२०८२, पौष ९ गते

Dec 24 2025 | २०८२, पौष ९ गते

तिलोत्तमामा टोल विकास संस्था सञ्चालन, व्यवस्थापन र सरसफाई अभियानात्मक कार्यक्रम

बुधवार , पौष ९, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • तिलोत्तमा, ९ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका २ सय दुईवटा टोल बिकास संस्थाको प्रतिनिधिमूलक टोल विकास संस्था सञ्चालन, व्यवस्थापन र सरसफाई अभियानात्मक कार्यक्रम सम्पन्न भएको छ ।

    नगरस्तरीय टोल विकास संस्था सञ्जालका संयोजक हेमराज पौडेलको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा बोल्दै नगरप्रमुख खाणले टोल विकास संस्थाले तिलोत्तमाको विभिन्न अभियानमा देखाएको कार्यकुशलता, उपस्थिति र अभियान सफल पार्न खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले सम्पूर्ण टोल विकास संस्था र समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले टोल विकास संस्था सञ्जालले तिलोत्तमाको विकास र समृद्धिको पथमा निभाएको भूमिकाको प्रशंसा गर्दै नयाँ हुने कार्यसमितिलाई अग्रिम शुभकामना दिनुभयो । उहाँले नियमित अभियानदेखि नगरपालिकाको सबै जसो अभियानमा देखाएको उपस्थितिले हौसला मिलेको भन्दै आगामी दिनमा समेत साथ सुझाव र उपस्थितिको लागि अनुरोध समेत गर्नुभयो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले तिलोत्तमाको चर्चाको विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल बनाउन टोल विकास संस्थाले खेलेको भूमिका निकै सकारात्मक रहेको बताउनुभयो ।

    सो अवसरमा बोल्दै संयोजक हेमराज पौडेलले सबै टोल विकास संस्था सञ्जालका पदाधिकारी, वडाका टोल विकास संस्थाका सबै सदस्य एवं आम नागरिकलाई धन्यवाद दिनुभयो । उहाँले आगामी समितिले अझ परिस्कृत भएर नगरपालिकाको विकासका लागि हातेमालो गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा वातावरणमैत्री स्थानीय शासनका सूचकहरुको बारेमा र टोल विकास संस्था सञ्चालन, व्यवस्थापन र सरसफाई अभियानात्मक कार्यक्रमको विषयमा देवदह नगरपालिकाका अधिकृत दिनेश लम्सालले टोल विकास संस्था सञ्जालका करिब २ सय प्रतिनिधिहरुलाई प्रशिक्षण गर्नुभएको थियो ।

    कार्यक्रममा लागेका जिज्ञासाहरुलाई प्रशिक्षक लम्सालले समाधान गर्नुका साथै नयाँ र सफल अभ्यासका विषयमा छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाको वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले गर्नुभएको थियो ।