images

शनिवार, बैशाख २२ गते २०८१

सारंगीमा जीवन सजाउँदै हेमलाल 

सारंगीमा जीवन सजाउँदै हेमलाल 

images
images
images
सोमवार, चैत्र २ २०७७
सोमवार, चैत्र २ २०७७
  • सारंगीमा जीवन सजाउँदै हेमलाल 

    भैरहवा २ चैत्र। रुपन्देहीको कञ्चन ४ गरगरेका हेमलाल गन्धर्व बिहान ६ बजे घरबाट निस्कन्छन्। एउटा हातमा सारंगी र अर्को हातमा झोला बोकेर घरबाट निस्कने गन्धर्वको दिनचर्या सारंगी बजाएर बित्ने गरेको छ।

    images
    images
    images

    घरबाट निस्कीएपछि उनी विभिन्न टोलमा पुग्ने गर्दछन्। सारंगीको तालमा देशभित्र र बाहिर घटेका घटनालाई मार्मिक तरिकाले सुनाउने उनको जीवन गाथा पनि अरु कसैका लागि भने उस्तै कथा बन्न सक्छ।

    बिहान ११ बजेतिर पत्रकारको घर आइपुगेका गन्धर्व दाइ आँगनको चिसो भुइँमा बसेर सारंगी रेट्दै थिए। भुईमा बसेर सारंगी रेट्दै गरेका ती गन्धर्व दाईले सोधे, ‘हजुर मैले त यसरी नै सारंगी रेटेर जीविकोपार्जन गर्दै आएको छु, यहाँ पनि एकछिन बजाउन मिल्ला कि नाई? उनको पुरै प्रश्न आई नसक्दै मैले भने मिल्छ नि अंकल बजाउनुस्। सानैदेखि प्रत्यक्ष रुपमा सारंगी रेटेको सुन्ने इच्छा भएको मलाई आफ्नै आँगनमा सारंगी दाई आउँदा म निकै खुशी थिए।

    चिसो भुइँमा बसेको देखेर मेरी आमाले उनलाई कुर्सी ल्याएर दिनुभयो। उनी कुर्सीमा बस्दै भने हजुरहरु त कति जाति हुनुहुँदो रहेछ, यहाँ त कति मान्छेले छिःछिः र दुरदुर गर्छन्, तपाईहरु त मनकारी हुनुहँुदो रहेछ। उनले आफ्नो केही समयको बसाईमा सुरुमा देशभित्रका केही प्रतिनिधिमुलक घटना सुनाए। सुरुमा चितवनको घटनाको बारेमा गाना सुनाए।

    आफ्नै बुवाले रक्सी खाएको झोकमा छोरीलाई चिर्पट दाउराले हानेर मारेको घटनालाई निकै मार्मिक तरिकाले गीतमार्फत सुनाए। गन्धर्वहरुले विशेष गरी देश भित्रकै घटनालाई आफ्नै तरिकाले गीत बनाउने गर्दछन्, उनले भने हामीले जानकारी पाएका घटनालाई प्रहरीको स्वीकृतिमा घटना विवरण लिएर गीतमार्फत आफ्नो कला प्रस्तुत गर्ने गर्दछौं।

    अरुका गीत बनाउँदै हिड्ने ती गन्धर्व दाईको पनि आफ्नै कथा रहेछ। उनीसंग गाफिदै जाँदा उनले आफ्नो कथा यसरी सुनाए।
    रुपन्देहीको कञ्चन गाँउपालिका–४ गरगरेमा बस्दै आएका गन्धर्व विगत ३५ वर्षदेखि सारंगी बजाउँदै आएका छन्। उनले सारंगी बजाएरै आफ््नो जीविकोपार्जन गर्दै आएका छन्। तर, सारंगी रेट्न लागेको ३५ वर्षमा थुप्रै खालका तिता पिरा कुरा सहनु परेको उनले बताए। सारंगी बजाउँदै पुग्दा कतिपय व्यक्तिले हात खुट्टा बलियो भएका यस्ता मान्छेले त काम गरेर खाए हुने थियो नी किन सारंगी बनाउनु परेको भन्दै गाली गर्ने गर्छन, उनी गुनासो गर्दै भने, ‘मैले त मेरो पेशा गरेको हो, संस्कृति बचाएको हो, मैले कसैको केही बिगारेको छैन्।’

    तपाई यसरी सारंगी रेट्दै हिंडेर तपाईको जीविकोपार्जन चलेको छ त भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म खान, बस्न, बालबच्चालाई विद्यालयमा पढाउन पुगेको छ, म यसमै खुशी छु। पुस्तौपुस्तादेखि गर्दै आएको पेशा भएर हो की योबाहेक अरु केही गर्ने सोच कहिल्यै आएन, मलाई यसरी सारंगी बजाउँदै हिड्न निकै रमाइलो लाग्छ उनले भने। अहिले हाम्रो समुदायका युवाहरुले सारंगी बजाउन छाडेका छन्, कोही विदेश गएका छन् भने कसैले ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने गरेका छन्, तर आफ्नो पेशालाई अगाल्न छाडे। यही अवस्था कायम रहे अबको केही दशकभित्र सारंगी बजाउने मान्छे र सारङगीको धुन कस्ता हुन्छ भनेर खोज्नुपर्ने हुन्छ। उनले भने, ‘यो संस्कृति बचाउनका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने हुन्छ। उनले आफुले सारंगी बजाएर कमाएको पैसाबाट जीविकोपार्जन गर्दा आफुलाई कुनै हिनताबोध नभइ संस्कृति बचाउन पाएकोमा गर्व लाग्ने गरेको बताए।

    कतिपयले सारंगी बजाउन पुग्दा गालीगलौज गरे पनि कतिपयले भने निकै सम्मान गर्ने गरेको उनले बताए। ‘सारंगी बजाउन पुग्दा कतिपयले त संस्कृतिको संरक्षण गरेको भन्दै निकै प्रशंसा गर्नुहुन्छ उनले भने, उहाँहरुको प्रशंसाले थप हौसला प्रदान गर्दछ।
    उनले दिनमा सारंगी बजाउदै २० देखि ३० वटा घरमा पुग्ने गरेको बताए। २०/३० घरमा पुग्दा १०/१५ घरमा मात्रै सारंगी बजाउने गरेको र त्यसबाट १ हजार ५ सय रुपैयाँदेखि २ हजारसम्म कमाउने गरेको उनको भनाई छ। 

    सारंगी बजाउने क्रममा उनी देशका १५/२० बटा जिल्ला पुगेको बताए। उनले कतिपय स्थानमा त हाम्रो धुन सन्नका लागि मान्छेहरुको भिडभाड नै लाग्ने गरेको बताए। आजकल त सारंगी बजाउने गन्धर्वहरुको कमी भएर हो की पहिला भन्दा मान्छेहरुले बढी रुचाउन थालेको अनुभुति भएको छ उनले भने। यसले आफुलाई खुसी तुल्याउछ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij