
मंगलवार , आश्विन १, २०८१
भैरहवा, १ असोज ।
रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा धेरै सुधार भएको तर, अझै पनि सुधार गर्नुपर्ने कुराहरु रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पछिल्लो समय भीम अस्पताल धेरै बिरामीहरुको रोजाइ बनेको उनीहरुको भनाइ छ ।
भीम अस्पताल भैरहवा, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालबाट सञ्चालित स्वास्थ्य सेवाहरुको वार्षिक समीक्षा गोष्ठीमा बोल्ने सहभागीहरुले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले नेपालको पुरानो अस्पतालमध्ये भीम अस्पताल भएको बताइन् । उनले यहाँका नागरिक समाजको साथ र सहयोगले काम गर्न थप हौसला प्रदान भएको बताइन् । उनले भनिन्, ‘यो अस्पतालप्रति नागरिकको भरोसा बढेको छ । आवश्यक जनशक्तिको अभाव र सीमित स्रोतसाधनका बाबजुद विभिन्न सेवाहरु विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेका छौं ।’
अस्पतालका मेडिकल रेकर्डर खिमु थापाले आ.व. २०८०/०८१ मा भीम अस्पतालबाट १ लाख १२ हजार ८ सय ५४ जना बिरामीले ओपिडी सेवा लिएको जानकारी दिए । त्यस्तै सोही अवधिमा १४ हजार ९ सय १३ जनाले आकस्मिक (इमरजेन्सी) सेवा लिएको बताए । उनले भने, ‘दैनिक ६ सय भन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिइरहेको छन् । अस्पतालले यहाँहरुको साथ, सहयोगको अपेक्षा राखेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले सिद्धार्थनगर–१३ मै अस्पताल भएकाले वडा कार्यालय र अस्पतालबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अस्पतालले स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढ्नुपर्छ ।’
त्यस्तै लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले अस्पतालमा सुधार धेरै भएको बताइन् । ‘भीम अस्पताल बिरामीको रोजाइमा पर्न सफल भएको छ, अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको छ । उनले भनिन्, ‘अस्पताल यहाँसम्म आउन पूर्वअध्यक्ष र मेसुहरुको भूमिका महत्वपूर्ण छ ।’ उनले अस्पतालमा आईसीयू सेवा किन सञ्चालन हुन सकेको छैन भन्दै प्रश्न गरिन् । आईसीयू सेवा अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भीम अस्पतालप्रति आम सर्वसाधारणको विश्वस बढ्दै गएको छ । उनले भने, ‘अस्पतालमा सरसफाई आवश्यक छ । त्यसको साथै यहाँका स्वास्थ्यकर्मीको बोली व्यवहारमा सुधार हुन आवश्यक छ । ’
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले श्रेष्ठले अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्नैपर्ने बताए । उनले भीम अस्पताललाई नेपालकै अग्रणी अस्पताल बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका रामप्रसाद भट्टराईले भीम अस्पतालको सेवा गुणस्तरीय रहेको बताए ।
भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले साधनस्रोत र उपकरण बिना जनशक्तिले कसरी काम गर्ने भन्दै प्रश्न गरे । उनले स–साना कुरामा ध्यान दिन आग्रह गरे ।
अस्पताल विकास समितिका पूर्वअध्यक्ष हितराज पन्थीले सामूहिकतामा आधारित भएर काम अघि बढाउनुपर्नेमा जोड दिए । उनले अस्पताललाई यहाँसम्म ल्याउन सबैको योगदान रहेको बताए ।
पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले अस्पतालको विकासका लागि आफ्नोतर्फबाट पहल गर्ने बताए । पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पताल विकास समिति र प्रशासन मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले आफूले कोभिड महामारीको बेला असपतालको नेतृत्व लिएको स्मरण गर्दै इच्छाशक्ति भए काम गर्न सकिने बताए ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जनताको अपेक्षा अनुसार अस्पताल अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अस्पतालबारे आएका गुनासो सम्बोधन गर्नुपर्छ । अस्पतालले सफलता प्राप्त गरे पनि केही कमीकमजोरी छन् ।’
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले भीम अस्पतालमा धेरै सुधार भएको बताए । उनले भने, ‘उपचारका लागि बिरामी कहाँ जाने भन्दा भीम अस्पताल जाने भन्ने बनाउनुपर्छ । सेवालाई चुस्तदुरुस्त बनाउनुपर्छ । अस्पतालको विकासका लागि हामी सबै लाग्नुपर्छ । आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीहरु यो अस्पतालमा सेवा लिन आउने गरेका छन् ।’
भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले अस्पतालले अहिलेसम्म गरेको प्रगति एकजनाको योगदानले नभएको बताए । उनले पूर्वअध्यक्षहरुको अथक प्रयास र योगदान रहेको बताए । आफू यसै अस्पतालमा २०५१–५२ सालमा मेडिकल अफिसर, त्यसपछि मेसु र अहिले अध्यक्ष भएको बताए । उनले १९९० सालमा ३ बेडबाट सुरु भएको भीम अस्पताल र सँगै खुलेका अस्पतालहरु २–३ सय बेडको भए पनि यो अस्पताल त्यसरी अघि बढ्न नसकेको बताए । उनले भने, ‘अस्पतालमा आईसीयू सञ्चालन आवश्यक छ । तर, फूल फेजमा चलाउनुपर्छ । नाम मात्रको सेवा दिएर हुँदैन । त्यस्तै मुटु सम्बन्धि प्राथमिक उपचारको व्यवसथा गर्न आवश्यक छ । आएका सल्लाह–सुझाव आत्मसात गर्दै अघि बढ्ने उनको भनाइ छ । ’
अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij