आइतवार , पौष २७, २०८२
बुटवल, २७ पुस । रुपन्देही उद्योग संघले पुुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को समीक्षा गरेको छ ।
शनिबार संघका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, मूल आयोजक समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुबीच गरिएको समीक्षा बैठकमा सहभागीहरुले प्रतिकूल समयमा पनि आयोजना गरिएको यो प्रदर्शनीले सबैको साथ र सहकार्यले अपेक्षित सफलता प्राप्त गरेको निष्कर्ष निकालिएको छ ।
यो प्रदर्शनीले स्वेदशी उत्पादनहरुको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यवसायिक अनुभवको आदानप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन, उपभोक्ता र सरकारी निकायबीच अन्तरसम्वाद बढाउनुभको साथै आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरुलाई प्रोत्साहन, पर्यटक क्षेत्रका व्यवस्था बारेमा सरोकारवालाबीच छलफल, औद्योगिक जनशक्ति निर्माणमा सहयोग पुगेको निचोड निकालिएको छ ।
प्रदर्शनीका क्रममा कुनै अप्रिय घटना नभएको, अत्याधुनिक प्रविधिको प्रयोगले भित्र हराएको एक स्कुटर, मोबाइल, पर्स तथा अन्य समान सबै भेटिएको प्रमाणले पनि यसलाई अझै महत्वपूर्ण मानिएको बैठकको निचोड थियो । चिसो बढी भएकाले सहभागी अवलोकनकर्ता केही कमी आए पनि समग्रमा सबै पक्ष सकारात्मक भएको निष्कर्ष बैठकले गरेको हो ।
संघले ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल नारा बनाएको थियो । संघले २०४५ सालमा नेपालमै पहिलोपटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे आयोजना गर्दै आइरहेकोमा बीचमा विभिन्न संस्थाले आयोजना गरेकाले अहिले १६ औं संस्करण पुगेको हो । रुपन्देहीबाट सुरु भएको प्रदर्शनी अहिले देशव्यापी बनेको छ ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा भएको यो बैठकमा पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ लुम्बिनी अध्यक्ष एजाज आलम, पूर्वअध्यक्षहरु तेज कुमार पाठक, बाबुराम बोहोरा, माधव प्रसाद पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटाले प्रदर्शनीको ब्राण्डलाई १६ औं पालोमा पनि निरन्तरता दिन सकेको धारणा राख्नुभएको थियो ।
प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्टार्टअप स्वरोजगार श्रृजना, विषय विज्ञसहित सरोकारवाला क्षेत्रलाई राखेर उद्योग क्षेत्रको समस्या, पर्यटनको सम्भावना, कृषिमा बढेको समस्यासहितका विषयमा प्यानलगत छलफल गरिएको थियो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ४५० स्टलहरु रहेको, करिब ८ लाख दर्शकले अवलोकन तथा ३० करोड रुपैयाँ बराबरको कारोवार भएको संघले जनाएको छ ।
प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको थियो ।
शनिबार सबै उपसमितिका संयोजकहरुले लिखित रुपमै बैठकमा अनुभव र सुझावसहितको धारणा राख्नुभएको र यसलाई संस्थागत बनाउन स्मारिका प्रकाशन गरिने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । बैठकले प्रदर्शनीलाई पूर्ण बनाउन साथ दिने सबैप्रति आभार व्यक्त गर्दै सहकार्य गर्ने संस्थाहरुलाई आगामी दिनमा त्यसै गरेर साथ दिने उहाँको भनाइ छ । सिकाइलाई आत्मसात् गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij