२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

छठ पर्वले सामाजिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री आचार्य

बिहिवार , कार्तिक २२, २०८१

  • 739
    Shares
  • 739
    Shares
  • दाङ, २२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक र साँस्कृतिक एकता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । छठ पर्व–२०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धर्म–संस्कृति, रीतिरिवाज तथा चाडपर्वले आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको बताएका हुन् ।

    लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिहरुको संरक्षण, सम्बर्द्धन लागि योजना निर्माण गरेर कार्यान्वयनमा लगेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको लक्ष्य पुरा गर्न प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् । 

    मौलिक चाडपर्वहरुले आपसी सद्भाव थप सुदृढ पार्न सहयोग गर्दै आइरहेको समेत उनले उल्लेख गरेका छन् । ‘यस पर्वले समाजमा सामाजिक र साँस्कृतिक एकता बलियो बनाउन मद्दत गरेको छ । साथै धार्मिक विविधता र सहिष्णुताको भावनाको समेत विकास गर्न मद्दत गर्दै आएको छ । समानता र सामाजिक न्यायको लागि पनि यस पर्वले सन्देश प्रवाह गर्दै आइरहेको हुदा सोही अनुसारको व्यवहार प्रदर्शन गर्न जरुरी छ’शुभकामना सन्देशमा भनिएको छ,‘संविधानले पनि सबैप्रकारको विभेदको अन्त्य गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक एकताले समाज विकास गर्न सकिने कुरा स्पष्ट छ ।’ 

    त्यस्तै मुख्यमन्त्री आचार्यले प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिएका छन् ।

    भेदभाव बिना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ ।

    परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकिर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । 

    सूर्य देवता र छठी माताको पूजा अर्चना यो पर्वको मुख्य विशेषता हो । खास गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।