
बुधवार , मंसिर २६, २०८१
भैरहवा, २६ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखिएका अटो, टेम्पो तथा ई–रिक्सा (तीनपांग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ । सम्पूर्ण सरोकारवालाहरुको सर्वपक्षीय छलफलबाट बिनादर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो, टेम्पो तथा ई–रिक्सालाई व्यवस्थित गर्न नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापदण्ड अनुसार सिद्धार्थनगरमा बढीमा ५ सय अटो तथा ई–रिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ ।
त्यसको लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई–रिक्सा दर्ता गराएको छ । अब दर्ता भएका ई–रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनको लागि नियमन सुरु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभियान सुरु गरिएको हो । यसका लागि नगरपालिकाले हालै मात्र भर्ना गरेका नगर प्रहरीलाई खटाएको छ ।
बुधबारदेखि एक हप्तासम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारवाही प्रक्रियामा अगाडी बढाइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । दर्ता भए–नभएको सजिलै छुटयाउनको लागि नगरपालिकामा दर्ता भएका ई–रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत वितरण गरिएको छ ।
नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफिक व्यवस्थापन गर्ने, नगरलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागू गर्ने उदेश्यका साथ ई–रिक्साको नियमन सुरु गरिएको बताए । ‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यका साथ हामी अगाडी बढेका छैनौ । यसमा सबैको सहयोगको पनि आवश्यक छ,’ उनले भने ।
नगर उपप्रमुख उमा अधिकारीले ई–रिक्सा व्यवस्थापनका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै लागिपरेको र अहिले यो अभियान सफलताउन्मुख भएको बताइन् । उनले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ई–रिक्सा चलाउन सम्बन्धित सवारीधनीहरुलाई आग्रह समेत गरीन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले अटो, टेम्पो तथा ई–रिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्यनमा लगिने भएकाले मापदण्ड पूरा गरेर मात्र तीनपांग्रे सवारीसाधन चलाउन आग्रह गरिन् । नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बीमालाई अनिवार्य गरिएको छ ।
गैरनेपाली नागरिक र बिनादर्ताका अटो, टेम्पो तथा ई–रिक्सा सञ्चालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्डअनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्री सडकमा सञ्चालन गर्नुपर्ने, रुट इजाजत लिनुपर्ने, यात्रुसँग निर्धारित भाडा मात्र लिनुपर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनुपर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारीसाधनको अग्रभागमा राख्नुपर्ने लगायतका मापदण्ड छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij