मंगलवार , पौष ८, २०८२
भैरहवा, ८ पुस । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले यही पुस १२ देखि १४ गतेसम्म आयोजना गर्न लागेको ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिबल–२०२५’ को तयारी तीव्र पारिएको छ । क्लबले फेस्टिबल बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्दैछ ।
क्लबका अध्यक्ष कमल रायमाझीले कार्यक्रममा मुलुकको विकासमा पत्रकारको भूमिकासहित विभिन्न विषयमा छलफल हुने उहाँले बताउनुभयो । त्यस्तै पर्यटन क्षेत्र र लुम्बिनीको विकास, मुलुकको समृद्धि, नेपाल–भारतका पत्रकारबीच सम्बन्धको सम्बन्ध थप विस्तार लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । कार्यक्रम अन्तर्गत पुस १२ गते बेलुकी विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा दीप प्रज्जवल गरिने जानकारी दिनुभयो । अध्यक्ष रायमाझीका अनुसार पुस १४ गते क्लबले आफ्नो स्थापना दिवस समेत लुम्बिनीमा मनाउनेछ ।
‘मुलुकको सुशासन, समृद्धि र पर्यटन क्षेत्रको विकासका पत्रकारहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नका लागि कार्यक्रम गर्दैछौं । पत्रकारिताको माध्यमबाट मुलुकको विकासमा कसरी टेवा पुर्याउन सकिन्छ र त्यसमा सञ्चारकर्मीको भूमिकाबारे बहस गर्नेछौं, ’उहाँले भन्नुभयो ।
कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालका अनुसार पहिलोपटक वि.सं. २०७६ साल मंसिर १ देखि ३ गतेसम्म लुम्बिनीमा प्रथम लुम्बिनी न्यूज फेस्टिबल आयोजना गरिएको थियो । ‘यो कार्यक्रमले क्लबलाई धेरै उचाईमा पुर्याएको थियो, ’उहाँले भन्नुभयो–‘उक्त कार्यक्रममा काठमाडौंसहित नेपालका विभिन्न स्थानबाट पत्रकार, उद्योगी–व्यवसायी, जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि लगायतको सहभागीता थियो ।’
त्यस्तै वि.सं. २०८० सालमा दोस्रो न्यूज फेस्टिबल आयोजना गरिएको थियो । यसपटक अलि पृथक बनाउन, नेपाल–भारतका पत्रकारचको सम्बन्धलाई अझ बलियो बनाउने पनि उद्देश्य छ । ‘दुवै देशका सीमावर्ती जिल्लाका साझा समस्यालाई समाधान गर्नका लागि सञ्चार माध्यममार्फत उजागर गरिने र समाचारका मुद्दाका विषयमा छलफल हुनेछ, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सीलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको पनि आउनुहुने बडुवालले जानकारी दिनुभयो । कार्यक्रमको पुस १३ गते बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुनेछ । कार्यक्रम विभिन्न सत्रमा आयोजना हुनेछ ।
प्रेस क्लब अफ महाराजगंज, भारतका अध्यक्ष अमित त्रिपाठीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको तेस्रो न्यूज फेस्टिबलले नेपाल–भारतबीचको सदियौंदेखिको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘नेपाल र भारत दुवै देशका पत्रकारको सहभागीता हुने यो कार्यक्रम सफल पार्न हाम्रो साथ र सहयोग रहनेछ, ’उहाँले भन्नुभयो ।
नयाँ दिल्ली, लखनउ, काशी, सिक्किम, गोरखपुर, बस्ती, अयोध्या, महाराजगंजलगायतका स्थानबाट पत्रकारहरुको सहभागीता हुने अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो ।‘ यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्ने लुम्बिनी प्रेस क्लब बधाईको पात्र हो, ’उहाँले भन्नुभयो–‘दुवै देशका साझा समस्याबारे चर्चा गर्नका लागि कार्यक्रमले मञ्च प्रदान गर्नेछ ।’
कार्यक्रममा सहभागीताका लागि भारतीय पत्रकारहरुलाई आग्रह तथा निमन्त्रणा गरिएको लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले बताउनुभयो । क्लबले सोमबार कार्यक्रमबारे जानकारी दिन भारतको महाराजगंज जिल्लास्थित कोतवालीमा पत्रकार सम्मेलन गरेको कोषाध्यक्ष विष्णु प्रसाद भट्टराईले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij