२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

मैनाबगरको अटोभिलेज अझै व्यवस्थित हुँदैछ : नगरप्रमुख पाण्डेय

आइतवार , पौष १३, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • बुटवल, १३ पुस । रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मैनाबगरमा रहेको अटोभिलेज व्यवस्थित हुँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले धुलो हिलो हुने मैनाबगर अहिले पक्की बाटो तथा ढल व्यवस्थापन भएको र व्यवसायीका माग अनुसारका काम गर्दै अझै व्यवस्थित हुने बताउनुभयो ।

    बुटवल अटो इञ्जिनियरिङ एशोसियसन रुपन्देही, लुम्बिनीको ३० औं साधारणसभालाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलमा कुनै पनि व्यवसायिक संस्था विस्थापित हुन नहुने बताउनुभयो । उहाँले पोखराका अटो व्यवसायीहरु बिस्थापित हुन लागेको सुन्दा निकै नरमाइलो लागेको बताउँदै व्यवसायी जन्माउन धेरै वर्ष लागेको भन्दै व्यवसायीलाई बिस्थापित नगरी वैकल्पिक मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो । 

    संस्थाका अध्यक्ष प्रेम गौचनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अटोभिलेजले अझै विस्तारका सन्दर्भमा सेटलाईट अटोभिलेज निर्माणको कुरालाई जोड दिनुभयो । उहाँले अवैध चोरी नियन्त्रणको माग समेत गर्नुभयो ।

    नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष गोपाल भट्टराईले सबै जिल्ला संघमा अटोभिलेज निर्माणमा पहल गर्ने बताउनुभयो । 
    गण्डकी अटो मेकानिकल एक्स एशिसियसन पोखराका अध्यक्ष विष्णु अधिकारीले मेकानिक्स व्यवसाय पछिल्लो समय मेकानिक्स व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताउनुभयो ।

    कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टक प्रसाद गैरेले व्यवसायीको हकहित र मर्यादा कायम राख्दै नयाँ प्रविधि र सीपलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

    पूर्वअध्यक्ष ज्योति भण्डारीले मैनाबगर अटोका व्यवसायी र मजदूरका समस्यालाई समाधान गर्न सकेमा नमुना अटो भिलेज बन्न सक्ने बताउनुभयो ।
    संघका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले अबको युवा पुस्ताले नयाँ प्रविधिसंगै  सीपमा दक्षता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

    संघका अध्यक्ष प्रेम गौचनले अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिव पुनित पोख्रेलले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष नमराज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । 

    सो अवसरमा ज्येष्ठ सदस्यबाट मोहनलाल पाण्डेय, अनुशासित व्यवसायीबाट टेक बहादुर सिजाली, प्रतिष्ठान सरसफाईबाट दिपेश घिमिरे, सीप क्षमता विस्तारबाट मोहन सुनुवार र महिला व्यवसायीबाट रतनमाया चौधरीलाई सम्मान समेत गरिएको थियो । संघका उद्योग उपाध्यक्ष धुर्वराज भुसालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव पुनित पोख्रेलले गर्नुभएको थियो ।