२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

‘गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरु घाइते हुँदा पनि सेवा रोकिएन’

सोमवार , कार्तिक ३, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • काठमाडौं, ३ कार्तिक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला बनेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि घाइते भएकाहरुले निजामति (सिभिल अस्पताल) अस्पताल भरिएको थियो ।

    प्रदर्शन भइरहेको स्थान नजिकै भएकोले अस्पताल प्रभावित हुनु नौलो होइन । अस्पतालको सेवा र विशेषताको आधारमा यस प्रकारको आकस्मिकता र दुर्घटनाको लागि यो अस्पताल स्थापना नभए पनि धेरै ठूला—ठूला बिपत्तिमा यसले आफ्नो काम सफलतापूर्वक सम्पन्न गरेको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालभित्रै टियर ग्याँस आउँदा र गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरु घाइते हुँदा पनि सेवा नरोकिएको बताउनु भयो ।

    आन्दोलनको पूर्वसूचना रहे पनि कस्तो र कत्रो आकारमा क्षति हुन्छ भन्ने आँकलन नभए पनि अस्पतालले डिजास्टर म्यानेजमेण्ट प्रोटोकल अपनाएर सेवा दिएको बताउनु भयो ।

    न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक रेग्मीले आन्दोलनकारी र सुरक्षाकर्मी दुवैले अस्पतालको शान्ति क्षेत्रको मर्यादा उल्लंघन गरेको गुनासो गर्नुभयो । आपत्कालीन अवस्था र विपद् व्यवस्थापनका लागि हेलीप्याडसहितको छुट्टै अस्पताल र अन्य अस्पतालसँग छिटो सहकार्य र समन्वय गर्न बलियो सञ्जाल बनाउन आवश्यक रहेको बताउनु भयो ।

    आन्दोलनमा गोली र लाठी प्रहारबाट घाइते भएका ४ सय २० बिरामीमध्ये ५१ जनाको सर्जरी गरिएको, ४४ जना रेफर भएको र ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । आन्दोलनको केन्द्र बानेश्वर र माइतिघरबाट अन्यत्र सार्न, सडक र एम्बुलेन्सको पहुँच सुनिश्चित गर्न र संसद् भवन पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिनुभयो ।

    प्रश्तुत छ निजामति अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीसँग भदौ २३ र २४ गते अस्पताल भित्रको अवस्था र अनुभवसहित कुराकानीको सम्पादित अंश । 

    प्रश्नः भदौ २३ र २४ गते तपाईं के गर्दै हुनुहुन्थ्यो ?

    जवाफः २३ गते जेन—जी पुस्ताको आन्दोलन हुँदैछ भनेर पूर्वसूचना थियो । त्यसभन्दा पहिले पनि ६ महिनाको बीचमा अस्पतालले दुई वटा आन्दोलन पनि नजिकैबाट ह्याण्डल गरेको हो ।

    बानेश्वर क्षेत्र नै सबै प्रदर्शनकारीको फोकस गरेको क्षेत्र पनि भयो । हामी मुभमेन्ट भइहरेको कारण जे पनि हुनसक्छ भन्ने अनुमानको आधारमा स्वास्थ्य सेवालाई तयारी अवस्थामा राखेका थियौं ।

    हामीले डिजास्टर म्यानेजमेण्ट प्रोटोकलको कुरा पनि हामीले गरेका थियौं । २३ गते बिहानै म सिंहदरबारमा एउटा बैठकमा गएको थिए । साँझ त्यस्तो हुन्छ होला भन्ने कसैले पनि आँकलन गरेको थिएन ।

    स्वास्थ्य सचिवज्यु र अन्य अस्पतालका निर्देशक पनि हुनुहुन्थ्यो । चोकतिर मान्छेहरु जम्मा हुने क्रम बढिसकेको थियो । हामीले संसदीय समितिको बैठक पनि छिटो गरी टुंग्यायौं । तर बैठक टुंग्याएर आउँदासम्म धेरै ठूलो क्षति चाहीँ भइसकेको थियो । आन्दोलनको क्रममा हामीले कल्पना गरेभन्दा पनि धेरै क्षति भयो । 

    प्रश्नः जेन–जी आन्दोलनका धेरै घाईतेहरु एकै समयमा अस्पताल आउँदा के कस्ता चुनौतीहरुको सामना गर्नुप¥यो ?

    जवाफः तीनकुने आन्दोलनका क्रममा गोली चलेका केसहरु पनि आए । हामीले ह्याण्डल ग¥यौं । शिक्षक आन्दोलनको क्रममा पनि धेरै जना अस्पताल आउनु भयो । तर त्यस्तो गम्भीर प्रकृतिका घटनाहरु थिएनन् ।

    तर जेन—जी आन्दोलनको क्रममा गम्भीर प्रकृतिका विरामीहरु धेरै आए । पहिलो दिन पनि दुई सय भन्दा बढी बिरामीहरु र दोस्रो दिन पनि दुई भन्दा बिरामीहरु आपतकालीन कक्षमा आउँदा अस्पतालको अन्य सेवामा त असर पर्ने नै भयो ।

    यति धेरै बिरामी आउँदा अस्पतालको प्रोटोकलअनुसार काम गर्न चुनौती हुने नै भयो तर स्वास्थ्यकर्मीहरुलाई मोटिभेट गरेर काममा लगाइराख्नुपर्ने चुनौती पनि थपियो । बिरामी पनि आन्दोलन भएर घाइते भएकाहरु आउने पाटोमा मात्र सिमित भएको थिएन । यसका कोल्याटर एक्सेसहरु पनि समस्या भयो । एक्सेस नै थिएन ।

    भनेको बेलामा एम्बुलेन्स आउने अवस्था थिएन । अस्पतालपभित्रै युद्धभूमिजस्तो भएको हुनाले स्वास्थ्यकर्मी पनि बाहिरबाट आउने अवस्था नै थिएन । सेवा एकातिर हुँदाहुँदै पनि अन्य धेरै चुनौतीहरु सँगसँगै थपिए ।