
आइतवार , पौष ७, २०८१
भैरहवा, ७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाएको छ । जिल्लाको सदरमुकाम समेत रहेको भैरहवामा गत वैशाखदेखि फ्री वाईफाई जोन बनाइएको हो । नगरपालिकाले स्थलमार्ग हुँदै धेरै पर्यटकको आवागमन हुने बेलहिया नाका, सिद्धार्थ बसपार्क, देवकोटाचोक, मिलनचोक र बुद्धचोक गरी हाल पाँच स्थानमा फ्री वाईफाई जोन बनाएको हो ।
नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले आफ्नो चुनावी घोषणा एवं प्रतिवद्धता अनुरुप नगरका मुख्य भागलाई फ्री वाईफाई जोन बनाएको जानकारी दिए । उनले अहिलेको प्रविधिको युगमा नभइ नहुने ईन्टरनेट सेवा सबैलाई सहज होस् भनेर नगरका विभिन्न स्थानमा फ्री वाईफाई सेवा जडान गरिएको बताए ।
नगरबासी, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देश–विदेशका सूचना समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाईटबाट प्रवाह गरिने अनलाईन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरुमा छिटोछरितो तथा सजिलै पहुँच हुने उदेश्यका साथ फ्रि वाईफाई जडान गरिएको उनको भनाइ छ ।
अहिले भैरहवाका पाँच स्थानमा फ्रि वाईफाई सेवा सुचारु गरिएको बताउँदै उनले आवश्यकता भएका स्थानमा आगामी दिनमा समेत विस्तार गर्दै लैजाने बताए । नगरपालिकाका सूचना प्रविधि अधिकृत तपन पाण्डेयले इन्टरनेट सेवा हरेक व्यक्तिले प्रतिदिन एक घण्टा प्रयोग गर्न पाउने बताउँदै यसले अनावश्यक रुपमा इन्टरनेटको प्रयोग रोकिने बताए ।
बढी समय इन्टरनेट सेवा प्रवाह गर्दा धेरै युवाले कामकाज छोडेर दिनभरी यसको प्रयोग गर्न थाल्ने सम्भावनालाई मध्यनजर गरी यस्तो गर्न लागिएको उनले बताए । यसबाट सकारात्मक प्रतिक्रिया समेत आएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij