
शुक्रवार , आश्विन ११, २०८१
‘लौ न बर्बाद भयो, खत्तम भयो’–रातको ९ बजेतिर हामीले खानपिन गरिरहेको टेबुलमा आत्तिदै लिज आइपुगिन् । एकछिन त हामी पनि अल्लमल्ल पर्यौं, के भयो भनेर । पछि थाहा भो, रेष्टुरेण्टको बिल १,०५४ युआन चाइना रेडियो इन्टरनेशनल बेइजिङ्गमा कार्यरत पत्रकार चेतनाथ आचार्यले तिर्नुभएछ । ९ जनाले खाएको बिल एउटैले तिरिदिनु उनका लागि बिल्कुल नौलो र अनौठो भएछ । हाम्रोमा भने साथीभाइसँग खाँदा एउटैले बिल तिर्नु सामान्य मानिन्छ । तर, उनको रोंतरोंत पछिसम्म पनि जारी रह्यो । लिज हाम्रो चीन यात्राको लागि तोकिएकी दोभाषे थिइन् । अंग्रेजीलाई कम महत्व दिने चिनियाँहरुसँग संवाद गर्ने हाम्रो माध्यम नै उनै थिईन् ।
जति रात छिप्पिन्थ्यो, मलाई डर लाग्थ्यो, कतै नेपालका राष्ट्रिय विभुति कलाकार अरनिकोले ७ सय ४५ बर्षअघि बनाएको सेतो चैत्य पुग्न भ्याइदैन कि भनेर । नेपाल चाइना मिडिया फोरमको सिफारिसमा पत्रकारहरु मनोज कुमार दाहाल, अमृतनाथ तिमिल्सिना, नागरिक उड्डयन प्राधिकरणका अमृत आचार्य, राष्ट्रिय सहकारी बोर्डका ओमप्रकाश गैरे, चितवनका युवा किसान शरद चौधरीसहित यो पंक्तिकार नेपालबाट दुई साताको लागि चीन पुगेको थियो । अफ्रिकी उप–प्राध्यापक टेण्डाइ गोण्डो पनि हामीसँगै सामेल थिए ।
अगस्त १८ अर्थात भदौ २ गते आइतबारको दिन । बिहानैदेखि ग्रेटवाल तथा ऐतिहासिक एवं पर्यटकीय स्थल ग्रीष्मकालीन दरबार (समर प्यालेस) घुम्दा समय नमिलेर खाना खाने मेसो परेको थिएन । भोक तथा थकाइले लखतरान हामीहरु बेइजिङ्ग डक (यहाँको लोकप्रिय हाँसको परिकार) खानका लागि ‘बेइदउ नेभिगेशन सेटेलाइट बिग डाटा डिजाष्टर प्रिभेन्सन एण्ड रिलिप अप्लिकेशन फर डेभलपिङ्ग कन्ट्रिज’ सम्बन्धि सेमिनारमा भाग लिन आएका अफगानिस्तान, इजिप्ट, म्यानमार र क्युबाका २१ ज्ना सहभागी तथा कुइचाऊ एकेडेमी अफ साइन्सेजका अधिकारीहरुलाई छाडेर ट्याक्सीमा सिछेन काउण्टीको फुछेन्ङ्गमेन्नेइस्थित एक रेष्टुरेण्टमा पुगेका थियौं । यहाँ खानपिन गरी सेतो चैत्य हेर्न जाने योजना थियो ।
हाम्रो उद्देश्य खाना भन्दा नेपाल र चीनबीचको साँस्कृतिक तथा ऐतिहासिक सम्पदाको रुपमा रहेको नेपाली कलाकार अरनिकोले बनाएको प्यागोडा शैलीको सेतो चैत्य हेर्नु थियो । बेइजिङ्ग भ्रमण तालिकामा यो ठाउँ परेको थिएन । राष्ट्रियताको हुटहुटीले हामीले भने यसलाई नहेरी नछाड्ने भयौं । हाम्रो अन्तरमनलाई बुझेर नै चेतनाथजीले हामीलाई त्यहाँ पु¥याउने हुनुभएको थियो । त्यही भएरै हामी ग्रीष्मकालीन दरबारबाट अरु सहभागीसँग छुट्टिएर यता लागेका थियौं । हतार हतार रेष्टुरेण्टबाट निस्कनै लाग्दा त्यसका सञ्चालकहरुले ढाका टोपी लगाएका हामीलाई नेपाली भनेर चिनिहाले । बाहिरसम्म बिदाई गर्न आए र हामीसँग सामूहिक फोटो खिचाए । यो नेपालीप्रतिको सम्मान थियो ।
रेष्टुरेण्टबाट निस्किएर हतारिंदै नगर बस चढ्यौं । १० बज्नै लाग्दा सेतो चैत्यमा पुगियो । रात छिप्पिनै लागेको समयमा पुगेका चौकीदारले हामीलाई भित्र पस्न भने दिएनन् । नेपाली भनेर परिचय दियौं, तैपनि रातको समयमा प्रवेश बन्द भइसकेले पस्न पाउने अवस्था रहेन । नियमका अगाडि चौकिदारको पनि केही चल्दैनथ्यो । सडक र गल्लीबाट चैत्यको सेतो टुप्पो देखियो, तर धीत मरेन । अन्तिममा एउटा उपाय जु¥यो, साईडको पाँचतल्ले रेष्टुरेण्टको छतबाट चैत्य नियाल्ने । ‘याओ क्याफे’ रेष्टुरेण्ट संचालकसँग दोभाषे लिजले कुरा मिलाइन् । छतमा रमाइरहेका ग्राहकलाई बाधा नपुग्ने गरी स्तुप हेर्न अनुमति पाएपछि ९ जनाको समूह कोही लिफ्ट चढेर त कोइ सिढीं चढेरै छतमा पुग्यौं । छतैभरि युवायुवतीहरु कफी, बियर र वाईनसँग रमाइरहेका थिए । रातको सवा १० भइसकेको थियो । त्यहाँबाट मधुरो प्रकाशमा टल्किरहेको सेतो स्तुप हेर्यौ, एक अफ्रिकी र एक चिनियाँसहितको टीमले फोटो खिचायौं । नेपाली कलाकारले विशाल छिमेकी देशको राजधानीमा बनाएको विशाल चैत्य परैबाट हेर्दा पनि छाती गर्वले फुल्यो । त्यति टाढाबाट यहाँ आएर अरनिकोले कीर्ति राख्ने गरी बनाएको चैत्य बेइजिङ्ग पुग्ने प्रायः सबैको रोजाइमा पर्छ ।
राजा जय भीमदेव मल्लको पालामा कलाकार अरनिकोले १३ औं शताब्दीमा बेइजिङ्ग पुगेर बनाएका थिए सेतो चैत्य । प्रसिद्ध प्यागोडा शैलीको उक्त चैत्य अहिले पनि नेपाल–चीन सम्बन्धको सेतु बनिरहेको छ । नेपाली नागरिकलाई निःशुल्क प्रवेश पाइने एक मात्र स्थान हो यो । चिनियाँ र अन्य देशका पर्यटकले २० युआन तिर्नुपर्छ ।
सन् १२७१ मा निर्माण सुरु भएर ८ वर्षमा सन् १२७९ मा सम्पन्न भएको यो स्तुपलाई चिनियाँहरु ‘ह्वाइट प्यागोडा’ ले चिन्छन् । यसलाई चिनियाँ भाषामा पाइथा स भनिन्छ जसको अर्थ सेतो चैत्य हो । ५०.९ मिटर अग्लो र ८१० बर्गमिटर क्षेत्रफलमा फैलिएको यो चैत्य चीनको सबैभन्दा पुरानो र ठूलो चैत्य रहेछ ।
अरनिकोले यो चैत्य निर्माण गर्दा चीनमा युआन बंशको शासन रहेको थियो । पछि यसलाई मिङ वंशमा पुनर्निर्माण गरियो र मिआवोयिङ मन्दिर नामाकरण गरियो । मिआवोयिङको अर्थ अद्भूत फल प्राप्त गर्नुहुन्छ । चिनियाँहरु यो मन्दिरमा आएर वर माग्दा अद्भूत फल प्राप्त हुन्छ भन्ने विश्वास गर्दा रहेछन् । पत्रकार आचार्यका अनुसार चैत्यको अगाडि दुईवटा बौद्ध मन्दिरहरु रहेका छन् । बौद्ध मन्दिरमा विभिन्न मुद्रामा शाक्यमुनी बुद्धका मूर्तिहरु रहेका छन् । स्तुपा काठमाण्डौंको स्वयम्भू र बौद्धनाथको स्तुपासँग मिल्दोजुल्दो छ ।
चीनमा अरनिकोले थुपै्र चैत्य निर्माण गरेका थिए । तर, भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट नष्ट भए पनि बेइजिङ्गसँगै वल्लो सान्सी प्रान्तको वु थाइसानमा भने जीवन्त छ । थाइसानको चैत्यमा बुद्धका छोरा प्रल्हादको मूर्ति समेत रहेको छ ।
चीनका तत्कालिन प्रभावशाली सम्राट कुब्ला खाँका राजगुरु पाहसपाले अरनिकोसहित ८० नेपाली कलाकारलाई चीन लगेका थिए । सन् १२४५ मा अहिलेको ललितपुर पाटनमा जन्मिएका अरनिको नेपालमा आफ्नो श्रीमती छाडेर चीन गएका थिए । उनले उतै रजौटाका छोरीहरु समेत गरी ९ वटा औपचारिक विवाह गरेका थिए भने केही ल्याईते श्रीमती पनि थिए भनिन्छ । उनको मृत्यु ६२ बर्षको उमेरमा सन् १३०६ मा चीनमै भएको थियो ।
सरकारले राष्ट्रिय विभूति घोषणा गरेर उच्च सम्मान दिएका कलाकार अरनिकोको बाल्यकालको नाम बलबाहू रहेको र चीनमा आउँदा कलिलो उमेरको महिला जस्तै भएकाले चिनियाँहरुले आनिक भनेर बोलाउँदा बोलाउँदै अरनिको नाम रहेको इतिहास रहेछ । रात छिप्पिन लागिसकेको थियो । भित्रै पसेर चैत्यको कुना कुना हेर्ने धोको भने अधुरै रह्यो । भोलिपल्ट पनि सार्वजनिक बिदा परेकाले हामीले चाहेर पनि अवलोकन गर्ने अवस्था थिएन । चीनमा अध्ययन गरेर नेपाल फर्किएकाहरुको संस्था अरनिको समाजले नेपाली कलाकारको उच्च सम्मानमा उनको शालिक स्थापना गरेका रहेछन् । सेतो चैत्य घुम्ने चिनियाँ र अन्य देशका पर्यटकले नेपाल र नेपाली कलाकारको नाम कण्ठै पारेर जाँदा रहेछन् ।
(तस्वीरहरु : चेतनाथ आचार्य, शरद चौधरी, ओमप्रकार गैरे र पंक्तिकार स्वयं)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij