
बिहिवार , भाद्र २७, २०८१
भैरहवा, २७ भदौ ।
अङ्कुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर नगरपालिका–१२, रुपन्देहीले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा अवसरमा संस्थाले बुधबार भैरहवामा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहकारीको गतिविधि कार्यमा सधै अग्रसर रही रेडियो पत्रकारिताको माध्यमबाट सहकारी अभियानलाई अघि बढाउन सहयोग गरी संस्थाको गरिमा बढाउन भूमिका खेलेको भन्दै पत्रकार शंकर पाण्डेलाई नगद रु. ११ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । रुपन्देही एफ.एम.का स्टेशन म्यानेजर पाण्डे लुम्बिनी प्रेस क्लबका महासचिव समेत हुन् । उनी विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राम बहादुर श्रेष्ठ, निवर्तमान लेखा सुपरीक्षण समिति संयोजक जनकवीर बज्राचार्यलाई सम्मान पत्रले सम्मान गरिएको कार्यक्रम संयोजक भरत सिंह बिजुक्छेले बताए । त्यस्तै संस्थाका व्यवस्थापक विमला घिमिरे, कार्यालय सहायक प्रतिमा अर्याल र मुना बरामुलाई प्रशंसा–पत्रले सम्मान गरिएको थियो ।
त्यसै गरी स्थापना दिवसमा भएको रक्तदान कार्यक्रममा सहयोग गर्ने नेवाः खल तथा रेडक्रस रुपन्देही शाखालाई कदर–पत्रले सम्मान गरिएको थियो । त्यसै गरी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सहकारीका शेयर सदस्यहरुले साधारणसभामा संस्थाको प्रतिवेदन राम्रोसँग अध्ययन गर्नुपर्ने बताइन् । उनले पछिल्लो समय सहकारीप्रति जनताको विश्वास गुमेकाले राम्रो काम गरेर सहकारीप्रति विश्वास जगाउन आवश्यक रहेको बताइन् ।
अङ्कुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले केही सहकारीले गरेको गल्तीका कारण नाक खुम्च्याउनुपर्ने अवस्था बनेको बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सहकारीको नेतृत्व र व्यवस्थापनमा को छ भन्ने कुराले महत्वपूर्ण अर्थ राख्ने बताए । उनले अङ्कुर सहकारीले नगरका १३ वटै वडाका व्यक्तिहरुलाई समेटेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले केही सहकारीका ठगहरुका कारण सहकारी बदनाम भएको बताए । उनले स्थानीय व्यक्तिहरुद्वारा सञ्चालित सहकारीमा आबद्ध हुनुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले सहकारीले बचत गर्न सिकाएको बताए । उनले सम्बन्धित निकायले समयसमयमा सहकारीको निरीक्षण गरे समस्या नआउने बताए ।
सिद्धार्थनगर सहकारी सञ्जाल समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले सहकारी मिनी बैंकको रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले केही सहकारीले बदमासी गरेको बताए ।
अङ्कुर बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष राम बहादुर श्रेष्ठले आफूले यो सहकारीमा तीन कार्यकाल काम गरेको जानकारी दिए । उनले भने, ‘यो संस्थाले उल्लेखनीय प्रगति गरेको छ ।’
राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रबन्धक प्रकाश पन्थीले भने, ‘अङ्कुर सहकारीले सम्पूर्ण शेयर सदस्यको मन जितोस् । संस्थालाई यहासम्म ल्याउन योगदान गर्ने सबै धन्यवादको पात्र हुनुहुन्छ ।’
रुपन्देही एफएमका स्टेशन म्यानेजर शंकर पाण्डेले आफूलाई सम्मान गर्ने सहकारीप्रति आभार व्यक्त गरे ।
लेखापरीक्षक लक्ष्मण पौडेलले प्रत्येक वर्ष अङ्कुर सहकारीको वित्तीय अवस्थामा सुधार भइरहेको बताए ।
सहकारीका सल्लाहकार वनमाली निराकारले सरकार सहकारी सम्बन्धि समस्या समाधानका लागि गम्भिर हुनुपर्नेमा जोड दिए ।
संस्थाका उपाध्यक्ष कल्पना प्रधानको स्वागत तथा व्यवस्थापक विमला घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थामा हाल ५१७ जना शेयर सदस्यहरु छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij