२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८१ खनाललाई

सोमवार , फाल्गुण १२, २०८१

भैरहवा, १२ फागुन । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल पत्रकार महासंघ रुपन्देहीसँग सहकार्य गरेर स्थापना गरेको शाइन आर्थिक पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् । एभिन्यूज टेलिभिजनका लुम्बिनी प्रदेश प्रमुख एवं बिजनेश खबर पत्रिकाका सम्पादक खनाललाई ५० हजार १ सय ११ रुपैयाँ राशीको शाइन आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आइतबार तिलोत्तमाको मणिग्राममा आयोजित समारोहमा बैंकका अध्यक्ष थानेश्वर पौडेल तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खनाललाई पुरस्कार प्रदान गरेका हुन् ।

अर्थशास्त्र विषयका प्राध्यापक डा.बाबुराम ज्ञवाली संयोजक रहेको छनोट समितिको सिफारिसको आधारमा महासंघले खनाललाई पुरस्कार प्रदान गर्ने निर्णय यसअघि गरेको थियो । पुरस्कृत भएपछि बोल्दै पत्रकार खनालले यो पुरस्कारले आफूलाई आर्थिक क्षेत्रमा कलम चलाउन थप ऊर्जा मिलेको बताए । यतिबेला आर्थिक क्षेत्र समस्यामा परेको भन्दै उनले यसका लागि सबै क्षेत्रले मिलेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्नेतर्फ पहल र प्रयन्त गर्नुपर्ने उनले सुझाव दिए । बैंकले १७ औं वार्षिकोत्सव अवसरमा यसवर्ष उत्कृष्ट शाखाको रुपमा कतरनिया शाखा बर्दिया, सूर्यपुरा शाखा रुपन्देही, खैरेनी शाखा गुल्मी, बिजुवार शाखा प्युठान र योगीकुटी शाखा रुपन्देहीलाई वेस्ट म्यानेज्ड ब्रान्च अवार्डबाट सम्मान गरेको छ ।

बैंक १७ औं वर्षमा प्रवेश

काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. १७ औ वर्षमा प्रवेश गरेको छ । बंैकको अधिकृत पूँजी ८ अर्ब, जारी पूँजी ४ अर्ब ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । २०८१ पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको छ । कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको छ ।

जसमा व्यापार कर्जा १८ दशमलव ९१ प्रतिशत, कृषि कर्जा ५ दशमलव ९१ प्रतिशत, आवास निर्माण कर्जा ३ दशमलव ८२ प्रतिशत, विपन्न वर्ग कर्जा ५ दशमलव ८९ प्रतिशत, जग्गा खरिद कर्जा ४ दशमलव ९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६ दशमलव ८५ प्रतिशत, उद्योग कर्जा १४ दशमलव २१ प्रतिशत, उपभोग्य कर्जा २० दशमलव ३५ प्रतिशत, हायरपर्चेज कर्जा १ दशमलव ४८ प्रतिशत रहेको छ । अस्पताल, शिक्षा आदिमा ६ दशमलव ५५ प्रतिशत र अन्य कर्जा १ दशमलव ८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्षमा २०८०/०८१ मा ब्याजदर, पारिश्रमिक करलगायत अन्य शीर्षकमा गरी श्रोतमा करकट्टीतर्फ ३५ करोड ५७ लाख ८० हजार, आयकरतर्फ ३७ करोड ६ लाख ६६ हजार गरी कुल ७२ करोड ६४ लाख ४६ हजार रुपैयाँ सरकारी कोषमा जम्मा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/०८१ मा इन्डियन च्याम्बर अफ कमर्सबाट आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्डमा वेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, वेस्ट पर्फमेन्स अन ग्रोथ र वेस्ट बैंक शीर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो ।

त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा नेशनल वेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यू बिजनेस एज प्रा.लि. बाट वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ बाट सम्मानित भएको थियो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गर्ने, कर्जाको गुणस्तरमा विशेष ध्यान दिइ ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्ने, डिजिटल कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउँदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्यसहित अघि बढेको बताए ।

प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौंबाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको यो विकास बैंकलाई धेरैभन्दा धेरै सेवाग्राहीको बैंक बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले बैंक सुशासन, स्पष्ट भिजन र दिशासहित अघि बढेको बताउँदै वित्तीय अनुशासनको पाटोलाई बैंकले मुख्य जोड दिएको बताए । विगतमा सबै सरोकारवाला क्षेत्र आर्थिक अनुशासनमा नरहँदा त्यसको असर

बैंक ब्याजदरमा परेको स्मरण गर्दै पौडेलले बैंकिङ क्षेत्रमा अनुशासन जरुरी रहेको उल्लेख गरे । उनले डिजिटल बैंकिङ तथा युवा उद्यमशीलता कार्यक्रमका कारण युवा पुस्तामाझ बैंक लोकप्रिय बनेको उल्लेख गरे।