२०८२, मंसिर २० गते

Dec 06 2025 | २०८२, मंसिर २० गते

तिमीहरूलाई केको तनाव छ ?

शुक्रवार , मंसिर १९, २०८२

  • 844
    Shares
  • 844
    Shares
  • आमा–बुवाले घर बनाइदिएका छन्,
    खान–लाउन पैसा छ,
    कुनै अभाव दिएका छैनौ  
    अनि के को तनाव तिमीहरुलाई ?
    हामी युवाले बारम्बार सुन्नुपर्ने प्रश्नले 
    मन अशान्त छ,
    तर यो संकुचित सोच बोकेको समाजलाई 
    हामीले कसरी बुझाउने ?,
    घर, खाना, लुगा र हातमा मोबाइलले मात्र, 
    जीवन सुख, समृधि र आनन्दित हुन्छ भनेर l 

    आमाबुबाले बनाइदिएको घर त छ,
    तर त्यो जीवन्त नहुन सक्छ, 
    घर छ तर घरभित्र शान्ति र खुशी 
    सम्भव नहुन सक्छ, 
    घर छ तर काम नहुन सक्छ 
    काम छ, तर कमाइ नहुन सक्छ,  
    आफ्नै पसिनाले सिर्जीत घर ठड्याउँन मन छ, 
    तर कसरी? मनमा त्रास र तनाव छ l  

    कसैसँग लाखौँ धन छन् तर परिवार छैनन्   
    परिवार छन् तर धन सम्पति छैनन्   
    आज कसैका मनपेट भरिएका छन्, 
    कपडाले तन ढाकिएका छन्,
    तर भोलि भोक र लाजसँग लड्नुपर्ने हो कि भन्ने,
    अदृश्य भय सधैं मनमा उब्जि रहन्छन् l 

    कलेजमा नाम लेखिएको छ,
    किताबका पानाहरु भन्दा,  
    राजनीति भाषणका नाराहरुले, 
    कलेज गुन्जायमान छ,     
    राजनीतिक पार्टीका झण्डाले, 
    पुस्तकका हरफहरुलाई ढाकिदिदा, 
    पढाई पुरा नहुने हो कि भन्ने बेचैनी छ,

    आफ्नो आँखाले आफ्नो भबिष्य अनिश्चित देख्दा, 
    युवा उमेरमै मन खुम्चिन पुगेको छ l 
    हातमा मोबाइलर झोलामा कम्प्युटर छ,
    तर मनका साथीहरू मनबाट टाढा छन्,
    भौतिक मायाले साथ दिदा, 
    आफ्नो परिवार र आफन्त टाढा छन्, 
    पराई मान्छे परिवार जस्तै बन्न थालेका छन्,
    आफ्नै परिवार पराई बन्न थालेका छन् l 

    पढाई त् जसोतसो सकिएला, 
    तर त्यसपछि के? उत्तर अनुत्तरित छ,   
    पराइ देश सम्झिन्छु, 
    जीवन सुटकेसभित्र देख्छु   
    देश, परिवार र भविष्य बीच 
    मस्तिष्क रन्थनिएको छ ।

    एकै घरमा जन्मिएका भाईबैनी, 
    छुट्टिएर बसेको तनाव छ, 
    समाजमा बढ्दै गएको डर लाग्दो घटना, 
    मसंग पनि हुने हो कि भन्ने तनाव छ, 
    जता हिड्दा पनि, जे लगाए पनि, जति शरीर, 
    ढाके पनि नजरहरुले माथिदेखि तलसम्म, 
    निहालिरहेको तनाव छ, 
    असफलतामा हास्ने र सफलतामा,  
    जल्ने व्यक्तिहरु धेरै भएर तनाव छ l  

    चोकै पिछे फलानाको सन्तानले,
    यति पैसा कमाए भन्छन्,  
    कमाउन नसकेकाले खिस्रिक मुख पार्छन्, 
    देश अविकसित भएकाले, 
    विदेशिनुपर्ने पनि बाध्यता छ,
    विदेश गएर पनि काम नपाइने आशंका छ,
    अन्धकारमा हिडिरहेकाले बर्तमानलाई, 
    भविष्यमा उज्याली तर्फ मोडन सकिने, 
    हो कि होइन भन्ने तनाव छ l 

    बुढ्यौली तिर उकालो लाग्दै गरेका आमाबाबु र  
    बिदेशमा पसिना बगाईरहेको दाइको चिन्ता छ, 
    हाम्रो मुख उज्यालो बनाएका ति, 
    आमा बाबुको मुख अध्यारो भएर, 
    शिर झुक्ने हो कि भन्ने तनाव छ, 
    अहिलेका प्यारा व्यक्तिहरु पछी यादमा मात्रै, 
    सिमित हुने हो कि भन्ने तनाव छ, 
    आफुसंग शिप भए पनि, 
    घर परिवारको समर्थन नभएको तनाव छ 
    कतै आफुपनि भुर्र उडदा,
    आमा बाबुसंग मारेको अंगालो, 
    अन्तिम त् हुने होईन भन्ने तनाव छ
    आमाबाबुले लगानी गरेको कसरि, 
    भरपाई गर्ने भन्ने सधै तनाव छ,

    अन्तयमा, मुहारमा मुस्कान बोक्न सिपालु 
    युवाहरुलाई कृपया फेरी नसोधीदिनु 
    “तिमीहरूलाई केको तनाव छ?”