
मंगलवार , चैत्र २५, २०८१
भैरहवा, २६ चैत । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा भैरहवा नाका हुँदै १४ खर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबर मूल्यका सामान आयात भएको छ । आयातबाट भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले लक्ष्यको ५५ दशमलब २६ प्रतिशत राजस्व संकलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीका अनुसार भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले वार्षिक राजस्व संकलनको लागि १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ लक्ष्य तोकेको थियो । फागुन मसान्तसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ रेग्मीले जानकारी दिए ।
फागुनसम्मको असुली अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा १५ दशमलव ४४ प्रतिशतले बढी हो र अहिले मासिक औसतमा ८५ दशमलव ७० प्रतिशतका दरले राजस्व संकलन भइरहेको छ, रेग्मीले भने–‘अबका बाँकी महिनामा बाँकी लक्ष्य पूरा गर्ने प्रयासमा भन्सार प्रशासन लागेको छ ।’
भैरहवा भन्सार कार्यालयको लक्ष्य ८ महिनाको ७० अर्ब ४९ करोड ६१ लाख ४० हजार थियो । हालसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ । विगतका वर्षहरूको तुलनामा राजस्व संकलनमा धेरै सुधार भएको छ, ’रेग्मीले भने–‘समग्र देशका भन्सार राजस्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान अहिले सबैभन्दा अगाडि छ ।’
फागुन महिनामा सार्वजनिक बिदाहरु पनि अलि धेरै भएको र त्यसले गर्दा केही कम राजस्व संकलन हुन पुगेको उनले बताए । ‘नत्र यो आकडा अझै बढ्ने थियो, ’उनले भने–‘अब बाँकी ४ महिनामा लक्ष्य पूरा हुने गरी राजस्व संकलन हुने विश्वास छ ।’
कार्यालयले साउन महिनामा ७ अर्ब ३२ करोड ८१ लाख ८३ हजार (८३.५४ प्रतिशत), भदौमा ८ अर्ब ९२ करोड ७१ लाख ९१ हजार (९०.०४ प्रतिशत), असोजमा ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार (१००.३८ प्रतिशत), कार्तिकमा ७ अर्ब १२ करोड ९७ लाख ८३ हजार (८३.१७ प्रतिशत), मंसिरमा ६ अर्ब ९६ करोड ४३ लाख ४४ हजार (८२.१६ प्रतिशत), पुसमा ६ अर्ब ८६ करोड ६१ लाख ३४ हजार (८०.६३ प्रतिशत), माघमा ७ अर्ब १४ करोड ७६ लाख ७ हजार (८५.८१ प्रतिशत) र फागुनमा ७ अर्ब २३ करोड ४४ लाख १६ हजार रुपैयाँ (७९.२१ प्रतिशत) संकलन गरेको छ ।
भैरहवा नाका हुँदै आयात हुने सामानमा यो ८ महिनामा सबैभन्दा बढी राजस्व दुईपांग्रे सवारी (मोटरसाइकल) बाट प्राप्त भएको छ । मोटरसाइकलले कुल १० अर्ब ९३ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व बुझाएको छ ।
त्यसै गरी दोस्रो स्थानमा बढी राजस्व बुझाउनेमा इन्धनबाट चल्ने जीप, कार भ्यानहरू छन् । यी सवारी आयात हुँदा ६ अर्ब ३९ करोड ५८ लाख ४३ हजार रुपैयाँ राजस्व उठेको छ । त्यसै गरी तेस्रो स्थानमा पेट्रोल रहेको छ । पेट्रोल आयात हुँदा २ अर्ब ५१ करोड ९ लाख ३७ हजार रुपैयाँ राजस्व उठेको छ । त्यसपछि क्रमशः बढी राजस्व बुझाउने आयातित समानहरुमा चौथो स्थानमा विद्युतीय जीप, कार र भ्यानहरु, पाँचौमा शुद्ध फलाम (स्पन्ज र फ्रेस आइरन, छैठौंमा डबल क्याब पिकअप गाडी, सातौंमा मोबाइल टेलिफोन, आठौंमा चकलेट, नवौंमा एम.एस.विलेट र दशौंमा टाइल रहेका छन् ।
यी मुख्य १० वस्तु आयात हुँदा ८ महिनामा २८ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ८ महिनामा यो नाकाबाट कुल १४ खर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबर मूल्यका सामान आयात भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij