२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मर्चवार निजी अंग्रेजी विद्यालय संघ रुपन्देहीको अध्यक्षमा पुनः सिंह

मंगलवार , फाल्गुण २७, २०८१

भैरहवा, २७ फागुन । मर्चवार निजी अंग्रेजी विद्यालय संघ रुपन्देहीको अध्यक्षमा पुनः जितेन्द्र कुमार सिंह चयन भएका छन् । संघको ८ औं अधिवेशनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा इन्सान अलि फकिर, सचिवमा सुखराम यादव, कोषाध्यक्षमा राजेश बरई, सह–सचिवमा सुदर्शन यादव र सह–कोषाध्यक्षमा सर्वेन्द्र मौर्य रहेको निर्वाचन समितिका संयोजक रामकेश धवलले बताए । त्यस्तै कार्यसमिति सदस्यमा बिनेश्वरी कोहार, विन्ध्याचल चौधरी र शिवनाथ यादव रहेको संयोजक धवलले जानकारी दिए । 

मर्चवार क्षेत्रका निजी अंग्रेजी विद्यालयहरुको साझा संस्थाको रुपमा वि.सं. २०६४ सालमा स्थापना भएको संघमा १९ वटा विद्यालयहरु आबद्ध रहेको अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए । विद्यालयको हकहितमा काम गर्नुका साथै शिक्षालाई गुणस्तरीय बनाउन संघले काम गर्दै आएको उनले बताए । आफूले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेसँगै अब अझ सशक्त रुपमा काम गर्ने उनको भनाइ छ । मर्चवारको विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीमा अन्तर विद्यालयस्तरीय खेल, हाजिरीजवाफ प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।

अधिवेशनको प्रमुख अतिथि स्वागत पुस्तक पसल भैरहवाका सञ्चालक बालकृष्ण बस्यालले निजी विद्यालयहरुको शिक्षाको विकासका लागि यो संस्थासँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले भने, ‘एउटा विद्यालयले अर्को विद्यालयसँग इश्र्या भन्दा गुणस्तरीय शिक्षा प्रदानको प्रतिष्पर्धाको भावना राख्नुपर्छ ।’ अन्तरविद्यालयस्तरीय प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभालाई थप बलियो बनाउने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन मायादेवी गाउँपालिकाका पूर्वअध्यक्ष भरत गिरीले निजी विद्यालयका शिक्षकहरुलाई नियमित रुपमा विषयगत तालिमलाई प्राथमिकताका दिए गुणस्तरीय शिक्षा प्रदान हुने बताए । 
उनले विद्यालयमा आइपर्ने समस्याहरुलाई समाधान गर्ने संगठनको धेरै आवश्यकता रहेको बताउँदै मर्चवारको रहेका निजी विद्यालय उक्त संघमा जोड्नुपर्ने आग्रह गरे । संघको स्थापनाकालको चर्चा गर्दै संघ गठनपछि विभिन्न विद्यालयमा गुणस्तरीय शिक्षासहित एकरुपता आएको उनले बताए ।  

संस्थाका सचिव सुखराम यादवको सञ्चालनमा भएको अधिवेशनमा रामधनी मौर्य, राजु खनाल, इन्द्रजीत यादव, मुकेश यादव, सुदर्शन यादवलगायतले मन्तव्य राखेका थिए ।