रुपमा परिणत भयो ।
ताललाई जोगाउन न त कुनै गुरु योजना बनाई संरक्षणकै काम भयो न त तालको प्रवद्र्धनका लागि बजेट बिनियोजन गरी विकास तथा प्रचारप्रसार नै भयो । ९२ विगाहा क्षेत्रफलमा फैलिएको ताललाई केही स्थानीयले कब्जाएर पुरै खेती गरेका छन् । ९२ विगाहाको ताल पुरै अतिक्रमण भइसकेको छ । त्यहाँ तालको नाममा एउटा पोखरी मात्र छ जुन तालको पहिचान र इतिहासलाई बचाएको छ ।
त्यस पोखरीको पनि संरक्षण भएन भने त्यसलाई पनि स्थानीयले माटो पुरी खेत बनाउन बेर छैन । सनई गाउँको दक्षिण भागमा अर्काे पनि ८२ विगाहा क्षेत्रफलमा फैलिएको सनई ताल पनि छ तर त्यो ताल पनि संरक्षणकै अभावमा पुरै स्थानीयको कब्जामा रही अतिक्रमण भइसेको छ । यसरी पाल्हीनन्दन गाउँपालिकाको दुई ठुला तालको १ सय ७४ विगाहा क्षेत्रफल अतिक्रमण भइसक्दा पनि जग्गा फिर्ता गराउन कुनै निकायबाट पहल नभइरहेको स्थानीय राजेन्द्र सहानीले गुनासो गरे ।
विगतमा तालको संरक्षण र तारबारका लागि तत्कालिन जिल्ला विकास समिति र सनई गाविसबाट बजेट बिनियोजन भएपछि स्थानीय विवादले सो कामहरु हुन सकेन । एकवर्ष अगाडी मात्र तालको संरक्षण गर्दै ताललाई सिमसार क्षेत्र बनाउन राष्ट्रपति चुरे संरक्षण विकास समितिले क्रमशः दुई वर्ष गरी १ करोड रुपैयाँ विनियोजन ग¥यो तर ताल कब्जा गर्ने व्यक्तिहरु विभिन्न धाकधम्की र राजनीतिक दबाब दिलाएर काम गर्न दिएनन् । त्यो पैसा पनि फ्रिज भएर गएको जिल्ला समन्वय समितिले जानकारी दियो ।
ताललाई संरक्षण गर्न कुनै निकाय तथा व्यक्ति सो क्षेत्रमा पुगेको थाहा पाएपछि तालमा खेती गर्ने स्थानीय व्यक्तिहरुले विभिन्न धाकधम्की लगाएर धपाउँदै आएका छन् । विगतमा केही भुमाफियाहरु तालको लालपुर्जा नै वितरण गर्ने खेलमा लागे तर सफल भएनन् । अहिले पनि त्यहाँका स्थानीय राजनीतिक दलका नेताहरुले तालको पुर्जा बाड्ने आश्वासनमा भोटको राजनीति गर्दै आएका छन् । जसले उनीहरुको मनोबल थप बलियो भएको छ । तालको संरक्षण र अतिक्रमित जग्गा फिर्ता गराउन न त यहाँका सम्बन्धित निकायले नै पहल गरिरहेको छ न त यहाँका राजनीतिक दलका नेताहरु नै लागिपरेका छन ।
वि.सं. २०५६÷०५७ ताल तालैको स्वरुपमा थियो र तत्कालिन गाविसबाट तालमा माछाको ठेक्का लाग्ने पनि गर्दथ्यो । त्यसपछि केही बाठा स्थानीय राजनीतिक पहुँचका कारणले ताल अतिक्रमण गर्न थाले र अहिले ताल पुरै कब्जामा लिइसके । तालको जग्गा फिर्ता ल्याउन र तालको संरक्षणमा सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरी रहेको स्थानीय चन्द्रमणि चौधरीले आग्रह गरे ।
के भन्छ पाल्हीनन्दन गाउँपालिका ?
यता तालको संरक्षण र विकासका लागि आवश्यक बजेट बिनियोजन गरि अगाडी बढने पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिए । प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने पालिकाको दातित्व रहेकाले सो दायित्वबाट नपन्छिरहेको र आउँदो गाउँसभाबाट आवश्यक बजेट बिनियोजन गरी तालको गुरुयोजना बनाई त्यसको संरक्षण र विकासमा सक्रिय भई लाग्ने उनले जानकारी दिए । अध्यक्ष गुप्ताले अब तालको नाममा राजनीति गर्न नदिन र तालको संरक्षण एवं वृहद विकासका लागि तालको तारबार गर्ने, सिमसार क्षेत्र बनाउने, चराचुरुङ्ग र शाकाहारी जनावरहरुको पालनपोषण, चराचुरुङ्गी र फुलविरुवाहरु रोपेर फेरि तालकै स्वरुप दिने प्रतिवद्धता जाहेर गरे ।
पाल्हीनन्दन गाउँपालिकामा तालबाहेक पनि विभिन्न सार्वजनिक पोखरी र जग्गाहरु पनि अक्रिमण भएका छन । गाउँपालिकाभित्रका सबै सार्वजनिक जग्गाहरुको तथ्यांक संकलन गरी अतिक्रमित जग्गाहरुलाई फिर्ता लिन र ती क्षेत्रहरुको संरक्षण र विकासमा पालिका सक्रिय भुमिकामा रही दायित्व पुरा गर्न प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए ।
हालसम्म एतिकासिक नन्दन ताललाई जोगाउन कसैले वास्ता नगरेकै कारण ताल पुरै अतिक्रमणको चपेटामा परेको छ । ताल जोतभोग गर्ने व्यक्तिहरु ताललाई आफनो नाममा दर्ता गराउन मालपोत कार्यालयसहित ठुलाबडा नेता कहाँ समेत धाउन गरेका छन् । समयमै तालको संरक्षण भएन भने बचेको अस्तित्व पनि स्थानीयले मेटिदिने बेर छैन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij