२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

त्यो दिनको पर्खाइमा ........।

बुधवार , श्रावण २८, २०८२

बुटवलको जोगीकुटीबाट पौन तीन बजे हिंडेपछि तीन बजे मणिग्राम विश्राम वाटिका पुगियो । दिन सोमवार, साउन २६ गते थियो । कार्यक्रम थियो नाटकको असल दर्शक बन्ने । लुम्बिनी रङ्मञ्चलगायतका संस्थाहरुको सामुहिक आयोजना र सहयोगमा प्रदर्शित “एक चिहान“ नामक नाटक हेर्न अस्मिन केसी भाइको आग्रह र सुमन अनि समुन्द्रको निम्तोमा पुगिएको थियो त्यता । साथमा थिए युवराज घिमिरे, होमबहादुर गलामी, बलबहादुर थापा समेत ।

‘एक चिहान’ नाटक पुरानो नाटक हो । हृदयचन्द्रसिंह प्रधानले लेखेका थिए सो नाटक । तत्कालीन परिवेशमा लेखिएको उक्त नाटकले वर्तमान परिवेशमा समेत उत्तिकै सन्देश दिइरहेको मैले अनुभव गरें । व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको नाटकबाटै सहजै अनुमान लगाउन सकिन्छ । यो नाटक २००७ सालमा प्रकाशित भएको थियो । समाजका गरीब, अशक्त वर्गमाथि हुने अन्याय र मानव जीवनको असमानताको मार्मिक कथा यहाँ समेटिएको छ ।

नाटकको खडेरी परेको छ यतिबेला । नाटक लेख्ने मान्छेहरु सिनेमातिर लागेका देखिन्छन् । नाटकका पात्रहरु पनि उतै दौडिएर छिट्टै भाइरल बन्ने मोडमा छन् । नाटकमा राज जमाएका दयाह्याङ्ग राई, विजय बरालजस्ता पात्रहरु आज फिल्मी दुनियाँमा नामी र दामी भइरहेका छन् । फिल्मको जननी नै नाटक हो भन्न सकिन्छ ।

नाटककार सरुभक्तले कुनैबेला भनेका थिए–नाटक एकपटक नाटककारले जन्माउँछ, अर्काेपटक पात्रहरुले । उतिबेला लेखिएको एक चिहान नाटकलाई नयाँ रङ्मञ्चका कलाकारहरुले जन्माएर हामीबीच गजबले प्रदर्शन गरे । यतिबेला बुटवल वरिपरि नाटक प्रदर्शन हुनुलाई पनि अनौठो मान्न सकिन्छ । यो क्षेत्रमा न नाटक लेखिन्छ न प्रदर्शन भएको देखिन्छ ! न कुनै स्थायी रंगमञ्च नै छ ! भएका कलाकारहरु पनि अवसर नपाएपछि तितरबितर भए ।

यही ठाउँमा थियो कुनैबेला रेलीमाई साँस्कृतिक मण्डली अनि त्यसले देखाएको थियो प्रसिद्ध नाटक ‘५० रुपैयाँको तमसुक’ अनि पछि बुटवलकै कलाकारहरुले चिरन बरालको निर्देशनमा ‘म फर्कि आउने छु’ लगायतका नाटकहरु मञ्चन गरेका थिए । ट्रान्सपरेन्सी इन्टरनेशनलको आयोजनामा ‘भ्रष्टाचार’ लगायतका सडक नाटकहरु समेत सडकमा प्रदर्शन भए । तर, आज न रंगमञ्चमा न सडकमा छन् नाटकहरु ! किन हराउँदै गए नाटकहरु ? रुपन्देहीभरी थुप्रै साहित्यिक संघसंस्थाहरु छन् , तर, उनीहरुका प्राथमिकतामा पर्दैनन् नाटक लेखन र प्रदर्शनका विषय ? भर्खरै लुम्बिनी नाट्य प्रतिष्ठान गठन त भएको छ तर बामे सर्ने अवस्थामै छ ।

लुम्बिनी रंगमञ्च गठन भएको रहेछ कहिले हो तर, पनि उसले नाटक प्रदर्शन गर्याे, धन्य छ । पुरानो नाटक जो कक्षा –१२ मा पढाइ हुन्छ “एक चिहान ।” जसको निर्देशन लुम्बिनी रंगमञ्चका युवा भाइहरु अस्मिन केसी र सागरले गरेका रहेछन् । उनीहरुको निर्देशनमा कलाकारहरुले बेजोड अभिनय प्रस्तुत गरेका थिए । कलाकारहरु कोही नयाँ थिए, कोही पुराना । धेरै कलाकारहरु लुम्बिनी बाहिरका थिए । लुम्बिनीकै नाटककार, यहीकै निर्देशक र यतैका कलाकारहरु समेटिएर कहिले लुम्बिनीमै नाटक प्रदर्शन होला ? त्यो दिनको पर्खाइमा छौं हामी । ‘एक चिहान’ नाटक हेरिरहँदा सामन्तीविरुद्ध कतै मुठ्ठी कसेर जुरुक्क उठ्न मन लाग्थ्यो । कतै थचक्कै बसेर रुन मन पनि ।

नाटकमा पात्रहरुले आ–आफ्ना भूमिकालाई न्याय, सम्मान गरेका थिए ।  केही कलाकारका प्रतिभा बेजोड थिए । केही कलाकारका भूमिकाले दर्शकमा रिस पनि उठ्ने बनाएको देख्दा भूमिकालाई पात्रले न्याय गरेको अनुभवप्राप्त हुन्थ्यो । कलाकारहरु यही समाजका मानिस हुन् । जसले समाज बुझेको हुन्छ, उसको अभिनय पनि पक्कै जीवन्त हुने गर्छ ।

मिश्रित तर निम्नस्तरीय परिवारको दर्दनात्मक कथावस्तु नै एक चिहानको कथानक हो । तर, यसमा ठूलाबढाको हेपाई, असमान व्यवहार र कृषिमा मात्र निर्भर परिवार, समृद्धितर्फ उन्मुख हुन नसक्दाको पीडा सहजै बोध गर्न सकिन्छ । नाटकमा भक्तपुरे लवज, पोशाक अनि बजाइने बाजाले समेत प्रतिनिधित्व गरिरहँदा लुम्बिनीतिरका हामीलाई नौलो अनुभूत हुनु स्वभाभिकै मान्न सकिन्छ । संस्कृतिको आदानप्रदान भएको मान्न सकिन्छ । भाषा पनि उस्तै लाग्थ्यो । यो नाटकले जिन्दगीमा विभाजन र विभेद नगरी सबैलाई मानवीय दृष्टिकोणले हेर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

प्राकृतिक प्रकोप, यसबाट हुने क्षति र जैविक विविधतामा पर्दै गएको असरका सम्बन्धमा समेत नाटकमा केही दृश्य हेर्न पाइन्छ । प्राकृतिक प्रकोपका कारण परिवार एकै चिहान भएको देख्दा जलवायु परिवर्तनको अनुकूलन हुन नसकिरहेको अवस्थाका परिणाम देखियो । नाटक मञ्च, त्यसमा प्रयोग हुने सरसमान, ध्वनी, लाइभ गीत र पात्रहरुले प्रयोग गरेका पोशाकहरु सबै नै उत्तम थिए । स्थायी नाटक घर, रंगमञ्च हुन सकेमा निर्देशक र कलाकारहरुलाई सहजता र दर्शकहरुलाई सजिलो हुने देखिन्छ । कलाकारहरुको कला तिखारिने, नाटक लेखकहरुको आफ्नो प्रतिभा उजागर हुने र यस क्षेत्रकै नाटकको विकासमा उत्थान सम्भव हुने थियो ।

राममणि क्याम्पसका विद्यार्थी असल दर्शक बनेर बेलाबेलामा कलाकारहरुका कलामा उत्प्रेरणा थप्न थपडी बजाइरहेका थिए । अमित विद्यार्थी,  समुन्द्र घिमिरे, राममणि क्याम्पसका अध्यापकहरु र हामीले नाटक हेरेपछि कलाकारहरुको परिचय समेत थाहा पायौं । नयाँदेखि पुराना सबै कलाकारका कलामा सम्मान प्रकट गर्दै धन्यवादका लागि थपडी मार्यौं । नाटक हेरेपछिको अनुभूति थोरै प्रस्तुत गर्ने अवसरका लागि निर्देशक अस्मिन र लुम्बिनी रंगमञ्चप्रति आभार प्रकट गर्छु । नयाँ विषयवस्तु र बेजोड नाटक प्रस्तुतिका लागि आफ्ना आँखा दछ्याइरहन्छु ।