बुधवार , पौष २, २०८२
काठमाडौं, २ पुस । नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताउनु भयो ।
यस समयमा केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता तयार रहेको बताउनु भयो । उहाँले ११ औं महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ ।
मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ । लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ ।
यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’
नेता गिरीले नयाँ अनुहार केन्द्रिय कमिटीमा देखिने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij