२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

नेपाल–भारतका पत्रकार किन आए लुम्बिनी ?

आइतवार , पौष १३, २०८२

  • 325
    Shares
  • 325
    Shares
  • भैरहवा, १३ पुस । गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला काठमाडौंसहित नेपालका विभिन्न स्थानबाट पत्रकारहरु आएका छन् । नेपाल मात्रै नभइ छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट पत्रकारहरु लुम्बिनी आइपुगेका छन् । लुम्बिनी आउनुको कारण हो–लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आयोजना गरेको समाचार महोत्सव (‘तेस्रो लुम्बिनी न्यूज फेस्टीबल–२०८२’) ।

    शनिबार लुम्बिनी आइपुगेका पत्रकारहरुले साँझ मायादेवी मन्दिरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी भइ दीप प्रज्वलन गरेका छन् ।

    ‘तेस्रो लुम्बिनी न्यूज फेस्टीबल–२०८२’ को आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको छ । अध्यक्ष रायमाझीका अनुसार शनिबार दीप प्रज्वलनको कार्यक्रमबाट न्यूज फेस्टीबलको सुरुवात गरिएको हो ।

    पत्रकारिता क्षेत्रको विकास, लुम्बिनीको प्रबद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रायमाझीले बताउनुभयो । ‘मुलुकको सुशासन, समृद्धि र पर्यटन क्षेत्रको विकासका पत्रकारहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नका लागि कार्यक्रम गरिएको हो । पत्रकारिताको माध्यमबाट मुलुकको विकासमा कसरी टेवा पुर्याउन सकिन्छ र त्यसमा पत्रकारहरुको भूमिकाबारे बहस गरिएको छ ’उहाँले भन्नुभयो ।

    ‘जिम्मेवार सञ्चार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा कार्यक्रम सुरु भएको उपाध्यक्ष दीपक घिमिरेले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका अगुवा, पत्रकार, विद्यार्थी, स्थानीय लगायतको सहभागीता छ । 

    कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालका अनुसार पहिलोपटक वि.सं. २०७६ साल मंसिर १ देखि ३ गतेसम्म लुम्बिनीमा प्रथम लुम्बिनी न्यूज फेस्टिबल आयोजना गरिएको थियो । ‘यो कार्यक्रमले क्लबलाई धेरै उचाईमा पुर्याएको थियो, ’उहाँले भन्नुभयो–‘उक्त कार्यक्रममा काठमाडौंसहित नेपालका विभिन्न स्थानबाट सम्पादक तथा पत्रकार, उद्योगी–व्यवसायी, जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि लगायतको सहभागीता थियो ।’ त्यस्तै वि.सं. २०८० सालमा दोस्रो न्यूज फेस्टिबल भैरहवामा आयोजना गरिएको थियो ।  

    कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य तथा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरु लुम्बिनी आउनुभएको छ ।

    कार्यक्रममा सहभागी हुन आउनुभएका प्रेस क्लब अफ महाराजगंज, भारतका अध्यक्ष अमित त्रिपाठीले तेस्रो न्यूज फेस्टिबलले नेपाल–भारतबीचको सदियौंदेखिको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नयाँ दिल्ली, लखनउ, काशी, सिक्किम, गोरखपुर, अयोध्या, महाराजगंजलगायतका स्थानबाट पत्रकारहरुको सहभागीता रहेको अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो ।

    पुस १४ गते सोमबार (भोली) क्लबले आफ्नो स्थापना दिवस पनि लुम्बिनीमा मनाउँदैछ । सोमबार बिहान लुम्बिनीस्थित पर्साचोकदेखि मायादेवी मन्दिरसम्म पिस हेरिटेज वाक हुने क्लबका कोषाध्यक्ष विष्णु प्रसाद भट्टराईले बताउनुभयो । कोषाध्यक्ष भट्टराईका अनुसार त्यसपश्चात पत्रकार आचारसंहिता अनुशिक्षण रहेको छ । त्यसपछि न्यूज फेस्टीबलको समापन लगत्तै क्लबको ११ औं स्थापना दिवस मनाएर कार्यक्रम सकिने उहाँले जानकारी दिनुभयो ।

    भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रका क्रियाशील पत्रकारहरुको पहलमा वि.सं. २०७२ सालमा लुम्बिनी प्रेस क्लबको स्थापना भएको थियो । क्लबले पत्रकारहरुको पेशागत हकहितसँगै सामाजिक कार्यहरु पनि गर्दै आएको छ । क्लबमा हाल ४३ जना सदस्यहरु आबद्ध छन् ।