२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रविधिमैत्री बन्दै सिद्धार्थनगर नगरपालिका

सोमवार , मंसिर २४, २०८१

भैरहवा, २४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नागरिकको सेवा प्रवाहलाई सहज बनाउन पछिल्ला दिनहरुमा नगरपालिकाले प्रविधिको प्रयोगलाई बढाएको छ । नगरपालिकाले क्यूआर कोडमार्फत राजस्व भुक्तानी सुरु गरेको छ । त्यस्तै फोहोरमैला संकलन गर्ने ट्याक्टरहरुमा जिबीएस जडान गरी कहाँ छन् भन्ने पत्ता लगाउन सकिने व्यवस्था मिलाएको छ ।

यसबाट फोहोरमैला संकलन गर्ने ट्याक्टरहरु कहाँ र कुन अवस्थामा छन भन्ने पत्ता लगाउन सकिनेछ । सोहीअनुसार आफ्नो क्षेत्रमा रहेका ट्याक्टरको लोकेसन पत्ता लगाइ फोहोर पठाउन सकिनेछ । यसको लागि आफ्नो मोबाइलमा लुना जिपीएस डाउनलोड गरी सहजै सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नगरपालिकाको नीतिअनुरुप क्यूआर कोडमार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाएको हो ।
नगरपालिका कार्यालयको अन्र्तगत राजस्व प्रशासन शाखा, घर नक्सा शाखा र वडा कार्यालयहरुमा बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुहरु क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ । 

नगरपालिकालाई प्रविधिमैत्री बनाउने आफ्नो प्रतिवद्धता अनुसार नविनतम प्रविधिलाई अधिकतम प्रयोगमा ल्याउने कोशिस भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले बताए । उनले यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरुप क्यूआर कोडमार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल मितव्ययी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तीय जोखिम न्यूनीकरण गर्नका लागि र नगरपालिकाको नीति अनुरुप क्यूआर कोडमार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको बताए । 

नगरपालिकाको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्नेमा रकम अनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्यूआर कोडमा सोझै रकम भुक्तानी गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आग्रह गरेको छ ।