२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

बाणगंगामा सातौं माघी महोत्सव हुने

मंगलवार , पौष २९, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • कपिलवस्तु, २९ पुस । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष पनि कपिलवस्तुको बाणगंगा नगरपालिकामा नगरस्तरीय माघी महोत्सव आयोजना हुने भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा महोत्सव आगामी माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने भएको हो ।

    मंगलबार महोत्सवस्थलमै आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी गराइएको हो । यस वर्षको माघी महोत्सव बाणगंगा नगरपालिका–२ लखनपारा, धनकौलीस्थित पूर्व डम्पिङ क्षेत्र चाकलचौडामा आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराम चौधरीले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले थारु समुदायको भाषा, संस्कृति र परम्परा पछिल्ला दिनहरूमा लोप हुँदै गइरहेको अवस्थामा यसको संरक्षण गर्न माघी महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले माघी पर्व केवल मनोरञ्जनको पर्व मात्र नभइ थारु समुदायको अधिकार, पहिचान र आत्मसम्मानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसलाई अझ व्यवस्थित र भव्य रूपमा मनाउँदै लैजान आवश्यक रहेको बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले थारु समुदायको माघी पर्व आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले माघीले समुदायभित्र एकता कायम गर्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र सहकार्यको भावना विकास गर्ने भएकाले यस्ता साँस्कृतिक पर्वहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार महासंघले महोत्सवको सफल बनाउनको लागि आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    साथै यस वर्षको माघी महोत्सवमा थारु संस्कृतिलाई झल्काउने विविध कार्यक्रमहरू समावेश गरिएका छन् ।

    महोत्सवअन्तर्गत थारु साँस्कृतिक झाँकी र्याली, विभिन्न साँस्कृतिक प्रस्तुति, थारु परम्परागत खानाको प्रदर्शनी तथा विक्री, थारु समुदायका सीप तथा हस्तकलाको प्रदर्शन जस्ता कार्यक्रमहरू सञ्चालन गरिने छन् । त्यसै गरी महोत्सवमा थारु साँस्कृतिक झुमरा नाच, मयूर नाच, सजनी–विरहनी गीत, रेकर्ड डान्स हुनुको साथै राष्ट्रिय तथा स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहने अयोजकले जनाएका छन् ।

    त्यसै गरी समाजमा योगदान पुर्याएका सेवानिवृत्त कर्मचारीहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम समेत समावेश गर्नुको साथै महोत्सवको पूर्वसंध्यामा पहिलो दिन अर्थात् माघ २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको थारु कल्याणकारी नगर सभाका सचिव सृजना थारुले बताउनुभयो । उहाँले सामाजिक सद्भाव, सहयोग र मानव सेवाको भावना अभिवृद्धि गर्ने विश्वाससहित प्रत्येक वर्ष माघीको पूर्वसंध्यामा रक्तदान कार्यक्रमसहित महोत्सवको सुरुवात गर्दै आएको जानकारी दिनुभयो । 

    पत्रकार सम्मेलन थारु कल्याणकारिणी सभा बाणगंगाका नगर कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराम चौधरीको अध्यक्षता तथा पत्रकार एवं मिडिया संयोजक सरिता चौधरीले गर्नुभएको थियो ।