२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरका पूर्व मेयर राणालाई पितृशोक

मंगलवार , फाल्गुण २७, २०८१

भैरहवा, २७ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर), लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, श्री रण अम्बिका शाह आँखा अस्पतालका अध्यक्ष तथा नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष सागर प्रताप राणालाई पितृशोक परेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष राणाका पिता राणा प्रताप जंग बहादुर राणाको १०५ वर्षको उमेरमा आइतबार राती साढे ८ बजे बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको पार्टीको रुपन्देही जिल्ला प्रवक्ता दिलिप कुमार मल्लिकले बताए ।

नेपाली सेनाका सेवानिवृत्त सेनानी समेत रहेका राणाको सोमबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित स्वर्गद्वारी घाटमा दाहसंस्कार गरिएको छ । नेपाली सेनाले उनलाई सलामी दिएको थियो ।

रुपन्देहीको बेथरीमा जन्मिएका स्वर्गीय राणाका देवेन्द्रप्रताप, सागरप्रताप, सरोजप्रताप र संजीवप्रताप गरी चार छोरा र पाँच छोरी छन् । १ सय वर्षसम्म रोगमुक्त स्वर्गीय राणामा पछिल्लो समय मुटुसम्बन्धि समस्या देखिएको थियो ।