२०८२, पौष ११ गते

Dec 26 2025 | २०८२, पौष ११ गते

क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाइ हुने

शुक्रवार , पौष ११, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • बुटवल, ११ पुस । क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाइ सुरु गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको काखैमा रहेको र चीनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उद्देश्यले चिनियाँ भाषाको कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ ।

    बुटवलबाट नजिकै बुद्ध जन्मस्थल लुम्बिनी रहनु र भाषाले ज्ञानको दायरालाई फराकिलो बनाउने भएकाले इच्छुक विद्यार्थीहरुलाई ऐच्छिक रुपमा चिनियाँ कक्षा सुरु गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँका अनुसार कक्षा ४, ५, ६ र ७ का विद्यार्थीलाई ऐच्छिक रुपमा भाषा कक्षा सुरु गरिएको हो । क्याननले गत सातादेखि भाषा कक्षा सुरु गरेको हो ।

    विद्यालयमा किताबी ज्ञानसँगै विश्वसँग प्रतिष्पर्धा गर्नका लागि कुनै पनि शुल्क नलिएर चिनियाँ भाषाको कक्षा थालनी गरिएको प्राचार्य भण्डारीले बताउनुभयो । उहाँले चिनियाँसँगै निकट भविष्यमा संस्कृत भाषाको समेत पढाई गरिने बताउनुभयो । उहाँले पछिल्लो समय क्याननले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै अतिरिक्त सिकाइमा प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो । ‘विद्यालयबाटै विद्यार्थीले आफूलाई चिन्न सक्नुपर्छ, त्यसका लागि विद्यालयले अभिरुची जगाइदिनुपर्छ, त्यो काम गर्ने प्रयास गरेका छौं’ प्राचार्य भण्डारीले भन्नुभयो ।’

    क्याननले नै विद्यालय तहका विद्यार्थीहरुलाई चिनियाँ भाषाको कक्षा सुरु गर्ने पहिलो विद्यालय बनेको छ । नेपालको छिमेकी देश समेत भएकाले चिनको भाषा सिक्दा त्यसले प्रविधि, ज्ञान सीप र संस्कृति बुझ्न सहजता थप्ने विश्वास गरिएको छ ।

    सिकाइको दायरा फराकिलो बनाउन अतिरिक्त क्रियाकलापका साथै रचनात्मक कार्यक्रमहरुलाई बढाउँदै लगिएको विद्यालयका सह-प्राचार्य विष्णु प्रसाद न्यौपानेले बताउनुभयो ।