२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

किन भयो सिद्धार्थनगर उत्कृष्ट नगरपालिका ?

बुधवार , बैशाख १७, २०८२

आर्थिक वर्ष २०८०/०८१ मा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उत्कृष्ट नगरपालिका घोषणा भयो । २०८१ चैत १० गते नेपाल नगरपालिका संघको ३२ औ स्थापना दिवसको अवसरमा काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नगरपालिका सम्मानित भएको हो ।

सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत जनक थापाको उपस्थितिमा नगरपालिकालाई सम्मानित गरिएको थियो । तर, नगरपालिका उत्कृष्ट भइरहँदा नगर क्षेत्रमा एउटा प्रश्न भने उठ्ने गरेको छ, कसरी भयो त सिद्धार्थनगर उत्कृष्ट ? 

नेपाल नगरपालिका संघले देशभरकै महानगर, उपमहानगर र नगरपालिकाहरुलाई अनलाइनमार्फत केही मापदण्डहरु पूरा गर्नका लागि विभिन्न शिर्षकमा अंकसहितको फाराम भर्नका लागि आहवान गरेको थियो । सिद्धार्थनगर नगरपालिकाले संस्थागत विकास, वित्तीय प्रवाह र सुशासन जम्मा पूर्णांक २०, स्थानीय आर्थिक विकासमा २०, सामाजिक विकासतर्फ २०, शहरी योजना र पूर्वाधार विकासतर्फ २० र वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन/उत्थानशिलतातर्फ २० गरी कुल १०० पूर्णांक रहेको थियो ।

जसमध्ये संस्थागत विकास, वित्तीय प्रवाह र सुशासनमा दिइएको शिर्षकमा १३, स्थानीय आर्थिक विकासमा १३, सामाजिक विकास ११, शहरी योजना र पूर्वाधार विकासतर्फ १८, वातावरण संरक्षण र विपद व्यवस्थापन/उत्थानशिलता ८ तोकेर नगरपालिकाले उक्त फारम भरेको थियो । यसरी कूल अंक १०० मध्ये ६३ अंकको शिर्षकमा काम भएको सिद्धार्थनगर नगरपालिकाले उल्लेख गरेको छ । यसरी हेर्दा सिद्धार्थनगरले सबैभन्दा बढी अंक प्राप्त शहरी योजना, पूर्वाधार विकास विपद् व्यवस्थापनको विधामा नेपालभरीकै उत्कृष्ट नगरपालिका भएको हो । 

WhatsApp Image 2025-04-30 at 10.41.34 AM.jpeg

शहरी योजना र पूर्वाधार विकासतर्फ सबैभन्दा बढी अंक पाउनुको कारण यस्तो

सिद्धार्थनगर नगरपालिकाले आवधिक कार्यायोजनाका एकीकृत शहरी विकास योजनाको आधारमा मात्र वार्षिक योजना तर्जूमा गरी कार्यान्वयन गर्ने गरेको छ । जसमा नगरपालिकाले २ अंक प्राप्त गरेको छ । प्रत्येक प्रश्नावलीमा तीनवटा विकल्पका प्रश्नहरु दिइएको थियो ।

पहिलोमा शून्य अंक, दोस्रोमा १ अंक र तेस्रोमा २ अंक राखिएको छ । त्यस्तै नक्सा पास गर्ने समयमा ई–बिडिङ परमिसनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइ मापदण्ड र संहिताको पूर्ण पालना भएकोमा २ अंक, नगर विकास योजना र दिगो विकासको लक्ष्य नीतिगत अन्तरसम्बन्ध रहेकोमा २ अंक, सडक यातायात गुरुयोजना अनुसार वार्षिक लक्ष्य निर्धारण गरी ८० प्रतिशत सडक निर्माण गरिएकाले २ अंक, ९० प्रतिशत भन्दा घरधुरीमा खानेपानीको सुविधा पुगेकाले २ अंक, सबै वडा कार्यालयहरुको आफ्नै भवनबाट लैगिंक, अपांगमैत्री, बालमैत्री वातावरणमैत्री भएकाले २ अंक, नगरपालिको आयोजनामा युवा लक्षित कार्यक्रम भएका २ अंक, अन्तरपालिका सहकार्य र अन्तरसरकार समन्वयका नीति तर्जुमा भइ संयुक्त परियोजना कार्यान्वयनमा आइसकेको २ अंक, विपद् जोखिम नक्सांकन २ अंक, उद्वार राहत सामग्रीको व्यवस्था भएको, विपद् व्यवस्थापन कोषको खर्च व्यवस्थापनका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि बमोजिम कार्यान्वयन भएकाको २ अंक उल्लेख गरी सबैभन्दा बढी १९ अंक पाएको छ । 

८५ प्रतिशतसहित शहरी योजना र पूर्वाधार विकासतर्फ उत्कृष्ट घोषित   

नेपालभरीमा रहेका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिकाहरुमध्ये सबैभन्दा बढी अंक शहरी योजना र पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ नेपाल नगरपालिका संघले ८५ अंक दिएर उक्त शिर्षकमा नगरपालिका उत्कृष्ट भएको भन्दै सम्मान गरेको हो । 

यी शिर्षकमा पायो नगरले शून्य अंक  

सिद्धार्थनगर नगरपालिकाले नेपाल नगरपालिका संघले खुलाएको उत्कृष्ट नगरपालिका प्रश्नावली छनौट २०८१ मा नगरपालिकाले वातावरण संरक्षणमा, शिक्षाको गुणस्तरीयता, बालमैत्री नगर, आन्तरिक आयको, रोजगारी सिर्जना लगायतका शिर्षकमा शून्य अंक प्राप्त गरेको छ ।  नगरपालिका संघले निर्धारण गरेको ३ वटा अंकमध्ये सबैभन्दा कम काम भएको शिर्षकहरुमा शून्य अंक राखेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा कूल अनुमानित आन्तरिक आयको तुलनामा यथार्थ आएको अवस्था ७५ प्रतिशतभन्दा कम भएको, आर्थिक वर्ष २०८०÷०८१ मा नगरपालिकाबाट नगरबासी तथा सरोकारवालाहरु समेतको सहभागीतामा नगरस्तरीय सार्वजनिक सुनुवाईको आयोजना नगरिएको, एक स्थानीय तह, एक औद्योगिक ग्रामको कार्यान्वयनका नभएको, लघु उद्यम र स्थानीय हस्तकला घरेलु तथा साना उद्योगको प्रर्वद्धन ५ प्रतिशत भन्दा कम भएको, नगरपालिकाको प्रत्यक्ष योग्दानमा श्रम तथा रोजगारी सिर्जना, १५ हजार कार्यदिन भन्दा कम रहेको, नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवाको पहुँच र प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण नभएको, नगरपालिका क्षेत्रमा समग्र सामुदायिक विद्यालयको एसईई परीक्षाको नतिजामा ५० प्रतिशत भन्दा बढी विद्यार्थीले सी प्लस भन्दा कम नतिजा ल्याएको, बालमैत्री नगरपालिका नभएको, पोषणमैत्री स्थानीय शासनको कार्यान्वयन नभएको यी प्रश्नावलीमा नगरपालिकाले शुन्य अंक पाएको छ । 

खुला क्षेत्र हरियाली प्रर्वद्धनमा, वातावरणमैत्री स्थानीय शासनको कार्यान्वयनमा, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना कार्यान्वयन, नगरपालिकासँग फोहोरमैला, ढल निकास, फोहोरपानी, दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तथ्यांकीय सूचना तथा कार्यन्वयन कार्ययोजनाको अवस्थामा, नगरको मौलिकता तथा सौन्दर्यता नभएको यी प्रश्नावलीमा नगरपालिकाले शुन्य अंक पाएको छ । अर्थात नेपाल नगरपालिका संघले निर्धारण गरेको मापदण्डमा समेत माथि उल्लेखित विषयमा सिद्धार्थनगरले न्यूनतम मापदण्ड समेत पूरा गर्न सकेन ।  

नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानाले विभिन्न शिर्षकमा उत्कृष्ट गर्ने नगरपालिकालाई बुँदागत रुपमा उत्कृष्टता आधारमा सम्मान गर्दै आएको बताए । ढुंगानाले भने–‘नगरपालिकाहरुलाई सम्मान गरी रहँदा उनीहरुलाई थप काम गर्न उर्जा थपिनेछ, अहिले नगरपालिका संघले निर्धारण गरेको ५ वटा विधाहरु मात्र छन्, आवश्यकताको आधारमा अन्य विधाहरुमा नगरपालिका पछि परेको खण्डमा हामी ती विधाहरुमा नगरपालिकाहरु केही सूचांकमा पछाडी भएको देखिएमा त्यो खाडल पूर्नको लागि आवश्यक्तको आधारमा सूचांक बढाउनेछौं ।’ 

नगरप्रमुख इश्तियाक अहमद खानले सिद्धार्थनगर नगरपालिकामा रहेका मानविय सुचांकको अवस्था बढाउनको लागि पहल गरिहेको बताए । उनले भने–‘हामीले पोषणका खानेकुरा वितरण गर्ने काम पनि गरिरहेका छौं ।  नगरपालिकाका सामाजिक तथा मानवीय सूंचांक वृद्धिका लागि यसपटकको बजेटमा समावेश गरिनेछ ।’ 

सामाजिक अगुवा विजय गोविन्द श्रेष्ठ (विजय सागरले) नगरपालिकाले देशभरमै उत्कृष्ट हुनु अत्यन्तै सहरानीय विषय भएको बताए । श्रेष्ठले भने–‘सिद्धार्थनगर नगरपालिका ठूलो शहरको रुपमा विकास भइरहेको छ, यो देशकै सबैभन्दा पुरानो नगरपालिको समेत हो, तर त्यति भन्दैमा नगरपालिकाले गर्नुपर्ने धेरै जिम्मेवारी र दायित्वहरु छन् । फोहोरमैला व्यवस्थापन, बालमैत्री नगरपालिका, स्वास्थ्य शिक्षा महत्वपूर्ण पाटो हो भएको उनले उल्लेख गरे । 

पूर्वाधार विकाससँग सामाजिक र मानवीय विकास भयो भने मात्र कुनै पनि क्षेत्रको दिगो विकास हुन्छ, यस कार्यमा नगरपालिका अघि बढ्नुपर्ने उनले आग्रह गरे ।उनले थपे–‘नगरमा रहेका ज्येष्ठ नागरिकहरुका लागि भुल्ने, शान्त एउटा पनि पार्क छैन् यो विषयमा पनि नगरपालिकाले विशेष पहल गर्नुपर्छ ।’

त्यस्तै समाजशास्त्री डिलाराम पाण्डेले समाजमा मानवीय विकास नभएसम्म दिगो विकास नै सम्भव नभएको बताए । दिगो विकासको पहिलो सूचांक भनेकै मानव विकास भएको उल्लेख गरे । स्वास्थ्य, शिक्षा, रोजगारी अर्थात शिक्षा, स्वास्थ्य र आर्थिक आर्जन त्यहाँका मानिसहरुको सामाजिक र शैक्षिक रुपमा पछि परे त्यो क्षेत्रको विकासमा स्थानीयले समेत अपनत्व लिदैनन् । सामाजिक, आर्थिक, साँस्कृतिक स्वास्थ्य शिक्षाको विकासलाई अन्य पूर्वाधार विकाससँगै लैजान सके, छोटो समयमा दिगो विकास समेत सम्भव हुने देखिन्छ ।’

WhatsApp Image 2025-04-30 at 10.41.34 AM (1).jpeg

दिगो विकासको लक्ष्य अवलम्बन गर्न आवश्यक 
भैरहवा क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार माधव ढुंगानाले अहिले पनि नगरभित्रका योजनाहरु अलपत्र रहेको उल्लेख गर्छन् । ढुंगानाले भने–‘अहिले पनि वर्खाको समयमा नगरका धेरै स्थान जलमग्न हुन्छन् । नालाहरुको अवस्था त्यस्तै छ, नगरपालिकाले जनतालाई समेत जोडेर विकासका कामको थालनी गर्नुपर्छ अनि मात्र दिगो विकास सम्भव हुन्छ ।’

शान्ति र समृद्धिका लागि सहकार्य गर्ने विश्व समुदायको प्रतिबद्धता बमोजिम संयुक्त राष्ट्र संघका सम्पूर्ण सदस्य राष्ट्रको सामूहिक प्रयास र प्रतिबद्धताका आधारमा घोषणा गरिएको कार्ययोजना दिगो विकास लक्ष्य हो । यो मानवकेन्द्रित अवधारणा पनि हो । यस अवधारणाले विकासलाई एकीकृत तबरबाट व्यापक रूपले मानवीय अवस्थामा सुधार गर्दै आर्थिक, सामाजिक, पूर्वाधार वातावरणीय तथा संस्थागत विकास गर्ने माध्यमको रूपमा भूमिका निर्वाह गर्दछ । पूर्वाधार विकासलाई मानवीय विकासमा नगरपालिकाले आगमी दिनमा ध्यान दिन सके नगरपालिका सम्भवतः अन्य विधाहरुमा पनि उत्कृष्टता प्राप्त गर्न सक्नेछ । यस्को लागि जनताको सहभागीता अपरिहार्य छ ।

siddharthanagar2023-04-01-02-28-26.jpeg