२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्लाइउडसँगै सिमेन्टको पनि निकासी सुचारु

बिहिवार , बैशाख ४, २०८२

भैरहवा, ४ वैशाख । नेपालबाट भारत निकासी हुने सिमेन्ट प्लाइउड, बोर्ड एवं प्लाइबाट बन्ने ढोकाले अनिवार्य रुपमा ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड (बीआईएस) गुणस्तर चिन्ह लिनुपर्ने भएपछि एक महिना भन्दा बढी समयदेखि भारततर्फ निकासी रोकिएका प्लाइउड, बोर्ड र प्लाईका ढोकासँगै ६ महिनादेखि रोकिएको अर्घाखाँची सिमेन्टको निकासी समेत सुचारु भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी २०८१ चैतमा थाइल्याण्डमा भएको वार्ताको एक दिन अघिबाटै निकासी सुचारु भएको हो । भारत निकासीमा गति लिदै गरेको सिमेन्ट प्लाइउडको निकासी रोकिएपछि अप्ठयारामा परेका उद्योगी अहिले खुसी भएका छन् । ‘हामीले भारतमा बनाएको बजार गुम्छ भन्ने डर थियो । तर, निकासी सुचारु भएपछि अब दु्रत गतिमा निकासी हुन्छ र सुरु भइसकेको छ, ’अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव बहादुर कार्कीले भने ।

भारतले निकासी भइरहेको सिमेन्टको ब्युरो अफ इन्डियन स्ट्याण्डर्ड (बीआईएस) गुणस्तर चिन्ह नविकरण नगर्दा र प्लाइउड एवं प्लाइका बाइप्रोडक्ट ब्युरो अफ इण्डियन स्ट्याण्डर्ड (बीआईएस) गुणस्तर चिन्ह नै नदिदा निकासी रोकिएको थियो । सिमेन्ट उद्योगको हकमा भने अहिले क्लिन्कर समेत उत्पादन गर्दै आइरहेका ठूला उद्योगहरूको मात्रै बीआईएस नवीकरण भएको छ । 
‘हामीहरूको अर्घाखाँची सिमेन्टलाई ६ महिनाको अवधिलाई मात्र नवीकरण गरिएको छ । ६ महिनापछि यस्तै समस्या पुनः आउन सक्छ, सहजै नवीकरण नहुन सक्छ, त्यसैले सरकारले अहिलेदेखि नै भारत निकासी हुने सिमेन्ट प्लाई लगायत अन्य वस्तुहरूको विषयमा नविकरण साथै सहज रुपमा निकासी र वैदेशिक व्यापारका लागी पहल चाल्नुपर्छ, ’महाप्रबन्धक कार्कीलेभने ।

भैरहवा नाका हुँदै अहिले अर्घाखाँची सिमेन्टको पुनः निकासी सुरु भएको हो भने सर्वोत्तम सिमेन्ट र होंसी सिमेन्टको नविकरण अवधि बाँकी रहेकाले निकासी रोकिएको थिएन । यी दुई सिमेन्ट उद्योगको पनि ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड (बीआईएस) नविकरण को समय अब केही महिना मात्र बाँकी छ । उता भैरहवा नाका हुँदै भारत निकासी हुँदै आएको श्याम प्लाईले ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड बीआईएस गुणस्तर चिन्ह प्राप्त गरेपछि निकासी सुचारु भएको श्याम प्लाई उद्योग रूपन्देहीका सञ्चालक विनय गोयलले बताए । अहिलेलाई एक वर्षको लागी बीआईएस प्राप्त भएको र भारत सरकार उद्योग विभागबाट उद्योगमा अनुगमन पश्चात बीआईएस चिन्ह प्राप्त भएको गोयलले बताए ।

भारतले गत वर्षदेखि नै प्लाइउड, लगायतका वस्तुको निकासीमा अवरोध गरेको थियो । तर, एक वर्षभित्र अनिवार्य रुपमा बीआईएस गुणस्तर चिन्ह प्राप्त गर्नुपर्ने शर्तसहित भारतले निकासी खोलेको थियो ।

एक वर्ष अघि भारतले २०२४ मार्च १ देखि कार्यान्वयनमा ल्याएको बीआईएस नीतिले गर्दा भारतमा निकासी रोकिएकोमा भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले राजपत्र प्रकाशन गर्दै आगामी एक वर्षसम्म नेपालबाट आयात हुने प्लाइउडका सामग्रीमा बीआईएस आदेश जारी नहुने उल्लेख गरेपछि प्लाइउड निकासी खुलेको थियो ।

भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयको राजपत्रअनुसार ठूला उद्योगका नाममा सन् २०२५ फेब्रुअरी २८ देखि मात्र गुणस्तर चिह्नसम्बन्धी आदेश लागू हुने र साना तथा मझौला उद्योगका हकमा २०२५ को मे २८ र लघु उद्योगका नाममा २०२५ अगस्ट २८ देखि आदेश लागू हुनेमा प्लाइ उद्योगलाई ठुला उद्योगका रुपमा लिदै फेब्रुअरी २८ (फागुन १६) बाट नै प्लाइ निकासी रोकिएको थियो ।

भैरहवा नाका हँुदै निकासी भइरहेका अन्य दुई प्लाई उद्योगहरु हिमालयन प्लाइ इण्डष्ट्रिज र सदीक्षा प्लाई उद्योगले भने बिआइएस पाएका छैनन् । बिआइएस प्रमाणपत्र आएपछि निकासी हुने आशमा ती उद्योग बसिरहेका छन् ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीका अनुसार भैरहवा भन्सार नाकाबाट आर्थिक वर्ष २०७९÷०० मा ३१ करोड ६ लाख ६३ हजार रुपैयाँ बराबरको ४१ हजार ९ सय ३ टन सिमेन्ट तथा ४० करोड ९१ रुपैयाँ बराबरको ६२ हजार ३ सय ५ टन क्लिन्कर भारत निर्यात भएको थियो । त्यसै गरी आर्थिक वर्ष २००÷०१ मा १ अर्ब ६५ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको २ लाख ३१ हजार ७ सय ८४ टन सिमेन्ट र १ अर्ब २० करोड २७ लाख ८९ हजार रुपैयाँ बराबरको २ लाख ८ सय ३० टन क्लिन्कर निर्यात भएको थियो ।

त्यसै गरी भैरहवा नाका हुँदै आर्थिक वर्ष २००÷०१ मा २८ करोड ४२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको प्लाइउड, बोर्ड र प्लाइका ढोका भारत निकासी भएको थियो । त्यसै गरी चालु आर्थिक वर्षको ८ महिनामा (निकासी रोकिनु अघिसम्म) यो नाका हँुदै ३३ करोड ३१ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको प्लाई एवं प्लाईजन्यवस्तु भारत निकासी भएको थियो ।

पहिला सिमेन्ट, क्लिन्कर तथा प्लाइउड भारतबाट पैठारी हुने गरेकोमा हाल  उद्योगी–व्यवसायीले भारत निकासी सुरु गरेपछि भारतबाट हुँदै आएको सिमेन्ट, प्लाई जस्ता वस्तुको आयात प्रतिस्थापन भएको छ । यसले व्यापार घाटा केही हदसम्म भए पनि कम भएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । ‘केही सिमेन्ट उद्योग र प्लाईको निकासी सुचारु भएको छ, सीमित अवधिका लागि भए पनि अब राज्यले आजैदेखि पहल गरी निरन्तर र दीर्घकालीन समयसम्मका लागी पहल गर्न जरुरी छ, ’अध्यक्ष आचार्यले भने ।

सरकारले सिमेन्ट प्लाइ निकासीमा अनुदान दिने कार्यक्रम ल्याएको र नेपालसँग जोडिएका भारतीय जिल्लाहरुमा नेपाली सिमेन्ट प्लाइउडले रामै्र बजार बनाएको नेपाल उद्योग वाणिज्य महासंघ लु्म्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । उनले लोकप्रिय बनेका कारण सिमेन्ट प्लाइ तथा प्लाइजन्य वस्तु भारत निकासी बढेको बताए । ‘हाम्रो प्रदेशको तीन मुख्य नाकाहरु भैरहवा, कृष्णनगर र नेपालगंजबाट निकासी हुने गरेको छ, निरन्तरता र सहज वैदेशिक व्यापारको लागि राज्य लागिरहनुपर्छ, ’उनले भने ।

भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय अन्तरगत उपभोक्ता मामिला विभागले प्रदान गर्ने बिआईएस सन् २०१६ मा स्थापना भइ १२ अक्टोबर २०१७ देखि कार्यान्वयनमा छ ।