२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

यातायात मजदूरको हकहित संरक्षण, दुर्घटना न्यूनीकरण र स्वरोजगार बनाउन प्रशिक्षण

बुधवार , फाल्गुण २८, २०८१

बुटवल, २८ फागुन । यातायात मजदूरहरुको हकहित संरक्षण गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने र चालक तथा सह–चालकलाई स्वरोजगार समेत बनाउने उद्देश्यले आयोजित दुईदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय सवारी दुर्घटना बढिरहेको भन्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले सवारीचालक तथा सह–चालकहरूलाई प्रशिक्षण कार्यक्रम गरेको हो । प्रशिक्षणले यातायात मजदूरहरुलाई सहकारीमा आबद्ध गराई उनीहरुको र परिवारको हकहित संरक्षण, बढ्दो सवारी दुर्घटना न्यूनीकरण र यातायात मजदूरलाई स्वरोजगार, आत्मनिर्भर र सवारीधनी बनाउन मद्दत मिल्ने विश्वास गरिएको छ ।  

सडक प्रयोगकर्ता यात्रु, सवारीसाधनको अवस्था, भौगोलिक तथा सडकको अवस्था, छाडा चौपाया, मौसमको गडबडी लगायत सवारी दुर्घटनाका धेरै कारण हुने भए पनि चाबी चालकको हातमा हुने भएकोले जिम्मेवारी पनि चालककै धेरै हुने प्रशिक्षकहरुले बताएका छन् । सवारीधनी, यात्रु र चालकलाई सवारी सहजीकरण, यात्रुमैत्री र सुरक्षित यात्राका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको सुझाव दिदै दुर्घटना न्यूनीकरणमा चालक, परिचालक र सह–चालकको भूमिका महत्वपूर्ण हुने उनीहरुले बताए ।  

कार्यक्रममा प्रमुख प्रशिक्षक प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले अधिकांश सवारी दुर्घटना लापरवाहीकै कारण हुने गरेको बताए । चालक, सह–चालक, पैदलयात्रु, प्रहरी प्रशासन लगायत नियमनकारी निकाय, सरकार सबै सरोकारवाला पक्ष गम्भिर भएमा सवारी दुर्घटना न्यूनीकरण हुने दावी गर्दै डीएसपी न्यौपानेले हरेक दुर्घटनाको पछाडी कसै न कसैको लापरवाही हुने गरेको बताए । सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रशिक्षणले यातायात मजदूरहरुलाई स्वरोजगार बनाई क्रमशः सवारीधनी बनाउने लक्ष्य रहेको बताइएको छ । 

4.jpg

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कारको लागि समेत सवारीचालकको भरमा यात्रा गर्नुपर्ने भएकोले पेशालाई सम्मानित बनाइरहने दायित्व चालकहरूको हातमा रहेको बताए । मानव जीवनसँग प्रत्यक्ष जोडिएको पेशा भएकोले थप जिम्मेवार र गम्भिर हुनुपर्नेमा अध्यक्ष खरेलले जोड दिएका छन् । 

अध्यक्ष खरेलले प्रा.लि.ले चालक तथा मजदूरहरूको श्रमको सम्मान गर्ने सवालमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै चालकहरूकै आर्थिक सुरक्षाको लागि दुर्घटना बीमासँगै जीवन बीमाको योजना अगाडि सारिएको बताए । प्रा.लि.ले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समिति गठन गरी २०६६ सालदेखि नियमित रूपमा चालक सह–चालक केन्द्रित प्रशिक्षण सञ्चालन गर्दै आएको उनले बताए । 

आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समितिका संयोजक नारायण घिमिरेले १५ वर्षदेख नियमित रुपमा बसधनी, चालक, सह–चालकलाई प्रशिक्षण प्रदान गर्दै आइरहेको बताए । निरन्तर प्रशिक्षणका कारण प्रा.लि.मा आबद्ध सवारीसाधनहरूको दुर्घटना २५ प्रतिशतले न्यूनीकरण भएको उल्लेख गर्दै घिमिरेले यो अवधिमा ८ हजार ५ सय भन्दा बढी चालक तथा परिचालकलाई प्रशिक्षण दिइएको दावी गरे । 

3.jpg

घिमिरेले प्रा.लि.मा बोलाएर दिइने यसप्रकारको प्रशिक्षण सामान्य मानिए पनि यातायात मजदुरको हकहित संरक्षण र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका रहेको बताए । प्रा.लि.का सञ्चालक नारायण भण्डारीले यसप्रकारको सिकाइ निरन्तर हुने भन्दै स्वरोजगार चालक वा सवारीधनी बन्न प्रशिक्षण उपलब्धीमूलक हुने बताए । प्रा.लि.मा आबद्ध सवारीधनी, चालक, परिचालक, सह–चालकहरुलाई सहकारीमा पनि आबद्ध गराई सहकारीमार्फत २२ लाखसम्मको बीमा तथा राहतस्वरुप सहयोग रकमको व्यवस्था गरिएको छ । 

भण्डारीले भने–‘यसबाट उनीहरुको परिवारको विपत्तिको घडीमा सानो भए पनि मलहम लगाउने प्रयास गरिएको हो । साथै पालनपोषण र हकहित संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।’  
भण्डारीका अनुसार प्रा.लि.मा हाल २ हजार ५ सय बस दर्ता छन् भने करिब ८ हजार ५ सवारीधनी, चालक, परिचालक तथा सह–चालकहरु आबद्ध छन् ।