२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चीनबाट नेपालले के सिक्ने ?

बुधवार , आश्विन २३, २०८१

संसारकै दोस्रो शक्तिशाली देश बन्न सफल उत्तरी छिमेकका दुई शहरहरु बेइजिङ्ग र कुइचाऊ पहिलोपटक प्रत्यक्ष रुपमा नियाल्ने अवसर प्राप्त भयो । दशकौंसम्म गरीबी र अभाव झेलिरहेको पिशाल चीनमा जनवादी क्रान्तिपश्चात माओत्सेतुङले कम्युनिष्ट शासन व्यवस्था सुरु गरे । सन् १९४९ मा माओबाट सुरु भएको समाजवादी यात्रामा देङ सियाओपिङ र वर्तमान राष्ट्रपति सी जिनपिङसम्म आउँदा कृषि उत्पादन, औद्योगिक र प्रविधिमा चीनको क्रान्ति चमत्कारिक, अभूतपूर्व र अकल्पनीय छ । कम्युनिष्ट शासन भएपनि उदारवादी नीतिका कारण सबै खालका स्वतन्त्रता उपलब्ध छन् । कम्युनिज्म झण्डा र पाठ्यक्रममा मात्र सीमित छ । फरक यति छ कि चीनमा जग्गाको स्वामीत्व सरकारमा मात्र छ, आम मानिस केवल उपभोग मात्र गर्न पाउँछन् ।

१ सय ४० करोड जनसंख्या रहेको चीन अहिले विश्वको सबैभन्दा शक्तिसम्पन्न राष्ट्र बन्ने दौडमा छ । माओलाई राजनीतिक परिवर्तन, देङलाई आर्थिक क्रान्ति र सीलाई उदारवादी अर्थ व्यवस्थाका नायक मान्ने चिनियाँहरु आफ्नो देशविरुद्ध पश्चिमा राज्यहरुले इतिहासदेखि अहिलेसम्म प्रहार र षडयन्त्र गरिरहेको ठान्छन् । १७ दिनसम्म चीनमा घुम्दा सरकारविरुद्ध असन्तुष्टि कहीकतै देखिएन । आफूले सुधारको पहल नगर्ने, अरुको विरोध र कुरा काटेर नथाक्ने नेपाली संस्कृति चिनियाँ संस्कृतिसामु लज्जास्पद छन् । हामी कुरा गछौं, चिनियाँहरु काम गरेर देखाउँछन् ।

व्यापारिक भवनमै आकाशे पुल
सरकार निजी क्षेत्रलाई उच्च प्राथमिकता दिन्छ भन्ने कुराको बलियो प्रमाण ठूलाठूला व्यापारिक भवन (शपिङ्ग मल) जान मिल्ने गरी आकाशे पुल बनाइएको छ । आकाशे पुलबाटै मलका छिर्न मिल्ने हुँदा ग्राहकलाई सजिलो र व्यापारीलाई फाइदा । यसले व्यापार फस्टाउन सक्ने । हामीकहाँ त्यो कल्पना नै गरिदैन, गरिहाले सरकारलाई खुइल्याउने ठूलो मसला बन्छ । राज्यबाट उपभोग गर्ने गरी लिइएको जग्गामा विशाल व्यापारिक भवन बनेका छन्, ती भवनमा रहेका सयौं व्यवसाय चलाउन आकाशे पुलले मद्दत गरेको छ । मेट्रो रेल स्टेशन पनि शपिङ्ग मलकै छेउमा बनाइएको छ, ताकी रेलबाट निस्कने यात्रुहरु तीनै मलमा किनमेल गर्न सकुन् ।

बाटैभरी भाडाका साईकल
बेइजिङ्ग शहरको सडकमा पैदल यात्राको लागि छुट्याइएको कुनामा साईकलको लहरै लाईन देखिन्छ । त्यो आम मानिस त्यसमा पनि घुम्न जाने पर्यटकलाई लक्षित गरेर भाडाको लागि राखिएको हो । महानगरपालिकाले राखेको साइकलमा क्यूआर कोड राखिएको छ । वीच्याटबाट क्यूआर स्क्यान गरी पैसा तिरेपछि साइकलको लक खुल्छ, अनि कहाँ जाने हो चलाएर लैजान सकिन्छ । पैसा सकिएपछि साईकल आफै लक हुन्छ अनि बाटोमै छाड्यो, हिड्यो । न चोरी हुन्छ, न त कसैले दायाँबायाँ गर्छ । ठ्याक्कै रामराज्य जस्तो ।

अधिकांश नेतृत्वमा महिला
चाइना बैदेशिक एड अन्तर्गत वाणिज्य मन्त्रालयको निमन्त्रणा र कुइचाऊ एकेडेमी अफ साइन्सेजको आयोजनामा ‘बेइदउ नेभिगेशन सेटेलाइट बिग डाटा डिजाष्टर प्रिभेन्सन एण्ड रिलिप अप्लिकेशन फर डेभलपिङ्ग कन्ट्रिज’ सम्बन्धि अगस्त १४ देखि २७ सम्म कुइयाङ्ग प्रान्तको कुइचाऊमा आयोजित सेमिनारमा भाग लिन नेपालसहित अफगानिस्तान, इजिप्ट, म्यानमार र क्युबाका २८ जना प्रतिनिधि पुगेका थियौं । अध्ययन अवलोकनका क्रममा हामी पुगेका कुइचाऊ एकेडेमी अफ साइन्सेज, चाइना भूकम्प उद्धार तथा पुनस्र्थापना केन्द्र बेइजिङ्ग, दैवी प्रकोप राष्ट्रिय उपचार केन्द्र बेइजिङ्ग, कुइचाऊ डाटा क्लाउड सेन्टरलगायतका कार्यालयहरुको नेतृत्व महिलाले गरेका थिए ।

उच्च अनुशासन 
चिनियाँ नागरिकको अनुशासन अनुकरणीय छ । आफ्नो भूमि, शासक र नीतिको मुक्तकण्ठले प्रशंसा गर्छन् । दुई विशाल शहरहरु र विभिन्न पर्यटकीय एवं ऐतिहासिक स्थलहरुको अवलोकनमा सफा र सुविधायुक्त शौचालय, कुशल व्यवस्थापनले मन लोभ्याउँथ्यो । बेइजिङ्गको सिछेन काउण्टीको फुछेन्ङ्गमेन्नेइमा सडकमा हामी पैदलयात्रामा थियौं । रातको पौने १० बजेतिर साईकल चलाएर आएकी एक अधवैशे महिलालाई हाम्रो टोलीका सदस्य बनेपाका अमृत आचार्यले बाटो छाडिदिनुपर्ने थियो । तर, उनैले झ्याप्प ब्रेक लगाईन् र सरी भन्दै साईकल डो¥याएर अघि बढिन् । हामीलाई लज्जाबोध भयो । नेपालमा भएको भए साईकल चढ्नेले नानाथरी गाली गर्थे । 
१७ दिनको घुमाईमा एकजना अपांगले गीत गाएर पैसा उठाएको मात्र भेटियो । न माग्नेहरु, न त ठगहरु नै । ठगी र चोरी गर्नेमाथि कडा सजाय हुने भएकाले कसैले हिम्मत गर्दैनन् । छाडा गाईगोरु वा कुकुर पनि कहीकतै देखिएनन् । सार्वजनिक शौचालयहरु निःशुल्क छन् ।

चपस्टीकको झण्झट 
चीन जानेहरुलाई खाना खाँदा चपस्टीक (दुईवटा काठका सुईरा) प्रयोग गर्न नजान्नु समस्या नै हुँदो रहेछ । बानी नहुँदा जेनतेन टिप्यो, खस्ने । चाइना रेडियो इन्टरनेशनल बेइजिङ्गमा कार्यरत पत्रकार चेतनाथ आचार्यले चिनियाँहरु चपस्टीकले तोरीका दाना टिप्छन्, बानी नपरेर मात्र हो भन्नुहुन्थ्यो । त्यही सम्झेर प्रयास गर्दा खान सक्ने भइयो । तर, चिनियाँहरु हातले खाँदा भन्दा सजिलो गरी चपस्टीकले खाएको देख्दा भने रमाइलो लाग्थ्यो । होटल, रेष्टुरेण्टहरुमा चपस्टीकको बदलामा काँटा चम्चाको व्यवस्था भने हुन्थ्यो ।

खानेकुरामा सजगता 
मांशाहारी खाना हिच्किचाहट बिना खानेहरुका लागि चीन यात्रा गज्जब । तर, पोर्क र बिफ (सँुगुर र गोरु) नखानेहरुलाई भने समस्या । कतिपय सागको परिकारमा समेत पोर्क र विफ मिसाइदो रहेछ । यात्रापूर्व भरिने फर्ममा पोर्क बिफ नखाने भनेर उल्लेख गरे पनि त्यसले काम नगर्ने । पोर्क वा बिफ खान्न भनेर भन्यो भने पोर्क या बिफका टुक्रा पन्छाएर ल्याइदिने । अझ रेष्टुरेण्टहरुमा पोर्क या विफ हो कि होइन भन्दा भाषाको समस्या । 
पोर्क\विफ मिसिएको खाना हवाई यात्रामा पनि दिइने । चाइना साउदर्नको उडानमा काठमाण्डौं–ग्वाङ्जाओ रुटमा सोल्टी होटलको खाना पाइने । अरु हवाई रुटहरुमा विफ÷पोर्क मिसिएकै कारण पिनटकै भरमा चित्त बुझाउनु प¥यो ।

भाषा समस्या
हामीलाई अंग्रेजी भाषा अनिवार्य गरिएको थियो । टीममा एक दोभाषे युवती पनि थिइन् । उनी औपचारिक कार्यक्रम र भ्रमणमा हुन्थिन । तर, आफुखुशी घुम्दा वा अन्य सयममा भने भाषामा निकै समस्या । चिनियाँहरु अंग्रेजी नबुझ्ने, हामी चाइनिज । शपिङ्ग मलमा इशारा वा क्यालकुलेर, रेष्टुरेन्टहरुमा मेनु र कतिपय ठाउँहरुमा बोलेर मोबाइलबाट अंग्रेजी–चाइनिज अनुवाद एपले सहयोग पुग्ने । सेमिनार सकिने दिन २७ अगस्तमा क्युबा र म्यानमारका प्रतिनिधि स्वदेश फर्किने भएपछि २६ अगस्तमा कुईचाऊको एक रेष्टुरेन्टमा हाम्रो बिदाई पार्टी थियो । विभिन्न ब्राण्डका मदिरा, बियर, जुसदेखि फलफूल, शाकाहारी र मांसाहारी खानाका परिकार । आफैले छानेर टेबुलमा जोडिएको हटपटमा पकाएर स्वाद अनुसार खान पाइने । सबै रमाइरहेका थियौं । मलाई पिसाबले च्याप्यो । एक वेटर युवतीलाई वाशरुप÷ट्वाइलेट कहाँ छ भनेर अंग्रेजीमा सोधें, नबुझेर हैरान । पाँच युवतीले घेरे, म भन्छु–उनीहरु बुझ्दैनन् । नेपालमा झैं कान्छी औंला देखाउन लाज लाग्यो । एउटा पेपरमा लेखें, उनीहरुले फोटो खिचेर अनुवाद गरे र मरीमरी हाँसे, अनि ट्वाइलेट देखाइदिए । म लजाउँदै ट्वाइलेटतिर गएको सम्झिदा अहिले पनि लाज लाग्छ ।

चिनियाँहरु अंग्रेजी भाषालाई महत्व नदिदा रहेछन् । अंग्रेजी बुझ्नेले पनि सरकारी भाषा नै प्रयोग गर्ने र त्यसलाई दोभाषेले अनुवाद गरिदिने ।

भरिभराउ वार, रेष्टुरेन्ट र खाना फ्याँक्ने संस्कृति
कम्युनिज्म देश भन्नासाथ चीन नपुग्नेहरुलाई लाग्दो हो, कठोर परिश्रम, सादा जीवन, कडा शासन । तर, किताबका पानाहरुमा मात्र सीमित छ कम्युनिज्म । साँझ नपर्दै रेष्टुरेण्ट जाने, जमेर खाने, घुम्ने संस्कृति फस्टाउँदै गएको छ । शहरी क्षेत्रमा साँझमा प्रायः रेष्टुरेन्ण्टमै खाने प्रचलन । घरमा खाना बनाउन चिनियाँहरु अल्छी हुँदा त्यसको फाइदा होटल रेष्टुरेण्ट फस्टाउने, अर्थतन्त्र चलायमान हुने । लोकप्रिय वार, रेष्टुरेण्ट क्षेत्रमा मध्यरात झन रमाइलो । पुतलीझैं राम्रा युवतीहरु साथीहरुसँग झुम्मिए भीडभाडमा रमाइरहेको दृश्य मनमोहक नै देखिने ।

हामी नेपालीहरु खाना फाल्नुलाई असहज मान्छौं । बरु बासी राखेर भोलिपल्ट भुटेर वा तताएर खान्छौं । तर, चीनमा खाना फाल्नु सभ्य संस्कृति । कारण – फ्याँकिएको खाना बुँगुरको दाना हुने । दुईजना टेबुलमा बसेर चारजनाले खान नसक्ने अर्डर गर्ने र अलिअलि खाएर छाड्ने । हामीले लेख्दै, पढ्दै र भन्दै आएको खाद्य सम्प्रभुता भने चीनमा उपयोगी नहुने । आवश्यकता परे उत्पादन बढाउँछन् तर बंगुरलाई भोकै राख्न चाहदैनन् ।

हरेक विषयको डाटा
चीनले ओलम्पिक खेलको उद्घाटन समारोहमा आकाशबाट परिरहेको पानी रोकेको, चुच्चे रेल, नागबेलीझैं सांघाईको फ्लाइओभर, नक्कली सुर्य बनाएर चमत्कार देखाइरहेको मात्र छैन, हरेक क्षेत्रका तथ्यांक अद्यावधिक गर्ने गरेको छ । कुईचाऊ क्लाउड डाटा सेन्टरका अनुसार कृषि, उद्योग, व्यापार लगायत हरेक क्षेत्रका तथ्यांक अद्यावधिक छन् । यहाँसम्म की पसलहरुमा विक्री हुने उपभोग्य वस्तुको तथ्यांकका आधारमा उत्पादन घटाउने वा बढाउने गरिन्छ । चीनको प्रविधि हाम्रो कल्पना बाहिर छ, अहिलेको चीनको अवस्थामा पुग्न हामीलाई वर्षौंमात्र होइन दशकौं लाग्न सक्छ ।

चीनमा गुगल, फेसबुक, युटुब, ह्वाट्सएप वा म्यासेन्जर नचल्ने । भिपिएन डाउनलोड गरेर भने चलाउन सकिने । जिमेल नचल्दा असाध्यै गाह्रो । १ अर्ब ४० करोड जनसंख्यालाई नियन्त्रण गरी यस्ता सामाजिक संजाल र प्रविधि छिर्न नदिनु चाहि ठुलै विषय मान्नुपर्छ । 
चोरी, डकैती हुँदैन, जालझेल छैन । मूल्यमा सहमत भएपछि व्यापारीले एक सुको लिंदैनन् । स्वावलम्बी छन् चिनियाँहरु । घरिघरि लाग्थ्यो – यस्तै त हुँदो हो हामीले कल्पना गर्ने स्वर्ग !

नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ दाइले जुलाई ३१ मा ‘नेपाल चीन सुमधुर सम्बन्धबारे सामूहिक स्वर‘ शीर्षकको समाचार लिंक म्यासेन्जरमा पठाउँदा मैले प्रत्युत्तरमा ‘जिन्दगीमा चीन घुम्न जाने रहर पुरा हुनी भएन दाजु !‘ भनें । लगत्तै जन्ममिति सोधेर पासपोर्ट माग्नु भो । राजधानीका पत्रकारहरु मनोज कुमार दाहाल, अमृतनाथ तिमिल्सेना, नेपाल नागरिक उड्डयन प्राधिकरणका अमृत आचार्य, राष्ट्रिय सहकारी बोर्डका ओमप्रकाश गैरे, चितवनका युवा किसान शरद चौधरीसँगको टीममा सहभागी गराइदिनुभयो । छोटो तर रोमान्चक र अविस्मरणीय यात्राको संयोग जुटाइदिने वरिष्ठ पत्रकार किशोर दाइप्रति आभारी छु ।