२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विपन्न बिरामीलाई सिद्धार्थनगर सिटी अस्पताल र व्यवसायीद्वारा आर्थिक सहयोग

बुधवार , भाद्र २६, २०८१

भैरहवा, २६ भदौ ।
सिद्धार्थनगर सिटी अस्पताल भैरहवा, रुपन्देहीमा उपचारत दुईजना विपन्न बिरामीहरुलाई अस्पताल प्रशासन, व्यवसायी र अस्पतालमा कार्यरत चिकित्सकले ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अस्पतालमा उपचारत रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका मुटुरोग सम्बन्धी र कपिलवस्तुको लबनीका मृगौला रोग सम्बन्धी बिरामीलाई बुधबार आर्थिक सहयोग गरिएको हो ।

अस्पतालका शेयर सदस्य तथा बुटवल उपमहानगरपालिका–५ नेपालगंज रोड निवासी पेट्रोलियम व्यवसायी मदनलाल गुप्ताले अस्पतालमा उपचारत आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई सहयोग गर्ने उद्देश्यले आमा स्वर्गीय पुना देवी तेली र श्रीमती स्वर्गीय गिता देवी गुप्ताको नामबाट १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । 

सोही अक्षयकोषको सहायताले मुटुरोग सम्बन्धी विरामी मजनु अन्सारीलाई रु. २० हजार रुपैयाँ र मृगौला रोग सम्बन्धी बिरामी धु्रव विश्वकर्मालाई रु.१० हजार रुपैयाँ सहयोग प्रदान गरेको व्यवसायी गुप्ताले बताए । 

३८ वर्षअघि श्रीमतीको साविक लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा निधन भएपश्चात अस्पतालमा उपचारत विपन्न बिरामीहरुलाई सहयोग गर्नुपर्ने इच्छा जागृत भएपछि आफूले २०७९ मंसिर १ गते अक्षयकोष स्थापना गरेर आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई सहयोग गर्दै आएको बताए । ‘स्व. पुना देवी तेली तथा स्व. गिता देवी गुप्ता स्मृति अक्षय कोष’ बाट गरीब तथा विपन्न बिरामीहरुका लागि आर्थिक सहयोग गर्दै आएको उनले जानकारी दिए । ‘हामी व्यवसायीले व्यवसाय गरेर थोरधेर पैसा कमाएका हुन्छौं‘उनले भने,‘सोही कमाइको रकममध्ये केही अंश सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले अक्षयकोषमार्फत केही सहयोग गरिरहेको छु ।’

IMG_7684.JPG

त्यस्तै अस्पताल प्रशासनले पनि दुवैजना बिरामीहरुलाई ३० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ । त्यसै गरी अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ सुधिर प्रसाद शाहले पनि मुटुरोगका बिरामी अन्सारीलाई व्यक्तिगत १० हजार रुपैयाँ सहयोग गर्नुभएको सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । ‘बुटवल घर भएका मदनलाल गुप्ताले भैरहवामा उपचाररत बिरामीलाई केही सहयोग गरौं भन्ने सोचका साथ अघि बढ्नुभएको छ । उहाँले प्रत्यक्ष बिरामी र बिरामीका आफन्तले भेटेर सहयोग रकम हस्तान्तरण गर्दै आउनुभएको छ । अस्पतालले पनि विपन्न बिरामीको उपचारमा सहयोग गर्दै आएको छ, ’पौडेलले भने । 

IMG_7681.JPG

उपचारत दुवैजना बिरामी अतिविपन्न वर्गको रहेकोले उपचार गराउन पनि उनीहरुलाई समस्या परेको अस्पताल प्रशासनलाई जानकारी भएपछि सहयोग प्रदान गर्न भूमिका निर्वाह गर्नुका साथै आफूहरुले पनि सहयोग गरेको पौडेलको भनाइ छ । ‘अस्पतालमा उपचार सेवा लिइरहेको बिरामीबारे हामी जानकारी लिइरहेका हुन्छौं, उनले भने,‘त्यसैक्रममा यी दुईजना बिरामीहरुलाई आफ्नो उपचार गराउन समेत समस्या परेको थाहा पाएपछि उनीहरुलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।’

पछिल्लो समय सिद्धार्थनगर सिटी अस्पतालले विभिन्न सेवा विस्तार गरिरहेको छ । अस्पतालले थाईल्याण्डको संस्थासँग समन्वय गरेर यस क्षेत्रका साथै विभिन्न जिल्लाका विरामीहरुको निःशुल्क घुँडा प्रत्यारोपण समेत शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको थियो । जसमा ३२ जना विबामीहरुले सेवा लिएका थिए । त्यस्तै अस्पतालले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य जाँच शिविर समेत सञ्चालन गर्दै आएको सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेले बताए ।