२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन

सोमवार , बैशाख २८, २०८३

  • 304
    Shares
  • 304
    Shares
  • रुपन्देही, २८ वैशाख । रुपन्देहीमा आयोजित मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा वैशाख २६ देखि २८ गतेसम्म बुटवलमा उक्त सम्मेलन भएको थियो ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल संयोजक, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार, भरत के.सी., पत्रकार कबिन्द्र नेपाल, भगवती पाण्डे र विष्णु पोखरेल सदस्य रहेको घोषणापत्र लेखन समितिले तयार गरेको आधारमा महासंघले घोषणापत्र जारी गरेको हो ।
    कार्यक्रममा विभिन्न विषयमा बहस तथा छलफल गरिको थियो । यसक्रममा सञ्चार क्षेत्रको चुनौती र अबको बाटोबारे छलफल गरिएको थियो ।

    यी हुन् घोषणापत्रमा समावेश गरिएका विषयवस्तु

    १) संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको रक्षा, प्रवद्र्धन र पालना गर्न नेपाल पत्रकार महासंघ, रुपन्देही प्रतिबद्ध छ । श्रमजीवी पत्रकारको हितलाई आफ्नो मूल लक्ष्य मानेर क्रियाशील महासंघ लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र जवाफदेही शासन प्रणाली र प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ ।

    २) प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन, सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै योे सम्मेलन न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दछ ।

    ३) देश संघीयतामा प्रवेश गरेको एक दशक पुगिसकेको अवस्थामा प्रदेश र स्थानीय तहले सञ्चार सम्बन्धी कानूनहरु बनाउने कुरामा खासै चासो दिएको पाइएको छैन । अतः प्रदेश सरकार र स्थानीय सरकारले यथासक्य त्यस्ता आवश्यक कानूनहरु बनाउन यो सम्मेलन माग गर्दछ । त्यस्ता कानुनहरु बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्न पनि माग गर्दछ ।

    ४) सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा सीमित गर्नेजस्तो संविधान, कानुन, अन्तर्राष्ट्रिय मूल्यमान्यता, खुला बजार अर्थनीति र संघीयताको मर्मविपरीतको कार्य अस्वीकार्य छ । अतः सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन प्रकाशन, प्रसारण गर्ने भनी सरकारले हालै गरेको निर्णय अबिलम्ब फिर्ता गर्न माग गर्दछ । सरकारको यस खालको नीति प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रण गर्ने सरकारी प्रयास भएको यो राष्ट्रिय सञ्चार सम्मेलनको ठहर छ । यसले स्थानीय स्तरमा सञ्चालित निजी तथा सामूदायिक सञ्चार माध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र त्यसबाट स्थानीय स्तरका सयौं पत्रकार, सञ्चारकर्मी, मजदूर र कर्मचारीको रोजगारी संकटमा सम्मेलन ठहर गर्दछ ।

    ५) सरकारले उक्त निर्णय तत्काल खारेज गरी सरकारी विज्ञापनमा भइरहेको बेथितिको अन्त्य गर्ने गरी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न, संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्थाका लागि समानुपातिक विज्ञापन प्रणाली लागू गर्न यो सम्मेलन माग गर्दछ ।

    ६) श्रमजीवी पत्रकार ऐन संशोधन गरी सञ्चार गृहहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी कानूनी प्रबन्धसहित सामाजिक सुरक्षाको सुनिश्चित गर्न र श्रमजीवी पत्रकारहरूको समयानुकुल पारिश्रमिक वृद्धि गर्न यो सम्मेलन माग गर्दछ ।

    ७) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षासँगै उनीहरुका लागि सञ्चार उपकरण खरीदमा सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुलाई सम्मेलन आग्रह गर्दछ ।

    ८) सरकार मिडिया तथा पत्रकारिताको प्रवद्र्धन र संरक्षणका लागि अनुदार बन्दै गएको अवस्थामा सबै पत्रकारहरु एकतावद्ध भएर आफ्नो पेशगत जिम्मेवारी र पत्रकार आचारसंहितामा संवेदनशील र जिम्मेवार पत्रकारितामा लाग्न सबै सञ्चारकर्मीहरुमा आग्रह गर्दछ ।

    ९) सूचना प्रविधिको विकाससँगै यसका चुनौतिहरु पनि बढ्दै गएका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत आउने गलत र भ्रामक सूचनाका कारण सिंगो सञ्चार क्षेत्र र समाज समेत प्रभावित बनेको छ । त्यस खालका प्लेटफर्म हरुलाई निरुत्साहित पार्ने र व्यवसायिक सञ्चारमाध्यम लाई प्रोत्साहित गर्न यो सम्मेलन आग्रह गर्दछ।

    १०) यो सम्मेलन लुम्बिनी सरकारद्वारा गठित सञ्चार समन्वय परिषद्लाई पूर्ण क्रियाशील र प्रभावकारी बनाउन आवश्यक कानूनको व्यवस्था गर्न माग गर्दछ । प्रदेश सरकारद्वारा यस अघि स्वीकृत सञ्चारसँग सम्बन्धित कार्यक्रम, योजना र बजेट अबिलम्ब कार्यान्वयनका लागि यो सम्मेलन माग गर्दछ ।

    ११) पत्रकारिता क्षेत्रको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि यस क्षेत्रमा एउटा व्यवस्थित अध्ययन केन्द्र जरुरी छ । यसका लागि सञ्चार क्षेत्रका एतिहासिक दस्तावेज, सञ्चार सामाग्री र अनुसन्धानमुलक सामग्रीसहित बुटवलमा एउटा सञ्चार संग्रहालय स्थापना गर्न नेपाल पत्रकार महासंघ रुपन्देहीले पहल गर्ने घोषणा गर्दछ ।

    १२) सरकारले हालै सार्वजनिक जग्गा व्यवस्थापनको नाममा भूमिहीन, सुकुम्बासी बसोबास गर्दै आएका संरचनामा जबरजस्त डोजर लगाएर बिस्थापित गर्ने काम गरेको छ । उक्त कार्य रोकेर बिस्थापितहरुलाई वैकल्पिक व्यवस्था गर्न माग गर्दछ ।

    १३) रुपन्देही जिल्लाको आर्थिक विकासका लागि निजी क्षेत्रको लागानी बढाउन लगानीमैत्री वातावरण बनाउन सरकारी तहबाट आवश्यक कानूनी तथा प्रशासनिक व्यवस्था गर्न यो सम्मेलन माग गर्दछ ।

    १४) विश्व शान्तिको भूमि बुद्ध जन्मस्थल लुम्बिनीको विकास र प्रवद्र्धन, ऐतिहासिक जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, शिद्धबाबा मन्दिर लगायत रुपन्देहीका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार र सबै सरोकारवाला निकायसँग यो सम्मेलन माग गर्दछ ।

    १५) महासंघ, रुपन्देहीद्वारा आयोजित यो मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन आयोजनाका लागि सहयोग पुर्याउने लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, पर्यटन विकास परिषद, बुटवल, बुटवल उद्योग वाणिज्य संघ लगायत सरोकारवालाप्रति यो सम्मेलन हार्दिक आभार व्यक्त गर्दछ ।