२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

सिद्धार्थ उद्योग वाणिज्य संघका ७० वर्ष : मंगलशेनदेखि ठाकुरकुमारसम्म

शुक्रवार , फाल्गुण २३, २०८१

भैरहवा। २०२० को दशकसम्म भैरहवा एउटा गाउँ थियो। ५० वर्षको अन्तरालमा त्यही गाउँ आज शहरको रुपमा कायापलट मात्र भएन, औद्योगिक र व्यापारिक हब बनेको छ।

एउटा समय थियो, भैरहवा भन्सारले चामल, तोरी निर्यात गर्ने नाकाको रुपमा ख्याति कमाएको थियो। मैत्रीपथस्थित कृष्ण मन्दिरको छेउमा पक्लिहवा भन्सार नाका थियो। आज जस्तो व्यापारिक रुपमा स्थापित नभएपनि २० को दशक अगाडि पनि भैरहवामा कपडाको व्यापार हुने गर्थ्यो।

०२२ सालमा भैरहवा (बेलहिया)–पोखरा सिद्धार्थ राजमार्गको निर्माण भएपछि भैरहवाको आर्थिक विकासको द्वार खुल्यो। सिद्धार्थ राजमार्ग सुनौली-पोखरा राजमार्गको नामबाट परिचित थियो। यो राजमार्ग निर्माण हुनु अगाडिसम्म रुपन्देहीको बुटवल खासगरी गल्ला र घ्यूको कारोबारमा व्यापारिक हब थियो। उतिबेला रुपन्देही र कपिलवस्तुका किसान तथा व्यापारीहरु बुटवलमा चामल बिक्री गर्न लैजान्थे।

सिद्धार्थ राजमार्ग सञ्चालनमा आएपछि गल्लाको कारोबार भैरहवामा पनि सुरु भयो। विस्तारै बुटवलको बजार भैरहवामा सर्दै आयो। पछि भैरहवा झनै चम्किदै गयो।

पञ्चायतकालमा दरबारसँग निकट रहेका मैत्रीदेव पाठकले काठमाडौंबाट भैरहवा आएर उद्योग खोल्न ४० बिघा जमिन किने। नवलपरासी, रूपन्देही, कपिलवस्तु र सीमावर्ती भारतीय क्षेत्रमा समेत ठूलो परिमाणमा लगाइने उखु खेती देखेर उनले चिनी र मदिरा उद्योग खोलेका थिए।

महेन्द्र सुगर मिल एन्ड जनरल इन्डस्ट्रिज नाममा २०२२ सालमा खोलिएको यो उद्योगले भैरहवालाई औद्योगिक सहरमा रुपान्तरण गर्न मदत पुर्‍यायो।

२०२० कै दशकमा चामल मिल, छाला, फोम, रबर, भाँडावर्तन बनाउनेलगायत उद्योग पनि क्रमशः खुल्न थाले । उद्योग स्थापना हुने लहर सुरु भएपछि तत्कालीन नगर पञ्चायतले २०३३ मा हालको गल्लामण्डीदेखि एयरपोर्टबीचको क्षेत्रलाई ‘उद्योगपुरी’ नामकरण गरेको थियो। सीमा क्षेत्रबाट नजिक र सामान ओसारपसारका लागि सहज बन्दै गएपछि अन्य क्षेत्रमा उद्योग र व्यापार क्षेत्रमा सक्रिय उद्योगी र व्यवसायी भैरहवा आउन थाले।

इलाम र झापामा राइस मिल र काठ चिर्ने समिललगायत उद्योगमा सीमित पञ्चकन्या ग्रुप अफ इन्डस्ट्रिजका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ उद्योग विस्तार गर्ने क्रममा झापाको शनिश्चरेबाट भैरहवा आइपुगे। पञ्चकन्या ग्रुपले २०३८ मा भैरहवादेखि उत्तर कोटिहवास्थित सिद्धार्थ राजमार्ग किनारमा पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज स्थापना गरी खानेपानी पाइप र २०४० मा पञ्चकन्या आइरन इन्डस्ट्रिज स्थापना गरेर छड उत्पादन थाल्यो। 

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अनुसार तीन दशकअघिसम्म यस क्षेत्रका एकाध ठूला उद्योगबाहेक अधिकांश खाद्यान्नमा आधारित थिए । अहिले ठूला र अत्याधुनिक प्रविधिका सिमेन्ट र छड उद्योगका अलावा खाद्यान्न, चाउचाउ, औषधि, बिस्कुट, डायपर, जुत्ता–चप्पल, प्रशोधित पानी, कुखुराको दाना, प्लाइउड, फोम (गद्दा), जुस, कागज, दाल, मैदा, इँटा, मदिरा तथा बियर, अटो मोबाइल्स, टायल उद्योगको स्थापना हुने क्रम बढ्दो छ । नेपालमा हाल सञ्चालित सिमेन्ट उद्योगमध्ये धेरै उद्योग भैरहवा र यस आसपासका कपिलवस्तु र नवलपरासीमा छन्।

भैरहवा–बुटवल औद्योगिक करिडोर, भैरहवा–लुम्बिनी करिडोर, भैरहवा–परासी करिडोर र विशेष आर्थिक क्षेत्रमा उद्योगहरू सञ्चालनमा छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार यस क्षेत्रमा पछिल्लो ५ वर्षमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ।

भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण होटल तथा पर्यटन क्षेत्रमा बढ्दो लगानी र लुम्बिनी आउनेजाने पर्यटकका कारण भैरहवा दिनप्रतिदिन आर्थिक हिसाबले थप चलायमान भइरहेको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघको जग

भैरहवामा २०११ सालमै भैरहवा व्यापार मण्डल स्थापना भएको थियो। यसको संस्थापक अध्यक्ष मंगल सेन शर्मा थिए। शर्मा वि.सं. २०११ देखि २०१२ सम्म अध्यक्ष बने। प्रारम्भिककालको १२ वर्ष यसको नेतृत्व क्रमशः नथमल अग्रवाल, केशरदेव वेरिवाल, गिरधारी लाल मित्तलले गरे। त्यसकै जगमा आज सिद्धार्थ उद्योग वाणिज्य संघ उभिएको छ।

यसका संस्थापकहरु केदारनाथ अग्रवाल, सुब्बा कृष्णमान शेरचन, रुद्र्विलाश तुलाचन, मथुराप्रसाद बजिमय, मोहनसिंह बिजुक्छे, तेजबहादुर शेरचन लगायत अन्य व्यवसायीहरू थिए। वि.सं. २०११ मा संस्थापक अध्यक्ष मंगलसेन शर्मादेखि २०८१ सम्मका अध्यक्ष ठाकुर कुमार श्रेष्ठसम्म आइपुग्दा ७० वर्ष पूरा भएको छ। 

फागुन २३ र २४ (शुक्रबार र शनिबार) यही इतिहास बोकेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन चलिरहेको छ ।

लामो इतिहास बोकेको संस्थाको नेतृत्व गर्न पाएकोमा उनी आफुलाई गौरव ठान्छन्। 'अग्रजहरुले स्थापना गरेको यो संस्थाको अंश हुन पाएँ, यसको अध्यक्षका रुपमा संस्थागत विकासमा योगदान दिन पाएँ, उनी भन्छन्-यो संस्थालाई यहाँसम्म ल्याउने सबै अग्रजहरुप्रति सम्मान व्यक्त गर्दछु।'

सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा महासंघका लुम्बनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बजारलाई चलायमान बनाउने गरी सरकारले काम गर्नु पर्ने बताए । नीजि क्षेत्र जिवनमै चिन्तत र कमजोर अबस्थमा रहेको छ, अध्यक्ष शर्माले भने उद्येग व्यवसायलाइ उठाउने गरी सरकारको साथ चाहिएको छ ।

शुक्रबार ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनको संघीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले उद्घाटन गर्दै अप्ठयारो अबस्थामा रहेको उद्योग तथा व्यवसायलाई उठाउन सक्ने गरी सरकारले काम गरेको बताए।

उनले सरकारले नीजि क्षेत्रसंग सम्नवय गरेर मुलुकमा समृद्धी कायम गर्ने तर्फ लागेको बताए। मन्त्री खड्काले भैरहवा क्षेत्र औद्योगिक र व्यवसायिक क्षेत्र भएकाले यस क्षेत्रको बिकासका लागि सरकारले काम गरिरहेको बताए।

अध्यक्षसहित ६ पदाधिकारी निर्विरोध, वाणिज्य उपाध्यक्षसहित १८ पदमा निर्वाचन हुने, ३५ जना प्रतिष्पर्धामा

संघको आगामी कार्यकालका लागि नेतृत्व सर्वसम्मत चयन भइसकेको छ। फागुन १६ गते उम्मेदवारको मनोयनदर्ता कार्यक्रममा अध्यक्ष पदमा नेत्र प्रसाद आचार्यको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले बताए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दिलिप प्रसाद कान्दु, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल र उपाध्यक्ष (उद्योग) मा गोविन्द ज्ञवाली निर्विरोध रुपमा निर्वाचित भएका छन्। त्यसै गरी महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन्।

संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, उद्योग (महिला) सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल तथा उद्योग (महिला) सदस्यमा विष्णु माया शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्ष (वाणिज्य) मा एक पदका लागि ३ जनाबीच प्रतिष्पर्धा हुँदैछ। उक्त पदमा हरि बहादुर थापा, यमकला न्यौपाने र दिपक कुमार पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो। त्यस्तै सह–कोषाध्यक्ष पदमा पल्लवी न्यौपाने र संजय कुमार बेरीवालबीच प्रतिष्पर्धा हुँदैछ।

१ जना सदस्य महिला (वाणिज्य) सदस्यका लागि २ जनाबीच प्रतिष्पर्धा हुँदैछ । उक्त पदमा सुनयना के.सी. गिरी र मीना पन्थीबीच प्रतिष्पर्धा हुने भएको हो।

१० जना वाणिज्य सदस्यका लागि १९ जनाले र पाँचजना उद्योग सदस्यका लागि ९ जनाले प्रतिष्पर्धा गर्दैछन्। उद्योग सदस्यमा तेजेन्द्र यादव, विजय अधिकारी, दिपेन्द्र पौडेल, कमल ज्ञवाली, ओम जैशी, सृजना कार्की जोशी, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ र रचना क्षेत्रीबीच प्रतिष्पर्धा हुँदैछ।

त्यस्तै वाणिज्य सदस्यमा धर्मविर शर्मा, सुरेन्द्र यादव, प्रकाश रेग्मी, अभिनव मयूर कसौधन, विशाल जैसवाल, चन्द्रकान्त भट्टराई, पूजा आचार्य, हरिश सेठीया, यज्नय प्रसाद बेल्वासे, अर्जुन कार्की, गंगा सागर अग्रहरी, धर्मराज आचार्य, जवाहीर अग्रहरी, रमेश घिमिरे, सन्दीप कुमार अग्रहरी, रमेश कानु, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली र प्रमोद रिजालबीच प्रतिष्पर्धा हुँदैछ।