
शनिवार , आषाढ २१, २०८२
भैरहवा, २१ असार । जगर्श ग्रुप, भैरहवाले लुम्बिनीस्थित ओशो जेतवनमा वृक्षारोपण गरेको छ । जगर्शका सदस्य स्वर्गीय प्रदीप अग्रवालको सम्झनामा शनिबार ओशो ध्यान केन्द्रको क्षेत्रभित्र वृक्षारोपण गरिएको सचिव अनिल के.सी.ले जानकारी दिनुभयो ।
अग्रवालको ४ वर्षअघि निधन भएको थियो । आफ्ना सदस्य अग्रवालको निधनको सम्झनामा जगर्शले विगतदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपानेका अनुसार १३ प्रजातीका विरुवा रोपिएको हो । ‘हामीले हाम्रा सदस्य प्रदीपजीको सम्झना र सामाजिक कार्य अन्तर्गत वृक्षारोपण गरेका हौं’, न्यौपानेले भन्नुभयो,‘ओशोको आश्रम क्षेत्र भएकाले उत्पादनमूलक र फलफूलका विरुवा रोपिएको छ ।’
उहाँले जगर्श सधै सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताउनुभयो । संस्थाले गरीब तथा विपन्नलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान, दैवि प्रकोपबाट क्षति व्यहोरेका परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग र विभिन्न विद्यालय एवं अनाथ आश्रमहरुलाई शैक्षिक सामाग्री समेत सहयोग गर्दै आएको न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक कृष्ण प्रसाद अधिकारीका अनुसार आँप, लिची, रक्तचन्दन, अम्बा, कागती, जामुन, कटहर लगायतका दर्जनौं विरुवा ओशो आश्रमस्थल लुम्बिनीमा रोपिएको छ । विरुवा हुर्किएपछि वातावरणलाई स्वच्छ राख्न मद्दत गर्ने र उत्पादनमूलक विरुवा भएकाले आश्रमलाई आवश्यक पर्ने फलफूल समेत आोशो परिसरमा उपलब्ध हुने अधिकारीले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा जगर्शका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरु, सल्लाहकार, ओशो जेतवन लुम्बिनीका प्रमुख तथा ओशोका अनुयायीहरुको सहभागीता थियो ।
जगर्शले वृक्षारोपण गर्न ओशोको परिसरलाई रोजेकोमा अनुयायीहरुले खुशी व्यक्त गरेका थिए । वृक्षारोपणपछि जगर्श सदस्यहरुले करिब दुई घण्टा ध्यान समेत गरेका थिए । जगर्शमा भैरहवाका विभिन्न क्षेत्रमा अब्बल कहलिएका ५५ जना स्थानीय सदस्यहरु छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij