
बुधवार , चैत्र १२, २०८१
बुटवल। सन् २०२४ मा ८ हजार १ सय ५७ र सन् २०२५ मार्च २० सम्ममा १३ हजार १ सय ८१ यात्रुले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरे। विसं २०८१ कात्तिकदेखि नियमित उडान पुन: सञ्चालनमा आएदेखि यात्रुको संख्या बढ्दै थियो।
खराब मौसमका कारण विमान डाइभर्ट हुन थालेपछि विमान अवतरणलाई सहज बनाउन भू-उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स-अथोराइजेशन रिक्वार्ड’ (आरएनपी–एआर) अवतरण प्रणाली जडान भयो।
यसले विमानस्थलबाट हुने उडानलाई अरु व्यवस्थित गर्ने अपेक्षा थियो। तर, विदेशी विमान कम्पनीहरुको उडान तालिकामा यो विमानस्थल नियमित छैन। यसकारणविमानस्थल फेरि सुनसान हुने हो कि भन्ने चिन्ता छ।
अप्रिल १ पछि गौतमबुद्ध विमानस्थलमा उडान गर्न विमान कम्पनीले अनुमति लिएका छैनन्। अहिले उडान गरिरहेका जहाजले समर सेड्युल अर्थात अप्रिलदेखि अक्टोवरसम्म उडान गर्न नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नै लिएका छैनन्। त्यसैले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय कक्ष फेरि सुनसान हुने संकेत देखिएको छ।
नागरिक उड्ययन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको समर सेड्युलमा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्नेहरुको तालिकाका भैरहवाको लागि अहिले उडान गरिरहेका जजिरा, फ्लाई दुबई र थाइ एयर एशियाको उडान छैन।
नेपाल वायुसेवा निगमको काठमाडौं-क्वालालाम्पुर-भैरहवा-काठमाडौंको उडान मात्र कायम छ। तालिका भएपनि निगमको जहाज मलेशियाबाट भैरहवा नआएको लामो समय भएको छ। त्यसैले यो उडान पनि नियमित हुने सम्भावना न्युन छ।
कहिले बन्द, कहिले चल्छ भैरहवा विमानस्थल ?
दैनिक २१ घण्टा खुला हुने गरेको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नोभेम्बर ८ तारिखबाट दैनिक १४ घण्टा मात्र चल्न थाल्यो। ट्याक्सी वे मर्मतका लागि भन्दै विमानस्थल सञ्चालनको समय घटाएपछि त्यहाँ उडान भर्ने जहाज भैरहवा आउँछन् भन्ने अपेक्षा थियो। मर्मतको समयमाकाठमाडौंको उडान तालिकामा साप्ताहिक १२३ वटा अन्तर्राष्ट्रिय उडान कटौती गरिएको थियो।
२९ अन्तर्राष्ट्रिय विमान सेवाले अन्तर्राष्ट्रिय र सातवटा कम्पनीले आन्तरिक उडान गर्दै आएकोमा अन्तरराष्ट्रिय कम्पनी भैरहवा र पोखरा जान्छन् भन्ने अपेक्षा पूर्ण कार्यान्वयन भएन।
पाँच महिना चल्ने मर्मत तथा स्तरोन्नतिको मुख्य कामका कारण त्यस अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ गरेर दैनिक झन्डै एकतिहाइ उडान प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको थियो।ती उडान न भैरहवा आए न पोखरा।
गर्मी याममा एक सातामा ४१८ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका भएपनि नोभेम्बर दोस्रो सातादेखि काठमाडौंमा साप्ताहिक उडानको सङ्ख्या २९५ मा सीमित भयो।
यसअघिको उडानको चापलाई घट्न नदिनका लागि कटौती गरिएका साप्ताहिक १० दर्जनभन्दा बढ्ता उडान भैरहवा र पोखराबाट हुनुपर्ने भए पनि विमान कम्पनीहरूले त्यसको लाभ उठाएनन्।
काठमाडौं विमानस्थल मर्मतको समयमा भैरहवामा आकर्षण हुनसक्ने देखेर मन्त्री र सरकारी अधिकारीहरु हौसिएका थिए। हौसिएका मन्त्री र सरकारी अधिकारीले भैरहवा विमानस्थलले नयाँ स्वरुप लिएको बताए। तर अपेक्षाअनुसार उडान भएनन्। भैरहवामा भिसा सेन्टरदेखि स्वास्थ्य परीक्षणका कार्यालय स्थापना गर्ने भनेर साउनमै निर्णय भएपनि चैतसम्म स्थापना भएनन्। ती कार्यालय स्थापना गर्ने र भैरहवा विमानस्थल नियमित सञ्चालन गर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयन हुन सकेन।
प्रतिबद्धता धेरै काम थोरै
हरेक पटकका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री गौतमबुद्ध विमानस्थल आउँदा विमानस्थल नियमित रुपमा सञ्चालन हुने प्रतिबद्धता जनाउँछन्। तर यसको कार्यान्वयन पक्ष कमजोर छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले विमानस्थल नियमित सञ्चालन गर्नका लागि एक महिनामा २ दिन भैरहवा बस्न तयार रहेको बताएका थिए।
२०८१ मंसिर ८ मा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै भनेका थिए-‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु,संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्ने लागेको छ । मेची-महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ ।’
मन्त्री पाण्डेले लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टरको बनेको बताउँदै विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालय स्थापनाका लागि साउनमै निर्णय भएको पनि बताएका थिए।
उनले साउनमा निर्णय भएको बताएकै पनि ५ महिना भइसक्यो। न मन्त्री महिनामा २ पटक भैरहवा बस्न आएर विमानस्थलबारे छलफल चलाउने र नियमित गर्ने काम भयो न त श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालय स्थापना भए।
यसअघि २०७९ माघ २१ मा भैरहवामै कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल नियमित रुपमा सञ्चालन गर्न कसैले रोकेर नरोकिने बताएका थिए।
‘यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन। त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ। त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयनमा लगिनेछ’-उनले भनेका थिए-‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएका छन्,म उहाँहरुलाई भन्न चाहन्छु। विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ। र त्यसमा कसैको अवरोध हुनेछन्। क्षमताको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदैछ।’
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित पौडेलले भनेको यो कुरा पनि भाषणमै सीमित रह्यो।
२०८१ चैत ७ गते प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए।उनले विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको उल्लेख गरेका थिए।
उनले भनेका थिए-'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गर्दै कार्ययोजना बनाएको छ र कार्यान्वयन भइरहेको छ। यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।'
तर, प्रधानमन्त्री र मन्त्रीहरुले विमानस्थल सञ्चालनका लागि जोडबल दिइरहेको बताएपनि सरकारले भैरहवामा स्थापना गर्नुपर्ने अत्यावश्यक कार्यालयहरु स्थापना नगर्दा विमानस्थल सञ्चालनको दिगोपनाबारे विश्वासको वातावरण सिर्जना हुन सकेको छैन।
देशकै दोस्रो ठूलो विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो। यसको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ मा शिलान्यास भएको विमानस्थल निर्माणमा झन्डै आठ वर्ष लागेको थियो। २०७९ जेठ २ मा यसको उद्घाटन भएको थियो। उद्घाटन गरेकै दिन उडान थालेको जजिरा एअरलाइन्सले आठ महीनापछि पुस ६ मा विभिन्न कारण देखाउँदै रोकेको थियो। हिमालयन एअरलाइन्सले पनि उस्तै निर्णय गर्यो र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको केही समयमै रोक्यो। बीचमा ठप्प भएका अन्तरराष्ट्रिय उडान कात्तिकदेखि फेरि शुरु भएका थिए।
अन्तर्राष्ट्रिय उडान नियमित हुँदा लुम्बिनीसँगै कर्णाली, सुदूरपश्च्मि र गण्डकी प्रदेशका नागरिकलाई पनि सहज हुने अपेक्षा थियो। यो क्षेत्रका नागरिकले भैरहवाको विमानस्थल प्रयोग गर्दा लुम्बिनी प्रदेशकै अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको थियो।
चार वटा विदेशी कम्पनीजजिरा एयरवेज, फ्लाई दुबई, थाइ एयर एशिया र कतार एयरवेजका जहाज आउन थालेपछि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत कात्तिकदेखि गुल्जार देखिन थालेको थियो।
फेरि नियमित सञ्चालनमा अन्योल
चार वटा अन्तर्राष्ट्रिय विमानले उडान भर्दा उत्साह छाएको लुम्बिनी प्रदेशमा फेरि विमानस्थल सञ्चालनको नियमितताबारे अन्यौल बढ्दैछ। उडान तालिकामा भैरहवामा कुनै उडान नदेखेपछि विमानस्थल सञ्चालनको संसय छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा त आयो यसको दिगोपनाबारेका केही प्रश्न अनुत्तरित छन्।
पहिलो-भारतले रुट अनुमति नदिइ यो विमानस्थल कसरी सञ्चालन हुन्छ ? भारतसँग सरकारले रुट अनुमति माग गरेपनि भारतले यसमा वेवास्ता गर्दै आएको छ। जसका कारण भैरहवा आउने अन्तरराष्ट्रिय विमानहरु निजगढ भएरमात्रै नेपाल प्रवेश गर्छन्। यसमा हाललाई सरकारले विमान कम्पनीलाई केही छुट दिएपनि यो कहिलेसम्म दिने भन्ने यकिन छैन।
दोश्रो-विचौलिया र सरकारलाई प्रभावमा राखेका व्यवसायीले काठमाडौंको विजनेशलाई भैरहवा ल्याउन दिदैनन्। यसलाई चिरेर सरकारले कदम चाल्छर सरकारी संरचनाहरु कहिले भैरहवा ल्याउँछ?
यसर्थ, काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थल मर्मत गरुन्जेलका लागि मात्रै भैरहवाको विमानस्थल चलाइएको हो कि भन्ने शंका स्थानीयको छ। विमानस्थल कहिले सञ्चालन हुने त कहिले बन्द हुने गर्दा यहाँका उद्योगी व्यवसायीहरु चिन्तित छन्।
सरकारका प्रतिनिधिहरु हरेकपटक आएर विमानस्थल नियमित सञ्चालन हुने प्रतिवद्धता जनाउँछन्। तर यसको कार्यान्वयन पक्ष कमजोर रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन्।
उनले विमानस्थलमा सरकारले ४० अर्ब र निजी क्षेत्रले विमानस्थललाई हेरेर ८० अर्ब लगानी गरेपनि विमानस्थल सञ्चालनमा नआउँदा आफूहरु मर्कामा परेको बताए। 'सरकारको ४० अर्ब खर्च भयो, निजी क्षेत्रले त्यही विमानस्थलले विजनेश ल्याउँछ भन्ने विश्वासमा ८० अर्बजति लगानी यो क्षेत्रमा पर्यटन क्षेत्रमा लगानी गरेको छ, यो लगानी डुब्ने अवस्थामा पुगिसक्यो, तरपनि सरकारलाई चासो छैन'-उनी भन्छन्। उनले सरकारका मन्त्रीहरु पटकपटक आएर आशा देखाएर जाने र कार्यान्वयन नगर्ने गरेको बताउँछन्।
'राज्य उदासीन भयो, उहाँहरुलाई पटक पटक कार्यक्रममा ल्याइएको छ, नचल्ने भए किन आशावादी बनाउनुहुन्छभनेर भन्ने गरेका छौं, चल्ने भए चलाएर देखाउनुपर्यो, सरकारका अभिव्यक्तिलाई अब कसरी पत्याउने?'-उनी भन्छन्-यहाँबाट भारत र अरु देशहरुमा पनि उडान होला भन्ने आशा थियो अब त कुनै आशा छैन, लुम्बिनी प्रदेशकै अर्थतन्त्रमा संकट सिर्जना भयो।'
उनले सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडानका लागि भारतसँग रुट परमिटका बारेमा छलफल नै नगरेकोले पनि यस्तो समस्या आएको बताए।
पूर्वतयारी छैन, अन्तिममा हतारो
अप्रिलदेखि भैरहवाको उडान तालिकामा कुनैपनि उडान नभएपछि मन्त्रीदेखि सरकारी अधिकारीहरु फेरि आलोचना आइलाग्नेमा चिन्तित देखिन्छन्। उडान नियमित गर्ने गरी आवश्यक पहलकदमी र नीतिगत सुधार तथा संरचना स्थापनातर्फ चासो नदिने मन्त्री र अधिकारी अन्तिम समयमा छलफल गर्न थालेका छन्।
गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन सुनिश्चित गर्न भन्दै चैत ९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरोकारवालासँग छलफल गरे। छलफलमा पूरानै कुरामाथि छलफल भयो-भैरहवामा आवश्यक संरचना स्थापना गर्नेर नियमित सञ्चालनका लागि पहल गर्ने। पूर्वतयारी नगरी अन्तिममा गरिने हतारोले मन्त्री र सरकारी अधिकारीको सक्रियता त देखिएला तर व्यवहारिक पाटो भने अन्योलग्रस्त देखिन्छ।
विमानस्थलबाट नियमित उडानबारे पर्यटनमन्त्री बद्री पाण्डेको नेतृत्वमा छलफल गरी श्रम स्वीकृति, मेडिकल परीक्षण र भिसा सेन्टर स्थापनाका लागि जोड दिने निर्णय भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।
‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत पहल गरिरहेका छौं’-उनले भने,-‘विमानस्थल सञ्चालनको सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित गर्न विभिन्न प्रोत्साहन कार्यक्रम लागू गरिएका थिए।’
उनले समर सेड्युलमा उडान नभएपनि विमान नरोकिने गरी उडान गर्नका लागि अनुरोध गर्ने र उडान नरोकिने बताए। 'प्रयास भइरहेको छ, जहाँसम्म उडान रोकिदैनन्'-उनले भने-६-६ महिनाको अनुमति हुने भएकाले यस्तो भएको हो, हामी उडान रोकिदैन भन्नेमा छौं।'
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij