
मंगलवार , कार्तिक १३, २०८१
सन् २०१८ मा गाम्मा व्यवस्थापकीय तालिमको लागि यूरोप भ्रमण क्रममा जर्मनीको मुनिक (मुन्चेन) पुगियो । पहिलो दिन म्युनिक शहरको घुमाइपछि राती होटेल कोठामा मेरो मनमा आयो कि ‘जर्मनी आइएछ एडोल्फ हिट्लरको बारेमा धेरै कुरा बुझ्न हिट्लर सम्बन्धि कतै जान पाइयो भने राम्रो हुन्छ भन्ने उत्सुकता र उत्तेजनाले मभित्र सोच आयो ।’ उक्त कुरा तुरुन्तै कोठामा हुनुभएको सिसिलिया दिदीलाई भोलि लैजान भने । (सिसिलिया दिदीकै मार्गनिर्देशनमा हामी गाम्मा सम्बन्धि भ्रमणमा थियौं ।)
यो कुरा सुन्नेबित्तिकै दिदी एकदम रिसाउनुभयो र रिसाएर भन्नुभयो कि, ‘तिमीलाई किन हिटलरको बारेमा धेरै कुरा जान्न छ ? के तिमी हिटलर जस्तै बन्छौ र ? यहाँ कसैले हिटलरको कुरा गर्दैन । हिटलरको कुरा गर्नेबित्तिकै सबै रिसाउँछन् । हिटलरको नाम कसैले लिन चाहन्न । यस्तो कुरा मनबाट निकाल अब उपरान्त हिटलरको कुरा नगर्नु’भन्नुभयो । म एकदमै डराएर हतारहतार सुत्न गए । तर, निद्रा लागेन । दिदीको कुरा रातभर कान, दिमागमा र मनमा गुन्जयमान भइरहयो । त्यो कोठामा म सिसिलिया दिदी, गम्भिर गुरुङ्ग सर, विष्णु पन्थी सर र मनोज कुमार यादव सर थियौं । सबैजना निशब्द भएर बस्यौं ।
रात जसोतसो कट्यो । बिहान भयो । फेरि घुम्नलाई छिटोछिटो नित्य काम गरी तयार भएर होटेलको बाहिर गए । धेरैजना पहिले नै तयार भएर आइसक्नुभएको थियो । सबैजना केही कुरा गरिरहुनुभएको थियो । आज कता जाने घुम्न भनेर । मेरो छेउमा हिक्मत दाहाल सर हुनुहुन्थ्यो । मैले उहाँलाई सोधे, ‘सर हामी आज कता घुम्न जाँदैछौं ?’
उहाँले भन्नुभयो–‘कन्सन्ट्रेसन क्याम्प ।’
मैले जिज्ञासु अनुहारले सोधे–‘यो के हो ?’
उहाँले सोध्नुभयो–‘थाहा छैन यसको बारेमा ?’
मैले भने–‘नाइ सर’
उहाँले भन्नुभयो, ‘कन्सन्ट्रेसन क्याम्प भनेको त्यस्तो ठाउँ हो जहाँ युद्धको समयमा कुनै राष्ट्रले आफ्नो नियन्त्रणमा रहेका व्यक्तिहरूलाई नियन्त्रण, यातना वा बन्दी बनाउन प्रयोग गर्दथ्यो । दोस्रो विश्व युद्धको समयमा, जर्मनीको नाजी सरकारले विशेष गरी यहूदी, रोमा, समलिंगी व्यक्ति, राजनीतिक विरोधीहरू र अन्य अल्पसंख्यक समूहहरूलाई लक्षित गर्दै कन्सन्ट्रेसन क्याम्पहरू स्थापना गरेको थियो ।
यी क्याम्पहरूमा मानिसहरूलाई अत्यधिक दुव्र्यवहार, शारीरिक यातना, जबरजस्ती श्रममा लगाइन्थ्यो र थुप्रैलाई अत्यन्तै कष्टकर परिस्थितिमा राखिएको थियो । कतिपय क्याम्पहरूलाई ‘डेथ क्याम्प’ पनि भनिन्थ्यो, जहाँ थुप्रै मानिसहरूको हत्या गरिएको थियो ।
उहाँको कुरा सुनेपछि मैले सोचे कि दिदीले राती हिटलरको बारेमा सोध्दा कति रिसाउनुभयो ! कति कराउनुभयो । फेरि एकाएक हिटलर सम्बन्धि ठाउँमा किन लैजादै हुनुहुन्छ ? मैले आफैलाई मनमा प्रश्न गरे र चुप लागेर बसे ।
फेरि हिक्मत सरलाई सोधे–‘सर त्यहाँ जाने योजना कहिले बनेको ?
उहाँले भन्नुभयो–‘राती ११ बजेतिर (हिक्मत सर गाम्मा कोच र सुजिएनिएग्राम कोचमध्ये सबैभन्दा प्रभावशाली कोच हुनुहुन्छ ।)
त्यसपछि केही समय पैदल र स्पीड ट्रेनको यात्रापछि हामी पुग्यौं ।
त्यहाँको यात्रा हाम्रो लागि एउटा अवसर हुने विश्वासमा थियो । हामी सबै साथीहरुसँगै भएर हामी एक ऐतिहासिक यात्रा गर्दै थियौं ।
तर, डाखाउ कन्सन्ट्रेसन क्याम्पको यात्रा केवल भ्रमण थिएन । त्यो एउटा गहिरो भावनात्मक अनुभव बन्न पुग्यो, जसले हाम्रो मनमा गहिरो प्रभाव पार्यो ।
डाखाउ कन्सन्ट्रेसन क्याम्प : इतिहासको अँध्यारो पाटो
डाखाउ कन्सन्ट्रेसन क्याम्प नाजीहरूले सन् १९३३ मा स्थापना गरेका थिए । यो जर्मनीकै पहिलो स्थायी क्याम्प थियो, जुन नाजी शासनको अमानवीयतालाई चिनाउने स्मारक बन्यो । हामीले जब त्यस गेटबाट भित्र पाइला टेके, Arbeit Macht Frei—‘कामले स्वतन्त्रता दिन्छ’ लेखिएको शिलालेखले हामीलाई स्वागत गर्यो । तर, यो शब्दहरूमा गहिरो बिडम्बना थियो । यहाँ लाखौं निर्दोष मानिसहरूलाई जबरजस्ती काम गर्न लगाइन्थ्यो, र उनीहरूको लागि स्वतन्त्रता भनेको मृत्यु मात्र थियो ।
गेट पार गरेपछि हाम्रो ध्यान सबैभन्दा पहिले रोल–काल एरिया (llRo–Clla Area) मा पर्यो । यस विशाल ठाउँमा कैदीहरूलाई लामो घण्टासम्म उभ्याइन्थ्यो, जहाँ उनीहरूलाई नाम बोलाएर उपस्थित गरिन्थ्यो । त्यहाँको चिसो हावाले शरीरलाई मात्र होइन, आत्मालाई पनि चिसो बनाउँदै गयो । म (उदय कुमार मल्लिक), जो सधैं हँसिलो रहन्छु, एकाएक गम्भीर भए । ‘यहाँको मौनता नै कति भारी छ, ’मैले मनमनै गहिरो श्वास लिँदै भने ।
ब्यारकहरू ः कैदीहरूको दुःखद जीवन
त्यसपछि हामीले ब्यारकहरू हेर्न थाल्यौं, जहाँ कैदीहरूलाई जबरजस्ती थुनिएको थियो । ती साना कोठाहरूमा सयौं मानिसहरूलाई एकसाथ राखिन्थ्यो । हामीले ती साँघुरा खाटहरू देख्यौं, जुन कहिलेकाहीं तीन तलासम्म ठाडो विस्तरामा मिलाएर राखिएका थिए । राजकुमार गुरुङ्ग सरले ती खाटहरू नियाल्दै भन्नुभयो, ‘कसरी मानिसहरू यहाँ यति अत्याधिक असुविधामा बस्न बाध्य भए होलान् ? उनले ती कैदीहरूको पीडा झल्काउँदै थपे, ‘यहाँको प्रत्येक कोठा, प्रत्येक भित्ताले पीडाको कथा बोकेको छ ।’
गम्भीर गुरुङ्ग सरले भने,‘ब्यारकभित्रैको अर्को स्थान—कारावास कक्षहरू (Solitary Confinement Clles)—तिर लागे । यी कक्षहरू कैदीहरूलाई अलग्याएर थप यातना दिन प्रयोग गरिन्थ्यो । गम्भीर सरले गहिरो स्वरमा भन्नुभयो, ‘यहाँ कैदीहरूलाई मानसिक र शारीरिक रूपमा तोड्न कसरी प्रयोग गरियो होला भनेर सोच्दा पनि झस्किन्छु ।’
ग्यास च्याम्बर र क्रिमेटोरियम ः मृत्युका कोठाहरू
हाम्रो यात्रा अझ अँध्यारो बन्यो, जब हामी ग्यास च्याम्बरतिर पुग्यौं । यहाँ मानिसहरूलाई ‘स्नान गर्न लगिने’ झुटो बहानामा ल्याइन्थ्यो, तर वास्तविकता भने निकै क्रूर थियो । सिसिलिया दिदीले, जसले यो सबै इतिहास पहिले नै पढेकी थिइन्, बुझेकी थिइन् । तर, त्यो ठाउँमा पुग्दा उनको अनुहारमा भय र दुःख एकसाथ देखियो । उनले आँसु थाम्दै भनिन्, ‘किताबमा पढ्दा जस्तो लाग्थ्यो, तर यहाँ आएपछि वास्तविक पीडा महसुस हुन्छ ।’
गोकुल पोखरेल गहिरो मौनतामा उभिएर त्यो सानो कोठालाई हेरिरहेका थिए । ‘कसरी यति निर्दोष मानिसहरूले यहाँ ज्यान गुमाए होलान् ? उहाँले हल्का स्वरमा भन्नुभयो ।
ग्यास च्याम्बरको नजिकै थियो क्रिमेटोरियम, जहाँ मृतकका शवहरूलाई जलाइन्थ्यो । मनोज कुमार यादव सरले एकछिन क्रिमेटोरियमको चिसो भित्तालाई छुनुभयो । उनले गहिरो पीडा महसुस गर्दै भन्नुभयो, ‘मानिसको जीवन यति सस्तो हुन सक्छ ? यहाँ जीवनको कुनै मूल्य थिएन । दीपेश भट्टराई सर र विनोद श्रेष्ठ सरले एक अर्कालाई हेरिरहे, उनीहरूको मौनता नै त्यहाँको दर्दनाक वास्तविकतालाई बुझ्न पर्याप्त थियो ।
संग्रहालय ः यातनाका प्रमाणहरू
क्रिमेटोरियमपछि हामी संग्रहालय (Museum) तिर लाग्यौं, जहाँ क्याम्पमा भएका यातनाका ऐतिहासिक अभिलेखहरू र तस्बिरहरू राखिएका थिए । महेश भुर्तेल सरले एक पुरानो तस्वीरतर्फ इशारा गर्दै भने, ‘यहाँका कैदीहरूले जुन पीडा सहनुपर्याे, त्यो केवल एउटा अध्याय मात्र होइन, यो मानवताको इतिहासको अँध्यारो पाटो हो । मानवतामा दानवता ’विष्णु पन्थी सरले सहमतिमा शिर हल्लाउँदै थप्नुभयो, ‘यो केवल तस्बिरहरूमा मात्र छैन, यहाँको हावामा नै त्यो पीडा भरिएको छ ।’
प्रदर्शन कक्षहरूमा हामीले कैदीहरूको व्यक्तिगत सामानहरू, जस्तै चश्मा, जुत्ता, र फाटेका कपडाहरू देख्यौं । सित्तल श्रेष्ठले ती वस्तुहरूलाई हेर्दै र भावुक भएर भन्नुभयो–‘यहाँका कैदीहरूको सपना, जीवन र मानवता सबै लुटियो ।’
क्रूरता र करुणाको साक्षात्कार
यात्राको अन्तिममा हामी यातना कोठाहरूतिर पुग्यौं । यहाँ कैदीहरूलाई अकल्पनीय क्रूरताका साथ यातना दिन्थे । हिक्मत दाहाल सरले ती कोठाहरू हेर्दै गहिरो स्वरमा भन्नुभयो, ‘मानवताको पतन कस्तो हुँदो रहेछ, यहाँ आएर मात्रै बुझ्न सकिन्छ ।’ मनोज कुमार श्रेष्ठ सरले भन्नुभयो–ती कोठाहरू हेर्दै आक्रोशित देखिए । उनले चर्को स्वरमा भने, ‘कसरी मानिस यति निर्दयी बन्न सक्छन् ?’
मानवताको पाठ
जब हामी कन्सन्ट्रेसन क्याम्पबाट बाहिर निस्कन थाल्यौं, सबैजना गहिरो सोचमा डुबेका थियौं । राजेन्द्र ढकाल सर र विनोद ढकाल सर मौन हुनुहुन्थ्यो । तर, उहाँहरूको अनुहारमा प्रकट हुने भावनाहरूले नै उनीहरूको मनको कुरा बताइरहेको थियो । डम्बर कार्की सरले र महेश भुर्तेल सरले एकसाथ भन्नुभयो, ‘मानवताको यस्तो पतनले हामीलाई सधै स्मरण गराउनुपर्छ कि हामीले यस्तो इतिहासलाई कहिल्यै दोहोर्याउनुहुँदैन ।’
सिसिलिया दिदीले मलाई हेर्नुभयो र भावुक हुँदै भन्नुभयो, ‘यो यात्रा केवल ऐतिहासिक स्थलको भ्रमण थिएन, यो मानवताको गहिराइमा पुगेर पीडा र करुणालाई महसुस गर्ने यात्रा थियो ।’ मैले टाउको हल्लाउँदै मौन स्वीकृति दिए ।
डाखाउ कन्सन्ट्रेसन क्याम्पको यात्रा हाम्रो लागि मात्र इतिहासको झलक थिएन, यो हामी सबैको आत्मालाई झकझक्याउने अनुभव थियो । हरेक पर्खाल, हरेक कोठा, र हरेक पीडाले हामीलाई मानवताको मूल्य सम्झायो । यो यात्रा हाम्रो लागि एउटा गहिरो पाठ थियो—करुणा र सहानुभूतिलाई जीवनमा कति महत्वपूर्ण ठान्नुपर्छ भन्ने कुरा बुझाउन ।
प्रस्तुतकर्ता
उदय कुमार मल्लिक (मन्जुदित)
(यो यात्रामा भैरहवाको प्रिन्सिपल सरहरु ः
उदय कुमार मल्लिक, राजकुमार गुरुङ्ग, विष्णु प्रसाद पन्थी, महेश भुर्तेल, गम्भिर गुरुङ्ग, गोकुल पोखरेल, मनोज कुमार यादव र दिपेश भट्टराई सरहरु हुनुहुन्थ्यो भने काठमाडौंबाट प्रिन्सिपल सरहरु :
मनोज कुमार श्रेष्ठ, हिक्मत दाहाल, डम्बर कार्की, राजेन्द्र ढकाल, विनोद ढकाल, विनोद श्रेष्ठ, शित्तल श्रेष्ठ, हिरा महर्जन सरहरु हुनुहुन्थ्यो । र सबैभन्दा माथि हाम्री पथप्रदर्शक सिसिलिया दिदी (दक्षिण कोरिया) हुनुहुन्थ्यो ।
धन्यवाद
सिसिलिया दिदी, गम्भिर गुरुङ्ग सर, राजकुमार गुरुङ्ग सर लगायत सबै सरहरु, मेरो परिवारका सबै सदस्यहरु र सबैभन्दा धेरै सामूहिक विद्यालय परिवार, रुपन्देही
सामूहिक विद्यालय परिवार, रुपन्देही
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij