सोमवार , मंसिर २२, २०८२
तिलोत्तमा, २२ मंसिर । रुपन्देही एकीकृत विद्यालय संगठन (रिसन), तिलोत्तमाले आयोजना गरेको रिसन खेल महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्ने पामिर इन्टरनेशनल एकेडेमी, तिलोत्तमा–२ जानकीनगरका विद्यार्थीहरूलाई सोमबार विद्यालयमै आयोजित एक समारोहकाबीच सम्मान गरिएको छ । महोत्सवमा समग्रतर्फ पामिरले तेस्रो स्थान हासिल गर्दै विद्यालयको प्रतिष्ठा उकास्न सफल भएको थियो ।
समारोहमा विभिन्न विधामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीलाई कप तथा मेडलसहित सम्मान गरिएको थियो । ४ सय मिटर दौडमा दोस्रो तथा २ सय मिटरमा तेस्रो स्थान जितेका युजन शाही, हाइजम्पमा प्रथम तथा लङजम्पमा तेस्रो भएका सन्जोग श्रेष्ठ, २ सय मिटर, ४ सय मिटर, रिले दौडमा तेस्रो तथा लङजम्पमा दोस्रो स्थान हासिल गर्न सफल पुजा क्षेत्री सम्मानित भए ।
त्यस्तै १ सय मिटर दौड तथा रिले विधामा तेस्रो स्थान ल्याएकी बबिता भट्टराई, रिले दौडमा तेस्रो हुने आश्मा टण्डन र मनिषा शाही, ८ सय मिटर तथा ब्याडमिन्टनमा तेस्रो स्थान प्राप्त प्रितम कंडेल, तथा ब्याडमिन्टनमै तेस्रो स्थान हासिल गर्ने समर्पण खनाललाई पनि सम्मान प्रदान गरिएको थियो । त्यसै गरी डान्स, छात्रा एथ्लेटिक्स, छात्र एथ्लेटिक्स र ब्याडमिन्टन समग्रतर्फ समेत पामिरले तेस्रो स्थान लिन सफल भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरूको प्रदर्शनले पामिर इन्टरनेशनल एकेडेमीको शैक्षिक क्षमताको परिचय दिएको बताउनुभयो । उहाँले आगामी दिनमा अझै व्यवस्थित प्रशिक्षणमार्फत ठूलो सफलता दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्राचार्य गोपाल गौतमले विद्यार्थीहरूको परिश्रम, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको साथकै कारण विद्यालय निरन्तर उत्कृष्टतर्फ अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले खेलकुदले जीवन कौशल विकासमा ठूलो योगदान पुर्याउने बताउनुभयो ।
रिसनको आयोजना रहेको २ दिवसीय प्रतियोगितामा साँस्कृतिक नृत्य, एथलेटिक्स, भलिबल र ब्याडमिन्टन लगायतका विभिन्न खेल विधाहरुमा रिसनमा आवद्ध कुल ९ वटा विद्यालयले प्रतिष्पर्धा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij