
बुधवार , फाल्गुण २८, २०८१
भैरहवा, २८ फागुन । वीर फाउण्डेशन नेपालकी अध्यक्ष विजया खत्रीले आफ्नो बुवाको वार्षिक पुण्यतिथिमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकी छन् । उनले बुधबार रुपन्देहीको एक र चितवनका चार गरी पाँचजना छात्रालाई जनही ३ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेकी हुन् । खत्रीले पाँचैजनालाई शैक्षिक सामग्री समेत वितरण गरेको बताइन् ।
‘मेरो बुवा स्वर्गीय वीर बहादुर खत्रीको नामबाट खोलिएको वीर फाउण्डेशन नेपालले समुदायमा रहेर काम गर्दै आएको छ । साथै बुवाको वार्षिक पुण्यतिथिमा प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएका छौं, ’उनले भनिन् । यस वर्ष स्नातक तहमा अध्ययनरत एक र प्लस टु मा अध्ययनरत चार जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको खत्रीले बताइन् । छात्रवृत्तिवापत उपलब्ध गराइएको रकम र शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् । आगामी वर्षमा पनि यो कार्यलाई निरन्तरता दिदै जाने उनको भनाइ छ ।
फाउण्डेशनले विभिन्न संघ–संस्था, स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै बालबालिका, महिला, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको उनले बताइन् । अध्यक्ष खत्रीका अनुसार वि.सं. २०८१ सालमा वीर फाउण्डेशन नेपालको स्थापना भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij