२०८२, पौष १० गते

Dec 25 2025 | २०८२, पौष १० गते

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, सहकार्य गर्ने प्रतिवद्धता

बिहिवार , पौष १०, २०८२

  • 208
    Shares
  • 208
    Shares
  • बुटवल, १० पुस । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले प्रदर्शनीको अवलोकन तथा अन्तरक्रिया गरेको छ । प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न शहरहरुमा रहेका औद्योगिक क्षेत्रका संस्थाहरुलाई भ्रमणको निमन्त्रणा गरेको थियो । 

    सोही क्रममा यसअघि गोरखपुरको औद्योगिक क्षेत्रको एक टोलीले प्रदर्शनीको अवलोकन गरिसकेको थियो । बिहीबार गीडा औद्योगिक क्षेत्रका उद्योगीहरुको टोलीलाई प्रदर्शनीको अवलोकन तथा दुवै क्षेत्रमा उद्योगी व्यवसायीहरुलाई सहज बजार प्रबन्धनका विषयमा अन्तरक्रिया गरिएको प्रदर्शनीका प्रचार संयोजक ई .किरण खरेलले जानकारी दिनुभयो । 

    बिहीबार प्रदर्शनीमा देखिएको ठूलो उत्साहलाई देखेर भ्रमण टोलीमा आउनुभएका भारतीय उद्योगीहरु निकै खुसी हुनुभएको र नेपालमा उद्योगको साथै पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको संघका कार्यसमिति सदस्य अखिलेश कसौधनले जानकारी दिनुभयो । 

    बिहीबारको भ्रमणमा गीडा औद्योगिक क्षेत्रको नेतृत्व गरेर आउनुभएका गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा निकै धेरै उत्साह नेपाली उद्योगी र अवलोकनकर्तामा पाएको बताउनुभयो । 

    ‘हामीले भारतमा बस्दा केही नेपाली साथीहरुसँग मात्रै कुरा भएको थियो । तर, एकै प्रदर्शनीमा यति धेरै सहभागीता देखेर हामीले त नेपालमा ठूलो उद्योग र पर्यटनको सम्भावना देखेका छौं, हामी अब सहकार्य गरेर जानसक्छौं, धेरै क्षेत्रमा सहकार्यका आधार यो भ्रमणले देखायो, निकै खुसी छौं’उहाँले भन्नुभयो ।