२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

निष्ठाका प्रतीक पूर्व उपप्रमुख रतन कुमार गुप्ता

बिहिवार , माघ २२, २०८२

  • 373
    Shares
  • 373
    Shares
  • रतन कुमार गुप्ता सिद्धार्थनगर (भैरहवा) को इतिहासमा निकै लोकप्रिय, कर्मठ र जुझारु नाम हो । निर्माण व्यवसाय, ईट्टा उद्योग र राजनीतिमा सँगसँगै उदाएर अलग्गै पहिचान बनाउन सफल गुप्ताको बुधबार (हिजो) निधन भएको छ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा गुप्ताको बुधबार बेलुकी ८ बजे तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भिर भएपछि उहाँ १२ दिनअघि उहाँलाई अस्पताल लगिएको थियो । 

    देशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि भएको पहिलो स्थानीय निकायको निर्वाचनमा नेपाल सद्भावना पार्टीकोतर्फबाट गुप्ता सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । ७६ वर्षीय गुप्ता दम, मृगौलालगायत रोगबाट ग्रसित हुनुहुन्थ्यो । अब उहाँ भने यो संसारमा हुनुहुन्न । स्वर्गीय गुप्ताको श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

    इमान र निष्ठाको राजनीति गर्ने गुप्ता २०५६ मा सिद्धार्थनगरको उपप्रमुख तथा २०६४ र २०७० सालमा संविधान सभा सदस्य निर्वाचनमा समेत उम्मेदवार बन्नुभएको थियो । पञ्चायती व्यवस्थाको अवसानसँगै भएको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालिन नेपाल सद्भावना पार्टीकातर्फबाट ५ हजार ४ सय १४ मत प्राप्त गरी सिद्धार्थनगरको उपप्रमुखमा उहाँ निर्वाचित हुनुभएको थियो । पाँच वर्ष आदर्श र निष्ठाका साथ उपप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएका गुप्ताले नगरपालिकाको साधनस्रोतको दुरुपयोग हुन दिनुभएन । फजुल खर्च रोक्नुभयो । विदेश भ्रमणको अवसर समेत लत्याउनुभयो ।

    सिद्धार्थनगरको विकासका लागि पूर्वाधार तयार गर्नुभएका गुप्ता दोस्रो कार्यकालका लागि वि.सं. २०५४ सालमा नेपाली काँग्रेस रनेपाल सद्भावना पार्टीको गठबन्धनबाट उपप्रमुखको प्रत्यासी हुनुभयो । तर, राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) र नेकपा (एमाले) गठबन्धनसँग पराजित हुनुभएको थियो । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै वि.सं. २०६४ र २०७० सालमा तत्कालिन तराई–मधेश लोकतान्त्रिक पार्टीकोतर्फबाट भैरहवा क्षेत्रबाट संविधान सभा सदस्यको उम्मेदवार भए पनि सफलता हात लागेन । अधिकार प्राप्तीको एजेण्डा बोकेका दलहरुमा एकता आवश्यक भएकोमा व्यक्तिगत स्वार्थका कारण दललाई टुक्राउँदै लैजाने प्रवृत्ति बढ्दै गएको भन्दै गुप्ताले उक्त राजनीति त्याग गर्नुभयो । त्यसको हुनुमा सो पार्टीका रैथाने नेताहरु दीपक बोहरा, निरञ्जन थापा, सागर प्रताप राणालगायतको विशेष आग्रहलाई मानेर राप्रपा रोज्नुभयो । एउटै नगरमा कहिले मित्रवत र कहिले प्रतिष्पर्धा गरेका नेताहरुको आग्रहलाई उहाँले नकार्न सक्नुभएन । आफु सल्लाहकारको भूमिकामा बस्नुभयो । ठूलो लगानी गरेको राजनीतिमा पारिवारिक विरासतको रुपमा कान्छो छोरा अजय र बुहारी बिनिताले सम्हाल्दै आउनुभएको छ ।

    वि.सं. २०३६ सालमा काँग्रेस नेता ढुण्डीराज शास्त्रीबाट काशी (बनारस) मा सदस्यता लिनुभएका गुप्ताले वि.सं. २०४८ सालमा पार्टी परित्याग गर्नुभएको थियो । त्यसको कारण मधेशी समुदायमाथि गरिएको विभेद नै प्रमुख कारण थियो । गजेन्द्रनारायण सिंहलाई भैरहवा लगायतका ठाउँहरुमा गरिएको दुव्र्यवहार र विभेद सहन नसकेर मधेशी समुदायको अधिकारका लागि नेपाल सद्भावना पार्टी गठन र विभेदको थियोमिचो सहन नसकेर उहाँ त्यतै लाग्नुभएको थियो ।

    वि.सं.२००६ साल फागुनमा बुवा अल्गुप्रसाद र आमा समुनरादेवीका एकल पुत्रको रुपमा जन्मिनुभएको थियो । सामान्य किसान परिवारमा जन्मिनुभएका गुप्ता यस क्षेत्रका नामी निर्माण व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले रत्न कन्ष्ट्रक्सनको नामबाट स्थानीय क्षेत्रमा मात्र होइन, देशैभरी निर्माणको काम गर्नुभयो । भैरहवा र काठमाडौंमा ईट्टा उद्योग खोल्नुभयो । २०३५ सालदेखि सुरु गरेको ईट्टा व्यवसाय अहिले छोराहरुले सम्हालीरहेका छन् । निष्ठा तथा इमान्दारिता उहाँको जीवनशैली बन्यो ।

    वि.सं. २०३६ सालमा भएको जनमत संग्रहपछिको पहिलो चुनावमा उहाँ सिद्धार्थनगर नगरपञ्चायत अन्तर्गत वडा नम्बर ३ को वडाअध्यक्षमा चुनाव लड्नुभयो । तर, सफल हुनुभएन । २०४३ सालको स्थानीय निकाय निर्वाचनमा मेयरमा प्रतिष्पर्धा गर्नुभयो । यद्यपि निष्पक्ष निर्वाचन नभएकोले त्यतिबेला उहाँ मतगणनाम जानुभएन । पञ्चायत ढाल्न संघर्षमा उत्रिनुभएका गुप्ताले बहुदलीय व्यवस्था आएपछि भने काँग्रेस परित्याग गर्नुभयो । 

    राजनीति र व्यवसायमा उत्तिकै क्रियाशील गुप्तालाई केही वर्षअघि घरमै मष्तिष्कघात भयो, तत्काल उपचारका लागि अस्पताल पुर्याइएकोले रिकभर त भयो, तर पहिलेकै जस्तो हट्टाकट्टा हुन भने सकेनन् । सुगर, प्रेसरको समस्या त अली पहिलेदेखि थियो । लठ्ठीको सहाराले भित्रबाहिर गर्नु, बितेका अतितको यादमा हराउनु र कान्छो छोरा अजय तथा बुहारी बिनिताको राजनीतिक यात्रा नियाल्नु उहाँको दैनिकी बनेको थियो । सिद्धार्थनगरका उद्योगी, राजनीतिक र पूर्व उपप्रमुख गुप्ताको निष्ठा तथा आदर्शको राजनीतिलाई अघि बढाउन छोरा अजय र बुहारी बिनिता तत्पर छन् । बुहारी बिनिता २०७९ सालमा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार भइ दोस्रो स्थान प्राप्त गर्नुभएको थियो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ भन्नुहुन्छ–‘स्वर्गीय रतन कुमार गुप्ताले नगरपालिकाको विकास, सुशासन र जनसेवामा पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ ।’

    नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले समाजसेवी तथा पूर्व नगर उपप्रमुख रतन कुमार गुप्ताको निधनले नगरले एउटा असल अभिभावक गुमाएको बताउनुभयो ।