सोमवार , मंसिर १५, २०८२
भैरहवा, १५ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भारतसँग जोडिएको बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सोमबार सरोकारवालाहरूसँग छलफल तथा स्थलगत अवलोकन गर्नुभएको छ ।
यसअघि जेनजी आन्दोलनका कारण रोकिएको बेलहिया नाका सुन्दरीकरण तथा हरियाली अभियानको कामलाई सुरु गराउन नगरप्रमुख खाँले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन गराइसक्नुभएको छ । अब तत्काल काम अघि बढाउने विषयमा उहाँले लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसाल, इन्जिनियर रेशमराज आचार्यसहित सरोकारवालाहरूसँग स्थलगत निरीक्षण गर्दै विस्तृत छलफल गर्नुभएको हो ।
‘बेलहिया नाका नेपालको प्रमुख प्रवेशद्वारमध्ये एक हो । यसलाई सफा, सुन्दर र पर्यटनमैत्री बनाउन सकेमा लुम्बिनी भ्रमणमा आउने पर्यटकको पहिलो प्रभाव सकारात्मक पर्छ,’नगरप्रमुख खाँले भन्नुभयो ।
लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बेलहिया नाकाको सुन्दरीकरणले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसालले प्राविधिक तथा बजेटको हिसाबले काम अघि बढाउन कुनै समस्या नरहेको जनाउनुभयो ।
नगरप्रमुख खानले चाँडै काम अघि बढाएर सुन्दरीकरण, हरियाली, फुटपाथ, सडक बत्ती, स्वागतद्वारलगायत काम एकैसाथ सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बेलहिया नाका सुन्दरीकरणले नेपाल–भारत सीमा क्षेत्रको मुहार फेरिने र लुम्बिनी आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij