
मंगलवार , फाल्गुण २७, २०८१
बुटवल, २७ फागुन । लायन्स क्लब अफ बुटवल स्टार्सले कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित पिपरा अस्पताललाई थाइराइड रोग पहिचान गर्ने अत्याधुनिक मेसिन हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एक कार्यक्रमकाबीच ‘सेमिल्युमिनेसेन्स एनलाईजर’ मेसिन स्तान्तरण गरेको लायन्स बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले बताए । अध्यक्ष अर्यालको अनुसार मेसिन २५ लाखको लागतमा खरिद गरिएको हो ।
उपकरण हस्तान्तरण कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख (मेयर) चक्रपाणी अर्यालले अब थाइराइडसम्बन्धी समस्याहरूको पहिचान गर्न निजी अस्पताल र बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । अब स्थानीयस्तरमै थाईराईडको पहिचानसँगै उपचार गर्न सहज हुने उनले बताए । उनले पिपरा अस्पताल नगरकै गौरव भएकाले यस अस्पतालमा सेवा सुविधा वृद्धि गर्न नगर निरन्तर रुपमा लागेको बताए । उनले अझै पनि स्थानीय सरकारले ठोस रुपमा कार्य गर्ने नसकेको अवस्थामा सामाजिक त्रियाशील क्लबहरुले गरेका योगदान महत्वपूर्ण रहेको बताए ।
त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले स्टार्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दे आएको उच्च मूल्यांकन गरेको बताए । थाइराइड ग्रन्थीसम्बन्धी हाइपोथाइराइडिज्म र हाइपरथाइराइडिज्म जस्ता रोगको समयमै पहिचान हुन नसक्दा भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने भएकाले यो मेसिन बिरामीहरूका लागि महत्वपूर्ण सावित हुने उनको विश्वास छ ।
अस्पताल प्रमुख (मेडिकल सुपरीटेण्डेण्टड) डा.सरस्वती भट्टराईले यो नयाँ उपकरणको उपलब्धताले अब यस क्षेत्रका बिरामीहरूलाई टाढा जानु नपर्ने र पिपरा अस्पतालमै गुणस्तरीय सेवा उपलब्ध गराउन सहज हुने भन्दै खुशी व्यक्त गरिन् । ‘सेमिल्युमिनेसेन्स एनलाईजर( क्लिया मेसिन) चीनबाट ल्याइएको उपकरणले विश्वस्तरका ए ग्रेडका ल्याबहरुमा प्रयोग हँुदै आएको र १ घण्टामा ८० स्याम्पल टेष्ट गर्ने सकिने संयोजक मानबहादुर श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले अब केही दिनमै मेसिन सेट गरेपछि थाइराईडसम्बन्धि सेवा पिपरा अस्पतालबाटै हुने जानकारी दिए ।
कार्यक्रममा फस्ट भिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडिजि सन्दीप कसौधन, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, डिष्ट्रिक चिफ सुरेन्द्र घिमिरे, जोन चेरपर्सनद्वय एन्जिल खान र राम सौभाग्य थारु, लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष भगवती देवी भुसाल, लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरे लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij