शुक्रवार , कार्तिक २८, २०८२
बुटवल, २८ कार्तिक । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) लुम्बिनीले रुपन्देहीको बुटवलमा ट्राफिक सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार आयोजित यस कार्यक्रमले युवाहरूलाई सडक सुरक्षा, सवारीचालकले अपनाउनुपर्ने सावधानी तथा ट्राफिक नियमको व्यवहारिक पक्षबारे जानकारी गराउने उद्देश्य राखिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्र बन्धु शर्मा र सहायक प्रहरी निरीक्षक (असई) ज्ञानप्रसाद शर्माले विषयगत प्रस्तुतीकारण गर्नुभएको थियो । उहाँहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै नेपालमा वर्षेनी बढ्दै गएको सडक दुर्घटनाका कारण, रोकथामका उपाय तथा चालकको जिम्मेवारीबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो ।
सार्वजनिक गरिको तथ्यांकअनुसार, सडक दुर्घटनामध्ये ७० प्रतिशत मानवीय गल्तीका कारण हुने गरेका छन । मोबाइल प्रयोग गर्दै सवारी चलाउने, ओभरस्पिड, मदिरा सेवन गरी सवारी चलाउने, ट्राफिक संकेत अवज्ञा गर्ने तथा हेल्मेट–सिटबेल्ट प्रयोग नगर्ने जस्ता कारण प्रमुख हुन् ।
त्यस्तै १० प्रतिशत यान्त्रिक समस्या, १० प्रतिशत सडकको अवस्था र बाँकी १० प्रतिशत वातावरणीय कारणले दुर्घटना हुने गरेको प्रस्तुतिमा उल्लेख गरिएको थियो । एसपी शर्माका अनुसार चालु आर्थिक वर्षको साउनसम्मै देशभर ४३ हजार १ सय ६५ दुर्घटना दर्ता भएका छन् र ती घटनामा २ हजार ५ सय ४९ जनाले ज्यान गुमाएका छन् । उहाँले जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न सबैलाई आग्रह गर्नुभयो ।
वरिष्ठ असई ज्ञानु पाण्डेले हेल्मेटको सही प्रयोग, स्पिड–लिमिटको पालना, ट्राफिक संकेत बुझ्ने तरिका, दायाँ–बायाँ अवलोकन गर्ने बानी र यात्रु सुरक्षाका आधारभूत मापदण्डबारे व्यवहारिक प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा सिएनआईवाईइएफका अध्यक्ष राजन कसजुले ट्राफिक व्यवस्थापनमा अझ कडाइ आवश्यक रहेको बताउँदै सीमा नाका र मुख्य सडकखण्डमा निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका एक्जिक्युटिभ डाइरेक्टर अभिनव थापाले गर्नुभएको थियो । उहाँले युवाहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न तथा घर–समाजमा सडक सुरक्षाको सन्देश फैलाउन आग्रह गर्नुभयो ।
यस अवसरमा सिएनआईवाईइएफले बुटवल–भैरहवा सडकका तीन स्थान–योगिकुटी होटेल पौवा अगाडि, एसआर होटेल–ड्राइभर टोल अगाडि, र मंगलापुरस्थित जुनकिरी रेस्टुरेन्ट अगाडिमा दुईपांग्रे तथा चारपांग्रे सवारीका लागि स्पिड–लिमिट संकेत बोर्ड जडान गरिएको अध्यक्ष कसजुले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij