२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनसम्बन्धी छलफल

बुधवार , बैशाख १७, २०८२

भैरहवा, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निर्माणाधिन महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनसम्बन्धी सामुदायिक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार तथा एशियाली विकास बैंकको सहयोगमा महिला उत्थानशिल परियोजना अन्तर्गत निर्माण भइहेको यो भवनको विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको हो ।

छलफल कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले यो परियोजना समयमा सम्पन्न गर्न आग्रह गरे । उनले उत्थानशिल परियोजनासँग सहकार्यका लागि नगरपालिका तयार रहेको बताए ।

नगर उपप्रमख उमा अधिकारीले महिला उत्थानशिल परियोजनाले निर्माण गरिरहेको यो सेवा केन्द्र अतिआवश्यक भएको बताइन् । उनले यो भवन सेवामूलक भएको भन्दै आम नागरिकलाई जानकारी हुनुपर्ने बताइन्।

निर्माधिन सेवा केन्द्र भवनको विषयमा जानकारी दिदै महिला उत्थानशिल परियोजनाका टीम प्रमुख कृष्ण बहादुर कटुवालले यो भवन सरकारको मापदण्ड अनुसार निर्माण हुने बताए ।

कार्यक्रममा यूएनओपिएसका लुम्बिनी प्रदेश हेर्ने ई.प्रेक्षा सिंहले निर्माणधिन सेवा केन्द्र भवनको प्राविधिक विषयमा जानकारी दिएकी थिइन् । उनले भवनको लागत, आयोजनाको अवस्था, विवरणका विषयमा उपस्थित सरोकारवालालाई जानकारी दिइन् ।

कार्यक्रममा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्की, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक अमृता के.सी. सिद्धार्थनगर नगरपालिकाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, स्थानीय महिला तथा टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता थियो ।

नेपाल सरकारबाट अमेरिकी डलर ६ मिलियन र एसियाली विकास बैंकबाट अमेरिकी डलर १२ मिलियन गरी कुल अमेरिकी डलर १८ मिलियनमा यो सेवा केन्द्रको निर्माण भइरहेको छ । 

सन २९ मार्च २०२४ मा निर्माण कार्य सुरु भएको यो सेवा केन्द्र भवनको २८ सेप्टेम्बर २०२५ मा निर्माण कार्यसम्पन्न हुने परियोजनाले जनाएको छ ।

रविना–गोरखनाथ जेभीले निर्माण गरिरहेको यो सेवा केन्द्रको हालसम्म भौतिक प्रगति ६१ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत भएको निर्माणकर्ताले बताएका छन् ।

तीनतले अत्याधुनिक सेवा सुविधा भएको यो भवन आर्सिस फ्रेम संरचनाको प्रकारले निर्माण भइरहेको छ । यो भवनमा २ कोठा भान्छा र भोजन कक्ष, ३ वटा शौचालय र अन्य १७ वटा कोठा हुनेछन् ।  यहाँ वार्डेन कक्षसहित प्रशासन र अन्य कर्मचारी कार्यकक्षहरु हुने परियोजनाको प्रशासन शाखाले जनाएको छ ।
 
भवनभित्र आवास कक्ष, बाल हेरचाह कक्ष, स्वागत, सामान्य केस दर्ता, परामर्श कक्ष, प्रथामिक उपचार, एचसीपीसी, मनोरञ्जन, बैठक र सम्मेलन कक्ष हुनेछन् ।

यहाँ सौर्य ताप प्रणाली भएको पानीको आपूर्तिको सुविधा, लैंगिक मैत्री, अपांगमैत्री शौचालय, फोहोर पानी निकासको ढल, वातानाकुलित कोठाहरु हुने परियोजनाको प्राविधिक शाखाले जनाएको छ ।