भैरहवा, ३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का भिमसेन कर्माचार्य बिहानदेखि सांझसम्म साईकलको सहारामा कुद्छन् । सानैदेखि साईकलमा कुदेका कर्माचार्य ७५ वर्षको उमेरमा पनि उही जोश र जागरका साथ साईकल साथमा लिएर काममा दौडिन्छन् ।
कर्माचार्य सिद्धार्थनगर–७ का निर्वाचित वडाअध्यक्ष पनि हुन् । स्थानीय तहको निर्वाचनमा लगातार ३ पटक वडाअध्यक्षमा निर्वाचन जितेका कर्माचार्य वडा कार्यालय जाँदा आउदा मात्र होईन नगरपालिकाका विभिन्न स्थानमा पुग्दा पनि साईकलमै पुग्ने गर्दछन् । उनी २०५०, ०५४ र ०७४ सालमा गरी लगातार तीन पटकसम्म वडा अध्यक्षमा निर्वाचित भए ।
सिद्धार्थनगरमा लगातार उनी ३ पटकसम्म वडाअध्यक्षमा निर्वाचित व्यक्ति पहिला हुन् । २०२४ सालमा पर्वतबाट भैरहवा झरेका कर्माचार्य कांग्रेसको राजनीतिमा सक्रिय रुपमा लागे । राजनीतिमा निष्ठापूर्वक लागेका उनलाई कांग्रेसले सुरुमै वडा अध्यक्षको टिकट दियो । टिकट पाएपछि उनले सहज रुपमा निर्वाचन जिते । त्यो पनि साईकलबाटै चुनाव प्रचारप्रसार गरेर । उनले गाडी किन्न नसकेका कारण र फेसनको रुपमा नभइ आफ्नो सन्तुष्टिका लागि साईकलमा आफ्नो जीवन दौडाइरहेका छन् ।
१८ वर्षदेखि एउटै साईकलमा
उनी विगत १८ वर्षदेखि एउटै साईकलमा कुदिरहेका छन् । १८ वर्षदेखि एउटै साईकलमा जीवन दौडाइरहेका उनलाई कहिल्यै ठुला ठुुला मोटर गाडी चढ्ने रहर जागेन ।अहिलेका वडा अध्यक्ष मोटरसाईकल र चिल्ला गाडीमा नचढ्ने साहेदै कम होलान् । तर, उनलाई मोटरसाईकल र गाडी चढ्ने ईच्छा कहिल्यै आएन । उनलाई केवल वडावासीको सेवाको हुटहुटी मात्र आइरह्यो ।
सादा जीवन उच्च विचारका धनी कर्माचार्य सिद्धार्थनगर नगरपालिका लागि आम नगरवासीका लागि सारथी बनेका छन् । वडा नम्बर ७ मा वडा अध्यक्षको रुपमा कार्यभार समालेको पनि १५ वर्ष पुग्नै लागेको छ । १५ वर्षसम्म जनताको सेवा गर्दा उनमा कुनै पनि खालको दाग लागेको छैन् । कसैबाट पनि आलोचित भएका छैनन् ।
भोलि आउनु भन्दैन वडामा आउने सेवाग्राहीलाई
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा सेवा लिन आउने सेवाग्राहीलाई सकेसम्म भोलि आउनु भनेर फर्काउँदैनन् । ‘जनताको सेवा गर्ने भनेर वडा अध्यक्षमा निर्वाचित भएको हुँ, जनताको सेवा नै सबैभन्दा ठुलो कार्य ठानेर सकेसम्म उसैदिन काम सम्पन्न गरेर पठाउने गरेको छु, कर्माचार्यले भने एक दिनमा सम्पन्न नहुने कामलाई मात्रै अर्को दिन बोलाउने गर्छौं, ’उनले भने ।
सकेसम्म आजको काम आजै हुनुपर्छ भन्ने लागेर काम गरिरहेका हुन्छौ कर्माचार्य भन्छन्, ‘काम सहजताका साथ सम्पन्न गर्नका लागि वडा सचिवलाई कहिलेकाहीं आधा÷एक घण्टा रोकाएर पनि जनतालाई सेवा दिने गरेका छौं ।
जनताको कामका बुझ्न कर्माचार्य बिहान साईकल लिएर घरबाट आम वडावासी समक्ष पुग्छन् । वडा नम्बर ७ का घर घरमा आफै पुगेर वडावासीका समस्यासंगै समाधान खोज्दै हिड्ने गर्दछन् । सहयोगी मनका कर्माचार्य समाजमा दुःखमा परेकाहरुका लागि गतिलो सारथी पनि हुन् । समाजसेवा गर्न निकै रुचाउने कर्माचार्य नगरभित्र विवाह, व्रतबन्ध, पूजाआजा देखि लिएर मरिमरणमा पनि पुग्ने गर्दछन् ।
अहिलेसम्मको जीवन समाज र राजनीतिमा सर्मपण गरेका कर्माचार्यलाई झुठदेखि नफरथ छ । उनले आफू कहिल्यै झुठो नबोलेको र बोल्नेहरुलाई पनि मन नपराउने बताए । इमानदारिता नै मानिसको सबै भन्दा ठूलो परिचय र सम्पत्ति ठान्ने कर्माचार्य ७५ वर्षमा पनि उही लगावका साथ अगाडि बढेका छन् । उनले आफुनो जीवनमा कमाएको सम्पत्ति नै इमानदारिता भएको बताए ।
काम गर्दै छोड्दै हिड्ने तर कस्तो भयो भनेर फेरी फर्किएर नजाने परिपाटीका कारण अधिंकाशं काम बिग्रने गरेको उनको बुझाइ छ । जुुनसुकै कामलाई पनि जिम्मेवारीबोधका साथ अगाडि बढाए कुनै खालका समस्या नआउने उनको बुझाइ छ ।
कर्माचार्य भन्छन्, ‘मलाई अनाबश्यक धन सम्पत्ति, ठूला ठूला पद भन्दा आफ्नो इमानदारिता नै ठूलो लाग्छ । त्यसैले अहिलेसम्म आफ्नो इमान्दारितालाई कुनै ठाँउमा झुक्न दिएको छैन् ।
यसरी झरे भैरहवा
भिमसेन कर्माचार्य सन् २०२४ सालमा पर्वतबाट बसाई सरेर भैरहवा आएका थिए । पर्वतमा सानै छदादेखि नै राजनीति र वास्तविक समाजसेवामा लागेका कर्माचार्यलाई राजनीतिक उतारचढावका कारण पर्वतमा बस्न सक्ने अवस्था भएन ।
२०१३ सालमा बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकारलाई २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दै पञ्चायती व्यवस्थाको थालनी गरेपछि उनी पर्वतमा बस्न सक्ने भएन । कांग्रेसमा सक्रिए भएर लागेका कारण उनलाई तत्कालीन समयमा प्रहरी र राजाका मान्छेले उनलाई तीव्र रुपमा खोजी गर्दै गाउँ बस्न नदिने अवस्था आएपछि बाध्य भएर ज्यान जोगाउन भैरहवा आएको उल्लेख गरे ।
बुवाले भारतको कोलकत्तामा काम गर्ने, कोलकत्ताबाट घर आउँदा भैरहवा हुँदै आउनुपर्ने र भैरहवामा दिदी भिनाजुसग बसेर बाग्लुङ फर्किने गरेका कारण आफुहरुलाई भैरहवा आउन सहज भएको उल्लेख गरे । म राजनैतिक कारण आफ्नो जन्म ठाउँ पर्वतको कालिवेनी छोडेर चार जना परिवारसहित भैरहवा छिरे । भैरहवा आएका कर्माचार्यलाई आफ्नो जीवन यात्रा चलाउन उत्तिकै कठिन थियो ।
जीवनमा संर्घषसंग कहिले हार नखाने उनी चार जना परिवार पालनपोषण, हेरविचार गर्ने जिम्मेवारी बोकेका कर्माचार्यले भैरहवा झरेपछि खेती किसानी गर्दै परिवार पाल्ने मेसोमा लागे । त्यत्तिले मात्र आफ्नो र परिवारको गुजारा चलाउन कठिन भएपछि उनी एउटा पसलेकोमा काम गर्न थाले । २२ वर्षको उमेरमा उनले भैरहवामा रहेको पोखरा प्राईभेट कम्पनीमा काम गर्न थालेको बताए । उनले काम गर्ने पसलेका साहु कांग्रेस सर्मथक भएका कारण उनलाई पसलमा काम गर्दै राजनीति गर्ने बाटो खुल्यो । १० वर्षसम्म पोखरा प्राईभेटमा काम गरेका उनी त्यसपछि कांग्रेस नेता रामकृष्ण ताम्राकारको पसलमा काम गर्न थाले । उनले ताम्राकारसंग रहेर ८ वर्ष काम गरे । ताम्राकारका साथमा काम गर्दा उनलाई राजनीतिप्रतिको मोह झनै बढ्दै गयो ।
जीवन खासमा संर्घष रहेछ
भिमसेन कर्माचार्यको भोगाईमा जीवन खासमा सर्घष रहेछ। आफ्नो जीवनकालमा अनेकन मोड पार गरेका कर्माचार्यले जीवनलाई सर्घषको रुपमा अगाडि बढाएका छन्। पर्वतबाट भैरहवा आएका कर्माचार्यले उ बेलामा जागिर गर्दा पनि बोराको बोरा पैसा कमाएको देखेका थिए। तर, करोडौ कमाएका ती मान्छेको अहिलेको जीवन कहालीलाग्दो देख्छन् उनी।
बोराका बोरा पैसा कमाउने ती मान्छेलाई कुनै पनि खालको सन्तुष्टी छैन्। बिरामी हुँदा आफन्तबाट राम्रोसंग हेरचाह पाउन सकेका छैनन् भने मर्दा मलामी पाएका छैनन्। त्यसैले जीवनलाई सहज रुपमा अगाडि बढाउन जरुरी छ कर्माचार्य भन्छन् पैसामात्रै कमाउने भन्दा जनताको सेवा गर्न तर्फ लागौं। अहिलेको यो दुनियामा सेवा नै सबैभन्दा ठुलो धर्म हो।